
गैंडाकोट– द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी सम्मानित हुनुभएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालको यहाँ आयोजना गरेको ३१औँ साधारणसभाका अवसरमा अधिकारीलाई पुस ६ गते सम्मान गरिएको हो ।
अधिकारी एम्नेस्टी नेपालका तत्कालीन सम्मानित सदस्य तथा द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले पढाउँदै गरेको बेलामा कक्षा कोठाबाट थुतेर लगी रुखमा बाँधेर निर्ममतापूर्वक हत्या गरिएका मुक्तिनाथ अधिकारीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । उहाँले सो सम्मानका साथमा २१ हजार नगद पुरस्कारसमेत एम्नेस्टी नेपालले प्रदान गरेको जनाएको छ ।
अधिकारीले आफू जस्तै मानव अधिकार उल्लंघनमा परेका नेपालका दशौँ हजार पीडितको सत्य, न्याय र परिपूरणको अधिकारका लागि अथक र अनवरत प्रयास गरेको भन्दै उहाँलाई हृयुमन राइट्स डिफेन्डर्स अवार्ड, २०२२ बाट सम्मान गरेको एम्नेस्टी नेपालले जनाएको छ ।
अघिकारीलाई कार्यक्रममा प्रमुख अतिथि माननीय बद्रीप्रसाद पाण्डे र विशेष अतिथि नेपाल जेसिसका अध्यक्ष लालमणि भण्डारीले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
मुक्ति अधिकारीलाई तत्कालीन २०५८ साल माघ ३ गते हत्या गरिएको थियो ।
सम्मान ग्रहण पछि पीडितहरूको पक्षमा काम गर्न थप उर्जा प्राप्त भएको सुमन अधिकारीले यो प्रतिनिधिलाई बताउनु भएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा माननीय बद्रीप्रसाद पाण्डेले नेपालको संविधानमा व्यवस्था भएबमोजिम जनताको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि उक्त संवैधानिक प्रावधानहरूलाई व्यवहारमा रूपान्तरण गर्ने सवालमा नयाँ कानुनी संयन्त्र तर्जुमा गर्नेलगायतका कर्ममा सक्रियतापूर्वक संलग्नता दर्शाउने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, नेपाल जेसिसका अध्यक्ष लालमणि भण्डारीले एम्नेस्टी नेपालको मानव अधिकार अभियान कार्यको प्रशंसा गर्दै उक्त मानव अधिकार अभियानहरूमा भविष्यमा सहकार्य र साझेदार हुन आफू र नेपाल जेसिस प्रतिबद्ध रहेको बताउनुभयो ।
कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेशको विरोध :
सो अवसरमा एम्नेस्टी नेपालका पूर्वअध्यक्षहरूले आफ्नो मन्तव्यका क्रममा न्यायपालिकाले सजाय सुनाएका अपराधीलाई उन्मुक्ति दिन र गम्भीर आपराधिक मुद्दामा फसेका अन्यलाई जोगाउने उद्देश्यले फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने उद्देश्यका साथ कामचलाउ सरकारले विवादास्पद अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाए ।
एम्नेस्टी नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारका उद्देश्य प्राप्तिका लागि संस्थाको उद्देश्य सार्थक एउटा बलियो रणनीतिक ढाँचा तय गरी एम्नेस्टी नेपालको मानव अधिकार आन्दोलनलाई अझ सबल र सशक्त बनाउने लक्ष्यका अघि बढेको जानकारी दिनुभयो । उहाँले विगत केही वर्षदेखि सुरू भइरहेको आन्तरिक सांगठनिक सुधारलाई अझ थप सुदृढ बनाउनका लागि पनि सबैलाई साथ र सकारात्मक योगदान गर्न आग्रह गर्नुभएको थियो ।
उद्घाटन सत्रमा एम्नेस्टी नेपालले आफ्ना कर्मचारी चक्रकुमार प्रधानलाई पनि संस्थामा उहाँले गरेको लामो सेवाका लागि दीर्घसेवा कदर पत्रसहित पुरस्कृत गरेको छ । उहाँलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइएको छ ।
बन्द सत्रको समापनपछि एम्नेस्टी नेपालको सहयोगमा तयार पारिएको ‘डेथ्स अन एक्सप्लेन्ड’ शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली आप्रवासी श्रमिकहरूको मृत्युलाई ‘प्राकृतिक कारणहरू’लाई गन्तव्य देशहरूमा ती मृत्युका वास्तविक सत्य उपलब्ध नगराई कसरी सामान्यीकरण गर्ने गरिएको छ भन्ने उल्लेख गरी वृत्तचित्रमा प्रकाश पार्ने काम गरिएको छ ।
एकदिने उक्त साधारणसभा कार्यक्रममा एम्नेस्टी नेपालका भोटिङ डेलिगेट्स, नेसनल बोर्ड तथा अपिल कमिटीका सदस्य, कर्मचारी, पूर्वअध्यक्ष, पर्यवेक्षक र अन्य विशिष्ट अतिथिहरूसमेत गरी करिब तीन सयजना सहभागीहरूले भाग लिएका थिए ।
प्रकाशित मिति २०७९ पुष ७, बिहीबार ०४:४२ गते