नेपालमा धेरै पर्यटनको क्षेत्र धार्मिक र सांस्कृतिक छन । पर्यटनमा छट पर्वको सांस्कृतिक महत्व छुट्टै रहेको छ । पर्यटनको क्षेत्रमा पर्यटकहरूको रुचि सांस्कृतिक पर्वहरूमा बढदैछ । पर्यटकहरूले अब केवल प्राकृतिक सौन्दर्य मात्र नभएर सांस्कृतिक पर्वमा बिशेष ठाउँमा पुग्ने र संस्कार र प्रचलनको अनुभव गर्न चाहन्छन । नेपालको तराइ क्षेत्र र भारतको मिथिला भूभागबीचको साझा सांस्कृतिक धरोहरका रुपमा परिचित छठ पर्व सूर्य आराधना, मातृशक्तिप्रति समर्पण र आत्मसंयमको प्रतिक हो । छट पर्वको गहिरो धार्मिक, सामाजिक र सांस्कृतिक अर्थ रहेको छ । छट पर्वमा हरेक वर्ष जनकपुरमा तीर्थाटनका पर्यटकहरूको भिड हुने गर्दछ । छठ पर्वलाई जीवनशैली, अनुशासन र पर्यावरणसँगको सहअस्तित्वको प्रतिक मानिन्छ । छट पर्वले प्रकृतिलाई देवत्वका रुपमा ग्रहण गर्छ र मानवले सूर्य, जल, वायु र माटोप्रति कृतज्ञता प्रकट गर्ने परम्परालाई पुनर्जीवित गर्दछ ।
धार्मिक संस्कृति स्थिर हुँदैन । समय, परिवेश र जनसम्पर्कसँगै संस्कृतिको विस्तार र रुपान्तरण हुँदै जान्छ । एउटा समुदाय वा भौगोलिक क्षेत्रमा सुरु भएको धार्मिक आस्था र संस्कार अर्को समुदायमा फैलिनु सांस्कृतिक मिलन र सामाजिक सहिष्णुताको प्रतीक मानिन्छ । नेपालमा एउटा समुदायको संस्कृति अर्को समुदायमा सर्दै आएको छ । छठ पर्वको उदाहरण यसैको उत्कृष्ट रुप हो । पहिले छठ पर्व मुख्यतः मधेश प्रदेश र त्यहाँका मैथिल, भोजपुरिया, अवधी समुदायको आस्था र जीवनसँग गाँसिएको पर्व थियो । सूर्यदेव र षष्ठी माईको आराधनासँग सम्बन्धित छट पर्व मधेसी समाजमा अत्यन्त श्रद्धा र कठोर नियमपालनसहित मनाइन्थ्यो । तर अहिले यसको सीमाना मधेशमा मात्र सीमित छैन । काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायत धेरै शहर बजारमा नदीघाट र तालहरूमा पनि छठ पर्व धूमधामका साथ मनाइन्छ । छठ पर्वको विस्तारले के देखाउँछ भने सास्कृतिक पर्व श्रद्धा, भक्ति र सौन्दर्य जहाँ पुग्छ, त्यहाँ त्यो संस्कार बिस्तारित हुन्छ । पहाडी समुदायमा छठ पर्व लोकप्रिय हुनुको कारण पनि यही सांस्कृतिक अन्तर्सम्बन्ध हो । मधेसी समुदाय पहाडमा बसाइँ सर्दा व्यापार, रोजगारी वा अन्य कारण नयाँ ठाउँमा पुगेका बेला आफ्ना धार्मिक संस्कार पनि लिएर पुगे । स्थानीय समुदायले त्यसलाई देखे, सिके, र बिस्तारै आत्मसात गर्न थाले । आज धेरै पहाडी परिवार पनि सूर्यपूजा गर्दै जलाशय किनारमा दीयो बाल्दै छठको व्रत गर्छन ।
छठ पर्व अहिले केवल धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक पर्यटनको उत्सव पनि बनेको छ । छठको समयमा जनकपुर, विराटनगर, पर्सा, सिरहा, बारा, सर्लाही, रौतहटजस्ता मधेशका जिल्लामा तीर्थाटन गर्नको लागि पर्यटकहरूको भीड लाग्छ । तर पछिल्ला वर्षमा पोखराको फेवा ताल, बुटवल तिनाउ, चितवनको नारायणी र काठमाडौँको रानी पोखरीजस्ता स्थानमा पनि छठको दृश्य आकर्षक बन्न थालेको छ । यी स्थलहरूमा देशका विभिन्न भागबाट आउने तीर्थयात्री पर्यटकहरूको भिड हुने गर्दछ । यसले धार्मिक पर्यटनलाई नयाँ आयाम दिएको छ । छठ पर्व सांस्कृतिक पर्व पनि हो । छठ पर्वको भव्यता दृश्यात्मक रुपमा अत्यन्त आकर्षक हुन्छ । सुर्यास्त र सुर्योदयका बेला व्रतालुहरू पानीमा उभिएर हात जोडदै सूर्यदेवको आराधना गर्दै गर्दा दृश्यमा आध्यात्मिक सौन्दर्य र सांस्कृतिक भव्यता दुबै देखिन्छ । त्यसैले छठ पर्व हेर्नकै लागि पनि धेरै विदेशी र आन्तरिक पर्यटक नदी र तालको तटमा पुग्दछन । अस्ताउँदो सूर्यको अघ्र्य, पानीमा झिलमिल दीप, र महिलाहरूको रंगीन भेशभूषाले पर्यटकहरू आकर्षण हुन्छन । छठ केवल धार्मिक पर्व मात्र होइन, यो सामूहिकता र सहअस्तित्वको पर्व पनि हो । यसले जात, धर्म र वर्गको भेदभाव मेटाउँछ । सबैले एउटै पोखरीमा स्नान गर्छन एउटै सूर्यलाई अघ्र्य दिन्छन । छठका गीत, माटोको सुगन्ध र सामूहिक पूजाले मिथिला समाजमा एकताको भाव जगाउँछ । लोकसंगीत र नाचका माध्यमले मिथिला संस्कृतिको आत्मा उजागर हुन्छ ।

छठ पर्वको इतिहास खोज्ने हो भने वैदिक युगसम्मको जनश्रुति भेटिन्छ । ऋग्वेदमा सूर्यदेवको महिमा र उपासना गर्ने अनेक मन्त्र पाइन्छन । सूर्यलाई जीवनदायिनी शक्तिको रुपमा लिइने र षष्ठी तिथिमा व्रत बस्ने परम्पराले नै पछि छठ पर्वको रुप लिएको मानिन्छ । रामायणकालीन सन्दर्भमा, जनकपुरकी पुत्री सीताले अयोध्याबाट फर्केपछि मिथिलामा सूर्यदेवको आराधना गर्दै छठ पर्व मनाएको उल्लेख छ । छठ पर्व सीताको कुल परम्परा र कृतज्ञताको प्रतीक मानिन्छ । महाभारतमा, कुन्ती र द्रौपदीले पनि सूर्यदेवको आराधना गरी सन्तान सुख र समृद्धिको कामना गरेकी कथा भेटिन्छ । यसरी छठ केवल धार्मिक अनुष्ठान मात्र नभएर प्रकृतिप्रतिको कृतज्ञता, जल, वायु र सूर्यप्रति श्रद्धा प्रकट गर्ने माध्यम बनेको छ । त्यसैले जनकपुरलाई आज पनि छठको मातृभूमिका रुपमा चिनिन्छ । यसरी, छठ पर्वका मिथकीय कथाहरूले व्रतको धार्मिक महिमा मात्र होइन स्त्रीशक्तिको सम्मान र सन्तान प्रेमको प्रतीक पनि दर्शाउँछ । छट पर्वले मानव र प्रकृति बीचको सन्तुलन, आत्मशुद्धि र जीवनशक्ति पुनर्जीवनको सन्देश बोकेको छ ।
छठ पर्व सामान्यतः कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म, चार दिनसम्म मनाइन्छ । छट पर्वको प्रत्येक दिनको अलग धार्मिक र प्रतिकात्मक अर्थ छ । ‘नहाय– खाय’ पहिलो दिन श्रद्धालुहरू बिहान नदी वा पोखरीमा स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन । यस दिन घरको वातावरण शुद्ध गरिन्छ । माटोको चुल्हो बनाइन्छ र नुन–तेलको प्रयोग निषेध गरिन्छ । खरना अर्थात दोस्रो दिन उपवासको आरम्भ हुन्छ । सूर्य अस्ताउँदो बेला चामलको खीर, गुड र दूधको प्रसाद बनाइन्छ । व्रतालु महिलाले यो प्रसाद ग्रहण गरेपछि रातभरि निर्जल बस्ने परम्परा छ । सन्ध्या अर्घ अर्थात तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने मुख्य दिन हुन्छ । पोखरी, तलाउ र नदीका किनारमा व्रतालुहरू माटोको दीयो बालेर सूर्यलाई जल अर्पण गर्छन । बाँसको डालीमा केरा, सुपारी, अदुवा, गहुँको ठेकुआ, सखरखण्ड, उखु आदि फलफूल राखी पूजा गरिन्छ । प्रातः अर्घ चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ र व्रत समाप्त गरिन्छ । छठ पर्वमा चार दिनको व्रत अत्यन्त कठिन र अनुशासित मानिन्छ । व्रतालुहरू शुद्धता, मौनता र संयमका साथ पूजा गर्छन

छठ पर्व स्त्रीशक्ति, श्रद्धा र तपस्याको अदभुत उदाहरण हो । यस व्रतमा माताहरू आफ्ना सन्तानको दीर्घायु, परिवारको सुख– समृद्धि र समाजको कल्याणको कामना गर्छन । छठमा प्रयोग गरिने सबै वस्तु माटो, बाँस, फलफूल, जल र सूर्य प्राकृतिक र प्रदूषणमुक्त हुन्छन । यसले आधुनिक समाजमा पनि पर्यावरण प्रेम र जैविक सोचको सन्देश दिन्छ । सांस्कृतिक दृष्टिले, छठले लोकसंगीत, मिथिला चित्रकला, र सामूहिक पूजाको परम्परालाई पुनर्जीवित गर्छ । कांच ही बांस के बंनवा‘ जस्ता लोकगीतहरूले छठको वातावरणलाई आत्मीय बनाउँछन । छठ पर्वको समयमा जनकपुरधाम नेपालकै धार्मिक राजधानीमा रुपान्तरित हुन्छ । जनकपुरको गंगासागर, धनुषसागर, अग्नीकुण्ड, रामसर, लखनसागर र घिघा पोखरी तीर्थाटनका पर्यटकहरू पुग्ने प्रमुख स्थल हुन । पानीमा प्रतिबिम्बित हजारौं दियाँहरूको उज्यालो, तीर्थ यात्रीको भीड, महिलाहरूको परम्परागत पोशाक र लोकगीतको धुनले जनकपुरलाई स्वर्गीय रुप दिन्छ । शहरका सडकहरूमा रंगोली, माटोको तोरण र झिलमिल बत्तीहरू टाँसिन्छन । पूजाका लागि आएका तीर्थाटनका पर्यटकहरूलाई स्थानीय नागरिकहरूले निःशुल्क बसोबास र प्रसादको व्यवस्था पनि गर्दछन । जुन मिथिला आतिथ्य संस्कृतिको उत्कृष्ट उदाहरण हो ।

छठ पर्व बिशेष गरी पर्यटनका लागि जनकपुर, विराटनगर, सिरहा, सप्तरी र पर्साजस्ता जिल्लामा पुग्नै पर्ने हुन्छ । छठका बेला जनकपुरमा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा तीर्थाटनका लागि पर्यटकहरू आउने गर्दछन । छठ पर्वले आध्यात्मिक दृष्टिले पनि गहिरो सन्देश दिन्छ । व्रतालुहरू जलाशयको किनारमा रातभर जाग्राम बस्छन । उनीहरूको अनुशासन, मौनता र श्रद्धा आध्यात्मिक साधनाको रुप हो । छट पर्वले शुद्ध मन र संयमित कर्मले मात्र जीवनमा उज्यालो ल्याउन सकिन्छ । जनकपुरलाई छठ टुरिज्म सर्किट का रुपमा विकास गर्न धेरै सम्भावना रहेको छ । जनकपुरका पोखरीहरु, मिथिला कला, र लोकसंस्कृतिलाई संरक्षण गरेर धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिन्छ । यदि धार्मिक पर्यटन योजनागत रुपमा अघि बढाइयो भने, छठ पर्व नेपालका लागि विश्व मिथिला पर्यटन मार्गको केन्द्र बन्न सक्छ ।
छठ पर्व जीवनप्रति कृतज्ञता, अनुशासन र आस्थाको संगम हो । यसले मानव र प्रकृतिबीचको गहिरो सम्बन्ध सम्झाउँछ । जहाँ सूर्यलाई केवल देवता होइन, जीवनदाताको रुपमा सम्मान गरिन्छ । यो पर्व कुनै धर्मको सीमामा सीमित छैन । यो उज्यालो र आशाको पर्व हो । धार्मिक, सांस्कृतिक र पर्यटन तीनै दृष्टिले छठ नेपालका लागि गौरवको धरोहर बनेको छ । जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाइलै पिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र ताल तलैयाहरू छन । जनकपुरधामका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसंगीतले तीर्थाटन पर्यटकहरूलाई मन्त्रमुग्ध बनाइ दिन्छ । मठ मन्दिरमा गुञ्जिने संगीतले पर्यटक उत्साहित हुँदै जय सीताराम, जय जय हो भन्दै रामजानकी मन्दिर परिक्रमा गर्दछन् । छट पर्वमा मात्र होइन बिवाह पञ्चमीको बेला जनकपुरधाममा विभिन्न स्थानवाट वैवाहिक कार्यकोलागि पनि पुग्ने गर्दछन । रामजानकीको मन्दिरमा विवाह गर्नाले वर वधुको जीवन सफल हुने विश्वास गरिन्छ ।

जनकपुरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ । इतिहास र संस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पर्यटकहरू जनकपुरधाम पुग्न सके राम्रो हुन्छ । प्राचीन मिथिलाको राजधानी र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृतिले मात्र नभएर मिथिला कला र संस्कृतिले पनि धनी छ, । अर्कोतर्फ जनकपुरधाम धार्मिक पर्यटनको दृष्टिले पनि वैभवपूर्ण मानिन्छ । पर्यटनका लागि भौतिक पूर्वाधारका हिसाबले पनि जनकपुरधाम सुगम क्षेत्र हो । राजर्षि जनकको राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरधाम हिन्दूहरूको आस्थाको केन्द्र पनि हो । अर्कोतर्फ जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन ऐतिहासिक नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । जुन कुरा रामायण, वेद, पुराण र मिथिलाको उन्नत सभ्यताको बारेमा व्याख्या गरिएको छ । भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो पनि जनकपुरधाममा नै थियो । पर्यटनको लागि मिथिला क्षेत्रको अध्ययन गर्न जनकपुरधाम खुल्ला संग्रहालय हो ।
जनकपुरधाम पुगेपछि पर्यटकहरूले जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रुपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रंगभूमि मैदाननजिकैको हनुमानको सकटमोचन मन्दिर, स्वर्गद्वारीलगायतका धार्मिकस्थल र तालतलैया सरोवर र दैनिक रुपमा हुने गगां आरतीले तीर्थाटनका पर्यटकहरूलाई आकर्षण गर्दछ । यो बाहेक पर्यटकहरूलाई अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन । गगांसागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड,अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि जनकपुरधाम पुग्ने पर्यटकहरूका लागि पुग्नै पर्ने ठाउँहरू हुन ।

जानकीको विशाल मन्दिरको निर्माण सन १९११ मा गरिएपनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए । शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए । त्यसैले मिथिलाधाम दर्शन गर्ने उनको मनमा इच्छा जाग्यो । तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिएन । भनिन्छ मााता जानकीले नै उनलाई सपनामा जनकपुरधामको बाटो देखाएकी थिइन । बि.स.१४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेला पारेको बताइन्छ । वि.स.१७८४मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा जमिन दान दिएको लिखत अझै छ । पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको इच्छा व्यक्त गरिन । उनलाई पुत्र प्राप्ति भएपछि रामजानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले रामजानकी मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।

बि.स.१९५० मा शिलान्यास भई वि.स १९६७ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ । संग्रहालयमा हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मका सबैकुरा राखिएको छ । जुन संग्रहालय इतिहासमा रुचि राख्ने पर्यटकहरूको लागि अध्ययन सामग्री बन्दछ । छठ पर्वमा जनकपुरधाम पुग्ने पर्यटकहरू धनुषाधाम पुग्नै पर्ने हुन्छ । जनकपुरधामबाट करिब १५ किलो उत्तर पूर्वी क्षेत्र धनुषाधाम नगरपालिकामा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण मानिन्छ । त्रेतायुगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो । जसको एक टुक्रा आकाशमा, एउटा पातालमा र एउटा टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ । पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल नै हो धनुषधामलाई मानिन्छ । धनुष झरेको स्थलमा अहिले कालो सिमेन्ट झै ढुंगा झरेको जस्तो देखिन्छ । धनुषाधाममा झरेको कालो शिलामाथि अहिले विशाल पिपलको बोट छ ।
छट पर्वले धार्मिक सहअस्तित्व र सामाजिक सन्देश दिएको छ । छठ पर्वको पहाडमा फैलावटले धार्मिक सहिष्णुता र सहअस्तित्वको सन्देश पनि दिएको छ । पहाडका समुदायले मधेशी आस्थाको सम्मान गर्दै त्यो संस्कारलाई अंगीकार गर्नु, एकता र परस्पर आदानप्रदानको प्रमाण भएको छ । यसले नेपाली समाजलाई बहुसांस्कृतिक र साझा आस्थाको सुन्दर नमुना बनाएको छ । धार्मिक संस्कृति केवल आस्था होइन, सामाजिक एकताको सूत्र हो । छठ पर्व जस्तो धार्मिक परम्पराको भौगोलिक विस्तारले नेपालमा संस्कृति, पर्यटन र सहअस्तित्वका नयाँ आयाम खोलिदिएको छ । यो पर्वले मधेश र पहाडबीचको दूरी घटाएर, धार्मिक भावनालाई राष्ट्रिय एकताको उत्सवमा रुपान्तरण गरेको छ । धार्मिक संस्कृति सर्दै जाँदा सामाजिक मेलमिलाप र पर्यटन समृद्धिको पनि माध्यम बनि रहेको छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>