
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले उनीविरुद्धको मुद्दा टुंगिन अझै तीन महिना लाग्ने बताएका छन् । काठमाडौं जिल्ला अदालतद्वारा बलात्कार आरोपित क्रिकेटर सन्दीपबाट पीडित किशोरीको अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउन पुस १२ गते आदेश दिएको हो ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले त्यस्तो आदेश दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले बताउनु भयो । उहाँका अनुसार उनीहरूको यही पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि आदेशमा भनिएको छ । घिमिरेले भन्नुभयो, ‘जिल्ला अदालत काठमाडौंले तीनवटा आदेश गरेको छ ।’ ती हुन्– किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउन, सो जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बकपत्रका लागि काठमाडौं जिल्ला अदालत बोलाउने र किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको अधिवक्ता घिमिरेले जानकारी दिनु भयो ।
अबको करिब तीन महिनासम्म मुद्दाको सबै विषय टुंगिने घिमिरेको भनाई छ । उहाँका अनुसार सन्दीप आफू निर्दोष रहेकोमा ढुक्क रहेको, उमेरका कारण मुद्दा नलम्बिएको भन्दै उनले आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको आत्मविश्वासलाई सावित गर्नेमा रहेको छ ।
किशोरीको जन्म हुँदा उनीहरू वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दावी गरिएको छ । सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलहरूको दावी रहेको छ ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै जिकिर गरी आएका छन् ।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ ।
भदौ ६ गते उनी टी– २० खेल खेल्न केन्या गएका थिए । पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
त्यसबेला आरोपित लामिछाने केन्यामा थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।
सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
प्रकाशित मिति २०७९ पुष १३, बुधबार ०३:३१ गते