पर्यटनको उद्देश्य नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ परिवेशको खोजी गर्नु हो । मानिस स्वभावतः आफूले नदेखेको र नभोगेको कुराप्रति आकर्षित हुन्छ । त्यसैले हिमाल नदेखेकालाई हिमाल हेर्ने रहर हुन्छ भने समुद्र नदेखेकालाई समुद्र अवलोकन गर्ने इच्छा हुन्छ । अर्कोतर्फ धेरै पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यलाई प्रत्यक्ष अनुभव गर्ने जिज्ञासा हुन्छ । त्यसैले पर्यटकहरू पदयात्राका लागि विशेष गरी हिमाली क्षेत्र रोज्ने गर्दछन । विश्व पर्यटन बजारले नेपाललाई हिमाल र ट्रेकिङको देश भनेर चिनाएकाले वाह्य पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न खोज्दछन ।
गोरखा जिल्लाको मनास्लु क्षेत्रमा नुब्री र चुम उपत्यका पर्दछ । पर्यटकहरूले पदयात्रा गर्ने दुबै उपत्यका तिब्बती बौद्ध संस्कृति, प्राचीन गुम्बा, हिमाली सभ्यता र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छन । नुब्री उपत्यका मनास्लु हिमालको उत्तरतर्फ पर्दछ । जहाँ सामागाउँ, साम्दो जस्ता गाउँहरू रहेका छन । चुम उपत्यकालाई लुकेको उपत्यका पनि भनिन्छ । गणेश हिमाल र श्रीङ्गी हिमालको बीचमा बग्ने स्यार खोलाले बनाएको छेकम्पार र चुमचेतलाई चुम उपत्यका भन्ने गरिन्छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चुम भनेर पनि चिनिन्छ । चुम उपत्यका प्राचीन ऐतिहासिक पवित्र बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । पर्यटनका लागि हिमाली जीवनशैलीका हिसाबले मनास्लु क्षेत्र अर्गानिक भूगोल हो । चुममा आजभोलि जैविक विविधता र संस्कृति संरक्षण गर्दै पर्या–पर्यटनको विकास भएको छ । एक्यापमा चुम र नुब्री दुवै उपत्यका पर्दछन । हिमाली श्रृंखला, प्राचीन गुम्बा, चैत्य र तिब्बती संस्कृति चुम र नुब्री पर्यटनका लागि दुवै उपत्यका आकर्षण मानिन्छ ।

मनास्लु सर्किट र चुम उपत्यका गरी दुई फरक–फरक पदयात्रा मार्ग यो क्षेत्रका प्रमुख आकर्षण हुन् । एडभेञ्चर र जोखिम मोल्न चाहने पर्यटकहरू मनास्लु सर्किटको यात्रा रोज्छन् भने हिमाली जीवनशैली, बौद्ध परम्परा र सुन्दर हिमाली दृश्यमा रमाउन चाहने पर्यटकहरू चुम उपत्यकाको यात्रा गर्न मन पराउँछन् । केही पदयात्रीले भने चुम उपत्यका र मनास्लु सर्किट दुवैको यात्रा एकैपटक गर्छन् । विशेष गरी मनास्लु क्षेत्रमा पदयात्रा गर्ने वाह्य पर्यटकहरू आरुघाटबाट चुम हुँदै नुब्री घुमेर लार्केपास गरी मनाङ निस्कन्छन । तर धेरै पर्यटकहरू चुम उपत्यका मात्र पुग्ने गर्दछन । कोहि पर्यटकहरू गएकै बाटो चुमबाट फर्कन्छन । वास्तवमा चुम उपत्यका पर्यटनका लागि सुन्दर उपहार हो । जहा बौद्ध दर्शन, प्रकृति, संस्कृति र जैविक विविधताले पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । चुम उपत्यकामा पाइला टेक्नेबित्तिकै धेरै पर्यटकहरू आश्चर्यचकित हुन्छन । प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, यहाँका वन्यजन्तु र मानिसबीचको अदभुत सम्बन्धका कारण पनि पर्यटकहरूलाई अनौठो लाग्दछ । सामान्यतया जंगलका जनावरहरू मानिस देख्नेबित्तिकै भाग्छन, तर चुम उपत्यकामा दृश्य फरक छ ।
चुम उपत्यकालाई जीवजन्तुको खुला संग्रहालय भनिन्छ । यहाँका जीव जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध जस्तै छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल, लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुला चिडियाखानको रुपमा समेत चिनिएको चुम क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन । चुम क्षेत्रका स्थानीयले दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । आफूले पालेको पशु अन्य कसैलाई मारकाटको लागि विक्री गर्दैनन । चुम उपत्यकाका प्रमुख गाउँहरूमा तल्लो चुम, लोक्पा, चुम्लिङ, रिछेत, डोम्जे र माथिल्लो चुम, छोखाङ पारो अर्थात छेकम्पार, लार, लामागाउँ, बुर्जी, छुले, निले, राछेन गुम्बा, मु गुम्बा यी गाउँहरूमा तिब्बती बौद्ध संस्कृति, मणिपर्खाल, छोर्तेन र प्राचीन गुम्बाहरू धेरै छन । यी गाउँहरूमा पर्यटकहरू पुक्दा छक्क पर्दछन । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न पाइदैन । शिकार खेल्न मह काड्ने र वनमा डढेलो लगाउन पाइदैन । चुम घुम्न जाने पर्यटकहरूले पनि मासु खान पाउँदैनन । किनभने होटलहरू सबै शाकाहारी मात्रै हुन्छन ।

चुम उपत्यकाको पदमार्ग वरिपरि नाउर, मृग, घोरल, हिमाली चराचुरुङ्गी तथा अन्य वन्यजन्तुहरुरू सहज रुपमा देखिन्छन । जनावरहरू पर्यटकहरूबाट त्रसित हुँदैनन, बरु आफ्नै संसारमा रमाइरहेका हुन्छन । यस्तो दृश्य देख्दा पर्यटकहरू क्यामेरा निकालेर फोटो खिच्न थाल्छन, भिडियो बनाउँछन र यो दुर्लभ अनुभवलाई स्मृतिमा कैद गर्न खोज्छन । यसको मूल कारण चुम उपत्यकाको प्राचीन अहिंसात्मक जीवनदर्शन हो । बौद्ध धर्म र करुणाको गहिरो प्रभाव रहेको चुम क्षेत्रमा जीवहत्या निषेध मानिन्छ । यहाँका स्थानीय समुदायले शताब्दीयौँदेखि सबै प्राणीलाई जीवनको समान अधिकार भएको ठान्दै आएका छन । यही कारण चुम उपत्यकालाई अहिंसा क्षेत्र भनेर चिनिन्छ । चुम उपत्यकामा जनावर र मानिसबीचको सम्बन्ध केवल सहअस्तित्वको मात्र होइन, विश्वासको पनि प्रतीक बनेको छ । यहाँको वातावरणले प्रकृति र मानवबीचको सामञ्जस्य कस्तो हुन सक्छ भन्ने जीवन्त उदाहरण प्रस्तुत गर्छ । नाउरको झुण्ड पदमार्ग नजिकै चरिरहेको देख्दा वा मृगहरू निर्धक्क हिंडिरहेको दृश्य अवलोकन गर्दा लाग्छ, मानौँ उनीहरु पनि आगन्तुकहरूको स्वागत गरिरहेका छन ।
आजको संसारमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढदै गइरहेका बेला चुम उपत्यकाले करुणा, संरक्षण र सहअस्तित्वको सन्देश दिन्छ । चुम पुग्ने पर्यटकहरूले केवल हिमाल, गुम्बा र संस्कृति मात्र देख्दैनन, उनीहरूले एउटा यस्तो समाजको अनुभव गर्छन, जहाँ अहिंसाको भावना मानव सीमाभन्दा बाहिर फैलिएको छ र सम्पूर्ण जीवजगतलाई अँगालेको छ । त्यसैले चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्यको अवलोकन मात्र होइन, प्रकृतिसँगको आत्मीय सम्बन्ध र अहिंसाको जीवित दर्शनसँगको साक्षात्कार पनि हुन्छ । चुम अहिंसा क्षेत्र घोषणा भएको १ सय ६ वर्ष भएको छ । पर्यटकहरूले चुम उपत्यकामा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु पदमसंभवले ध्यान, योग र साधना गरेको पवित्र भूमिका बारेमा सोधखोज गर्दछन । चुम उपत्यकामा पर्यटकलाई शान्त, स्वच्छ र प्रदूषणरहित वातावरणको अनुभव छुट्टै हुन्छ । अर्कोतर्फ स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैलीसँग परिचित हुने मौका पनि हुन्छ । चुमको यात्रामा साहसिक अनुभव प्राप्त गर्दै शारीरिक तथा मानसिक तन्दुरुस्ती बढाउने पनि हुन्छ । हिमश्रृखला, सूर्योदय–सूर्यास्त तथा दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्ने अवसर पनि हुन्छ । यसैले प्राकृतिक सौन्दर्य, साहसिकता, सांस्कृतिक विविधता र आत्मिक शान्तिको खोजीले पर्यटकहरूलाई हिमाली क्षेत्रमा पदयात्रातर्फ आकर्षित गर्दछ ।

चुम उपत्यका विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्यटन र बौद्ध संस्कृतिको जीवित संग्रहालय हो । चुम उपत्यकाका बासिन्दाले आज पनि शताब्दीयौँ पुराना भाषा, भेषभूषा, संस्कृति, धार्मिक परम्परा र अहिंसाको जीवनशैलीलाई संरक्षण गरेका छन । चुम उपत्यकामा रहेका प्राचीन गुम्बा, मणी पर्खाल, छोर्तेन, प्रार्थना झण्डा तथा ध्यानस्थलहरूले यस क्षेत्रलाई आध्यात्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाएको छ । विशेष गरी मु गुम्बा र राछेन गुम्बा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छन । स्थानीय समुदायको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदा आजसम्म जीवित रहेकाले चुम उपत्यका पुगेका पर्यटकहरूले वास्तविक हिमाली बौद्ध सभ्यताको अनुभव गर्न सक्छन । गणेश हिमाल, श्रीङ्गी हिमाल र बौद्ध हिमालको मनोरम दृश्यले सजिएको चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति र सांस्कृतिक सम्पदाको अनुपम संगम हो । चुम क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरूले चुम उपत्यका पर्यटनका लागि अविस्मरणीय यात्राको महसुस हुन्छ । पदयात्राको क्रममा बौद्ध, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभवको मज्जा छुट्टै हुन्छ । पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक आलु फापर, मकै, कोदो, भटमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन ।
चुम उपत्यकाको सामाजिक र सांस्कृतिक सम्बन्ध शताब्दीयौँदेखि तिब्बतसँग जोडिएको छ । चुममा पुग्ने पर्यटकहरुले बहुपति प्रथा सुन्दा अचम्म मान्दछन । वहुपति प्रथामा एक महिलाले एउटै परिवारका दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन हुन्छ । हिमाली क्षेत्रमा सीमित खेतीयोग्य जमिन, कठोर जीवनयापन र पारिवारिक सम्पत्ति टुक्रिन नदिन यस्तो प्रथा विकसित भएको मानिन्छ । चुम उपत्यकामा यो प्रथा अहिले नयाँ पुस्तामा प्रायः देखिँदैन । तर पनि चुम उपत्यकाको संस्कृति अध्ययन गर्ने पर्यटकहरूका लागि वहुपति प्रथा चासो र अनुसन्धानको विषय बन्दछ । चुममा महायान बौद्ध धर्मको प्रभाव भए पनि यो प्रथा धार्मिक आदेश भने होइन । बौद्ध धर्मले यसलाई न अनिवार्य गरेको छ, न निषेध । यो मुख्यतः हिमाली भूगोल, सीमित जमिन र सानो उत्पादनमा स्रोत जोगाउने सामाजिक रणनीति प्रथा मानिन्छ ।

मनास्लु पदमार्गमा स्यार खोला र बुढीगण्डकी मिसिने ठाउँलाई न्याक अर्थात न्याक पेडी पनि भनिन्छ । यही दोभानबाट स्यार खोला उपत्यका हुँदै चुम उपत्यकाको पदयात्रा सुरु हुन्छ । बुढीगण्डकी मनास्लुको उत्तरतर्फका हिमनदीबाट निस्केर गहिरा गल्छी चिर्दै दक्षिण बग्छ भने स्यार खोला गणेश हिमाल र हिमचुलीबाट उदगम भएर निले, छुले, छेकम्पार, चुम्लिङ हुँदै न्याकमा आएर बुढीगण्डकीमा मिसिन्छ । न्याकबाट चुम जाने स्वागत गेटबाट अगाडी लाग्ना साथ घना जंगल, झोलुंगे पुल पार गर्दै शेर्पा गाउँ चुम्लिङ पुगिन्छ । छेकम्पार चुमको सबैभन्दा ठूलो गाउँ हो । जहाँ पर्यटकहरुका लागि होटल, लजहरु छन । छेकम्पार देखि पर्यटकहरूलाई ढुंगाले बनेका घर, गुम्बा, माने र छोर्तेनले वास्तविक चुमको अनुभव दिन्छ । यही बाटो हुँदै तिब्बतको ताप्ले नाका पनि पुग्न सकिन्छ । त्यसैले छेकम्पारमा सीमा प्रहरी चौकी पनि छ ।
मनास्लुको पछाडि सामागाउँ, साम्दो लगायत एक दर्जन गाउँ छन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । नेपालको नक्सा हेर्दा गोरखा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नुहुनेछ । त्यहीँ पर्छ चुम उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको चुम रहस्यले भरिएको हिमाली उपत्यका हो । कल्पना गर्नुस त यी हिमाली गाउँ घुम्नुको मज्जा, यहाँका गुम्बा, स्तुप, र्छोर्तेन, माने वरिपरि घुम्न पाउदा पर्यटकहरु को अनुभव शब्दमा बर्णन गर्न सकिन्न । जीवनमा थोरै मानिसले मात्र यो आनन्द महसुस गर्न पाउँछन् । प्रकृति र बौद्ध परम्पराले अदभूत सजिएको चुममा केही वर्ष यता विदेशी पर्यटकहरू पुग्न थालेका छन । पदयात्रामा रमाउन खोज्ने पर्यटकहरुलाई मनास्लुको वास्तविक हिमाली, तिब्बती संस्कृति को अनुभव माथिल्लो क्षेत्रमा हुन्छ । तर मनास्लु पदमार्ग अब पूर्ण रुपमा पदमार्ग मात्र रहेन । सडक र पदयात्रा सहअस्तित्वमा रहेको मिश्रित मार्ग बनेको छ । तर नामरुङ माथिको भूभागले अझै पनि पुरानो मनास्लुको पदमार्ग जोगाएको छ । नामरुङ, ल्हो, श्याला, सामागाउँ र साम्दोतिर पुगेपछि भने सडकको प्रभाव निकै कम देखिन्छ ।

मनास्लु पदमार्गको पछिल्लो अवस्था सडक विस्तारले परिवर्तन ल्याएको छ । अहिले जिपहरू माछाखोला– जगत हुँदै पाङसिङ र फिलिम नजिकसम्म पुग्ने गर्दछन । काठमाडौं– आरुघाट– सोतीखोला–माछाखोला नियमित बस सञ्चालनमा छ । पहिले आरुघाट वा सोतीखोलादेखि सुरु हुने पदयात्रा अहिले धेरैले फिलिम वा त्यस वरपरबाट सुरु गर्न थालेका छन । यसले २– ३ दिनको पदयात्रा घटाएको छ । तर तल्लो भेगको पदमार्गमा सडक निर्माणका कारण धुलो, गाडीको आवाजले पदयात्राको मौलिक अनुभव प्रभावित भएको छ । निर्माणाधिन बुढीगण्डकी करिडोरको बेनीघाट– आरुघाट– लार्केभञ्ज्याङ सडकका दूरी करिब १५४ कि.मि. रहेको छ । लार्केभञ्ज्याङ– रुइला सीमा करिब ८–१० कि.मि.रहेको छ । तर अहिले पनि माथिल्लो भेग फिलिम–साम्दो–लार्के सडक खण्ड निर्माण को चरणमा छ ।

चुम उपत्यका पुग्ने पर्यटकहरू हिमाल मात्र हेरेर फर्किँदैनन । पर्यटकहरूले पृथक सभ्यता, जीवनदर्शन र हिमाली संस्कृतिसँग साक्षात्कार गरेर फर्कन्छन । चुम उपत्यकामा पाइला टेक्नासाथ गणेश हिमाल, हिमचुली, बौद्ध हिमाल र तिब्बती हिमश्रृंखलाका मनोरम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । हिउँले ढाकिएका शिखरहरू, नीलो आकाश र हरिया घाँसे मैदान र मानवबस्तीमा चर्न आउने जंगली जनावरले पर्यटकहरूलाई नयाँ अनुभव हुन्छ । चुममा पर्यटकहरुले जीवित तिब्बती बौद्ध संस्कृति, मानिसहरूको भाषा, भेषभूषा, घर निर्माणको शैली, धार्मिक परम्परा र दैनिक जीवनमा तिब्बती बौद्ध संस्कृतिको गहिरो प्रभाव देख्दछन । जुन कारणले पर्यटकहरुलाई चुम क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालयजस्तै लाग्छ । तिब्बती बौद्ध धर्मका महान योगी मिलारेपा सँग सम्बन्धित गुफा चुम उपत्यकाको अर्को आकर्षण हो । चुम उपत्यकामा पुग्दा पर्यटकहरूले ऐतिहासिक स्थल मात्र होइन, तपस्या, ध्यान र आत्मिक साधनाको कथा पनि अनुभव गर्छन । चुम उपत्यका अहिंसा र करुणाको बौद्ध दर्शनबाट प्रभावित क्षेत्र हो । यहाँको सामाजिक सदभाव, सरल जीवनशैली र आपसी विश्वासले बाहिरी संसारको व्यस्त जीवनबाट आएका पर्यटकलाई आश्चर्य लाग्दछ ।

पर्यटकहरूलाई जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चे डाँडा, माछाखोला र यारुबगरमा राखिएका बोर्डले पर्यटकीय स्थलको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी दिन्छन । बोर्डमा पदमार्गमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने वन्यजन्तुबारे पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अविस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ, त्यति नै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन पर्यटकले आफ्नो स्वास्थ्य स्थितिको ख्याल राख्नुपर्छ । गन्तव्यबारे पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कदा राम्रो हुन्छ । वातावरण तथा मौसम सुहाउँदो लुगा, अत्यावश्यक सामग्री र प्राथमिक उपचारका सामग्रीहरू साथमै राख्नुपर्छ । मोबाइल फोन लिँदा यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाइडको साथमा जानुपर्छ ।

कसरी पुग्ने चुम उपत्यका ?
चुमनुब्री उपत्यका गोरखाको आरुघाट र मनाङको धारापानी हुँदै लार्के पास गरेर पनि जान सकिन्छ । मनास्लु क्षेत्र अर्थात चुमनुब्रीमा जाने मुख्य बाटो गोरखाको आरुघाट बजार हो । आरुघाट जान पृथ्वीराजमार्गको बेनीघाटबाट बसमा यात्रा गर्न सकिन्छ । आरुघाट धादिङबेसीबाट समेत मोटरमार्गले जोडिएको छ । पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटकका लागि पनि सडकले आरुघाट जोडछ । आरुघाटदेखि सोतीखोला, लापुवेसी, माछाखोला हुँदै यात्रा गर्नुपर्छ । अर्को रुट बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला पुग्ने पदमार्ग पनि छ । धादिङको फूलखर्क हुँदै गोरखाको केरौंजा, यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकले प्रयोग गर्न सक्छन ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>