वीरेन्द्रनगर(सुर्खेत)– स्वतन्त्र पत्रकार संघका राष्ट्रिय सल्लाहकार एवम् वरिष्ठ पत्रकार नारायण कार्की प्रेस स्वतन्त्रता सेनानी सम्मानाट सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघको यहाँ स्थिति सिटी हलमा आयोजित केन्द्रीय साधरण सभाको उदघाटनका अवसरमा उहाँ सहित सहित २४ जना पत्रकारलाई पुस ८ गते सो सम्मान प्रदान गरिएको हो । स्वतन्त्रका राष्ट्रिय सल्लाहकार कार्की २०२९ साउन राष्ट्रिय समाचार समितिबाट पत्रकारिता प्रवेश गर्नु भएको हो । २०४९ मा राससमा अविछिन्न रुपमा सेवा गर्नु भई ८ औं तहबाट राजीनामा गरेर निजी क्षेत्रको पत्रकारितामा प्रवेश जनमञ्च साप्ताहिक हिमालय टाइम्स दैनिक लगायत पोखराबाट प्रकाशित जनमत दैनिकको कार्यकारी सम्पादक सम्पादक र प्रधान सम्पादक हुनुभयो । 
पोखरापत्र र समाधान दैनिकको प्रधान सम्पादक समेतको अनुभव सँगाल्नु भएका उहाँ २०५२ सालदेखि हालसम्म बीबीसी नेपाली सेवामा कार्यरत रहनुका साथै हाल विविसीको गण्डकी ब्यूरो प्रमुखको समेतको जिम्मेवारीमा हुनुहुन्छ । स्वतन्त्र पत्रकार संघ नेपालको स्थापनामा समेत उहाँको विशेष भूमिका छ । स्थापनाकालदेखि सदवहार सल्लाहकार रहनु भएका उहाँ दर्जनौंं पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ । उहाँले एक लाख ११ हजार १११ को कीर्ति स्मृति बृत्ति सम्मान । स्व सूर्यबहादुर केसी परिवारद्वारा स्थापित एक लाख एक हजार रुपैयाँ पुरस्कार राशि भएको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार, पोखरा पत्रकारिता पुरस्कार, दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, जगन्नाथ सिग्देल स्मृति हिमदूत पत्रकारिता पुरस्कार रोटरी क्लब अफ पोखराद्वारा भोकेशनल एवार्ड, शिक्षा संस्कृति विज्ञान प्रविधि सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशबाट सम्मानित पोखरा महानगरपालिकाबाट सम्मानित हुनुभएको छ । 
यसैगरी, राष्ट्रिय सहकारी दिवशमा उत्कृष्ट अध्यक्षका रूपमा सम्मानित । लायन्स क्लवहरू र कास्की जिल्ला फुटवल संघ भूतपूर्व खेलाडी मञ्च हिमाली सांस्कृतिक परिवारबाट सम्मानित हुनुहुन्छ कार्की । नेपाल प्रेस युनियन र स्वतन्त्र पत्रकार संघ नेपालबाट सम्मानित हुनु भएका उहाँ सहारा क्लव पोखराको मानार्थ सदस्य रहनुका साथै थुप्रै सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ । सो सम्मान ग्रहणपछि प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्नु हुँदै वरिष्ठ पत्रकार कार्कीले अहिलेसम्म आफूले प्राप्त गरेको नगद पुरस्कारको राशि करीब पाँच लाख रुपैयाँ पुगेको छ, त्यसमा थप गरेर अक्षय कोष खडा गरी उत्कृष्ट कृषकलाई सम्मान वृत्ति र कृषि पत्रकारिता गर्ने पत्रकारलाई सम्मान पुरस्कार दिने योजनामा रहेको बताउनु भएको छ । सो अवसरमा कार्कीसँगै उक्त सम्मान पाउनु हुनेमा बबिता बस्नेत काठमाडौं, नरेन्द्रजंग पिटर बाँके, धर्मेन्द्र झा धनुषा, चित्रांगद थापा कञ्चनपुर, पिताम्बर ढकाल सुर्खेत, देवेन्द्र चुडाल काठमाडौं लगायत हुनुहुन्छ । सोही कार्यक्रममा एक लाख पुरस्कार राशि भएको कृष्णप्रसाद भट्टराई स्मृति पुरस्कारबाट पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको थियो ।
पत्रकार कमला केसी उमासिंह स्मृति पुरस्कारबाट पुरस्कृत
यसैबीच, सोही समारोहमा लमजुङकी पत्रकार कमला केसी उमासिंह स्मृति पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेले उहाँलाई क्रमशः सम्मानपत्र र नगदबाट सम्मान गर्नु भएको हो । पत्रकार महासंघ गण्डकी प्रदेश समितिका निवर्तमान सदस्य, पे्रस सेन्टरकी केन्द्रीय सदस्य समेत रहनु भएकी पत्रकार केसीलाई नगद २० हजार सहित सो पुरस्कार प्रदान गरिएको हो । झण्डै तीन दशकदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएकी कमला केसी अन्तरङ्गबाट पत्रकारितामा प्रवेश गर्नु भएको हो । तिनताका उहाँको आधा आकाश आधा धर्ती स्तम्भ निकै चर्चित थियो । उहाँ हाल जिल्लाबाट प्रकाशन हुँदै आएको लमजुङ जागरण साप्ताहिकका प्रकाशक साप्ताहिक हुनुहुन्छ ।
उहाँले लमजुङ जागरण २०६४ सालदेखि सञ्चालनमा ल्याउनु भएको थियो, सो पत्रिका कुनै दिन क वर्गमा समेत वर्गीकृत हुन सफल भएको थियो । पत्रकार केसीसँग जनादेश साप्ताहिकको जिल्ला संवाददाता भएर पनि काम गरेको अनुभव छ । पत्रकार केसीले यसअघि नेपाल पत्रकार महासंघ लमजुङमा स्थापना भएको क्रियाशील पत्रकारिता पुरस्कार, तेजबहादुर भण्डारी स्मृति पत्रकारिता पुरस्कार तथा सञ्चारिक समूह नेपालबाट पुरस्कृत भइसक्नु भएको छ । उहाँ अहिले पनि महिला हक अधिकारको लागि पत्रकारिताका अतिरिक्त विभिन्न संघसंस्था मार्फत क्रियाशील रहदै आउनु भएको छ । उक्त अवसरमा पत्रकार महासंघबाट सञ्चालित अन्य पुरस्कार पनि वितरण गरिएको थियो । यहाँ आयोजना भएको दुई दिने साधारण सभामा लमजुङ जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, केन्द्रीय परिषद सदस्य सन्तोष पौडेल र निवर्तमान केन्द्रीय समिति सदस्य नविनराज कुईकेलले प्रतिनिधित्व गर्नु भएको थियो । सो सभाको उदघाटन सत्रमा पत्रकार महासंघ लमजुङ शाखाका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी पनि सहभागी हुनुुभएको थियो ।
प्रकाशित मिति २०७९ पुष १०, आईतवार २१:४३ गते