
बर्लिन– एउटा नाजी यातना शिविरका कमान्डर पदमा काम गरेका एकजना पूर्वसचिवलाई १० हजार ५०५ जना भन्दा बढी मानिसको हत्यामा संलग्न रहेको अभियोगमा पुस ६ गते दोषी ठहर गरिएको छ । ९७ वर्षीया एर्मगार्ड फर्चनरलाई स्टथोफमा किशोरावस्थामा टायपिस्टको नोकरी दिइएको थियो । उनले त्यहाँ सन् १९४३ देखि १९४५ सम्म काम गरेकी थिइन् । दसकौँपछि नाजी अपराधका लागि मुद्दा चलाइएकी फर्चनर पहिलो महिला हुन् ।
उनीविरुद्ध दुई वर्ष लामो कारावास सजाय सुनाइएको हो । न्यायाधीशले एक सरकारी कर्मचारी भएपनि उनलाई यातना शिविरमा के भइरहेको थियो भन्ने पूर्ण जानकारी रहेको बताएका छन् । स्टथोफमा यहुदी बन्दी, गैरयहुदी पोलहरू तथा समातिएका सोभियत सेनालगायत करिब ६५ हजार जनाको ज्यान लिइएको थियो ।
घटनाका बेला १८ वा १९ वर्षकी मात्र भएकीले फर्चनरलाई विशेष बाल अदालतमा मुद्दा चलाइएको हो । अहिलेको पोल्यान्ड शहर नजिके पर्ने डान्स्कमा कैदीहरूलाई विभिन्न तरिकाले हत्या गरिएको थियो । सन् १९४४ को जुन यता हजारौँ व्यक्तिलाई त्यहाँका ग्यास च्याम्बरमा राखेर मारिएको थियो ।
उत्तरी जर्मनीको इत्जेहोएस्थित अदालतमा उक्त शिविरमा रहेर पनि बाँच्न सफल व्यक्तिहरूबाट सुनुवाइ भएको थियो । मुद्दा चल्ने क्रममा उनीहरूमध्ये केहीको मृत्यु भएको थियो ।
सन् २०२१ को सेप्टेम्बरमा आफूविरुद्ध मुद्दा सुरु भएपछि फर्चनर अवकाश प्राप्तहरू बस्ने घरबाट भागेकी थिइन् । अन्ततः प्रहरीले उनलाई ह्याम्बर्गको एउटा सडकमा फेला पारेको थियो ।
स्टथोपका कमान्डर पाउल–वेर्नर होप्पेलाई सन् १९५५ मा हत्या कार्यमा सहयोग गरेको आरोपमा पक्रेर काराबास चलान गरिएको थियो । तर उनलाई पाँच वर्षपछि नै कारागार मुक्त गरिएको थियो ।
स्रोत : बीबीसी ।
प्रकाशित मिति २०७९ पुष ७, बिहीबार ०५:२० गते