लाली गुराँस आमाविको बस पार्किङ स्थलमा साँझपख आगलागी

लाली गुराँस आमाविको बस पार्किङ स्थलमा साँझपख आगलागी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस ११ गते सोमबार १०:४४

३५ लाख श्रपैयाँमा खरिद गरिएको सो बस लामो समयदेखि सोही स्थानमा पार्किङ हुँदै आएको थियो ।

बसमा आंशिक क्षति

परेवाडाँडा(लमजुङ)– लमजुङको लाली गुराँस आमावि(बोर्डिङ)को बस पार्किङ स्थलमा आज साँझपख आगलागी भएको छ । सुन्दरबजार नगरपालिका– ८ मा सञ्चालित उक्त आमाविको ग १ प ३७५८ नंबरको विद्यार्थी बोक्ने बसमा पुस ११ गते साँझ करिब सवा सात बजे आगलागी भएको प्रत्यक्षदर्शीको हवाला दिदै प्रहरीले बताएको छ ।
सो बस सधैं सोही नगरपालिका– २ स्थित परेवाडाँडामा सोही बसका चालक शंकरराज गौलीको घर नजिकै सडकमा पार्किङ गर्ने गरिएको थियो । उक्त आगलागीको खबर प्राप्त हुनासाथ सुन्दरबजार नगरपालिका– ६ स्थित सुन्दरबजार प्रहरी चौंकी तथा वडानं १ को कुन्छा प्रहरी चौंकीबाट खटिएको प्रहरीको पाँच सदस्यीय टोलीले आगो नियन्त्रणमा लिएको हो ।
आगलागीबाट उक्त बसमा आंशिक क्षति पुगेको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान थालिएको कुन्छा प्रहरी चौकीका प्रमुख प्रसनि टेकबहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार आगलागीको कारण खुल्न बाँकी रहेको छ । तर पनि बसमा आगो लाग्नासाथ सो स्थलबाट तीन जना मानिस किरिञ्चे खोलातर्फ भागेको स्थानीयले जानकारी दिएको उहाँको भनाई छ ।
सो बोर्डिङको सञ्चालक अर्थात अध्यक्ष सोही बोर्डिङ रहेकै वडाका स्थायी बासिन्दा, समाजसेवी रामजी कँडेल हुनुहुन्छ । उहाँका अनुसार उक्त बस ३५ लाख श्रपैयाँमा खरिद गरिएको हो ।
स्मरणीय छ, केही महिना अघि कँडेलको घरमा पार्किङ गरी राखेको अवस्थामा उहाँको कार पनि ढुंगाले हानेर क्षति पुर्याइएको थियो । उक्त तोडफोड काण्डमा सोही स्थानमा रहेको भक्ति नमूना माविका एक शिक्षक संलग्न रहेको सिसिटिभी फुटेजबाट पुष्टि हुन आएको थियो । ती शिक्षक विरुद्ध चलेको मुद्दा आज पनि जिल्ला प्रशासन कार्यालयमा विचाराधिन छ ।

प्रकाशित मिति २०७९ पुष ११, सोमबार २२:४४ गते
हजुरको प्रतिक्रिया