Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कश्यप गोत्रीय अधिकारी वंशको उत्थानका लागि क्रियाशील दानवीर ७९ वर्षीय तन्नेरी जंगबहादुर
उहाँले वंश उत्थान हेतु झापामा एक कठ्ठा १० धुर जग्गा वंश प्रतिष्ठानलाई दान दिनु भएको थियो । सो जग्गा १७ लाख रुपैयाँमा बिक्री भएको छ र त्यो रकमले झापा स्थित यही अधिकारी वंश प्रतिष्ठानबाट संरक्षित सोही नगरपालिका– ४ को कोटीहोम स्थलमा निर्मित भवनको माथिल्लो तला थप्ने काम अन्तिम चरणमा पुगेको छ ।
७९ वर्षीय तन्नेरी जंगबहादुरको क्रियाशीलता सबैका लागि प्रेरणा र उर्जा बन्दै
वीरेन्द्रनगर(सुर्खेत)– आफ्नो कुल वंशको उत्थानमा लाग्नु सबै मानिसको कर्तव्य एवम् दायित्व हो । तर यो मर्मलाई बुझ्ने व्यक्ति समाजका कमै भेटिन्छन् । त्यसको मर्म बुझे पनि त्यस्तो कार्यमा समय दिने अनि त्योसँगै धन र बुद्धि पनि समर्पण गर्नेहरू झनै कम हुन्छन् । त्यस्ता औंलामा गन्न पनि नपुग्ने व्यक्तित्व मध्येका एक हुनुहुन्छ– जंगबहादुर अधिकारी ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका जंगबहादुर अधिकारी झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गा टोलका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले वंश उत्थान हेतु झापामा एक कठ्ठा १० धुर जग्गा वंश प्रतिष्ठानलाई दान दिनु भएको थियो । सो जग्गा १७ लाख रुपैयाँमा बिक्री भएको छ र त्यो रकमले झापा स्थित यही अधिकारी वंश प्रतिष्ठानबाट संरक्षित सोही नगरपालिका– ४ को कोटीहोम स्थलमा निर्मित भवनको माथिल्लो तला थप्ने काम अन्तिम चरणमा पुगेको छ । सो तलामा हल सहितको छ कोठा निर्माण भइरहेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भयो । उहाँका अनुसार कुल वंशको उत्थानका लागि उहाँको योगदान अतुलनीय रहेको छ । उहाँ दानवीर मात्र हैन, यस प्रतिष्ठानको संस्थागत विकासका लागि बौद्धिक ज्ञान र समय पनि उत्तिकै दिने गर्नु भएको छ अध्यक्ष अधिकारीले बताउनु भयो । जंगबहादुर अधिकारी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा भाग लिन त्यहाँ पुग्नु भएको बेलामा यो पंक्तिकारसँग भेट भएको हो । उहाँको क्रियाशीलता सबैका लागि प्रेरणा र उर्जा बन्ने गरेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य सीताराम अधिकारीले बताउनु भयो ।
जंगबहादुर अधिकारी कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको संस्थापक सदस्य उहाँ यसअघि प्रतिष्ठानको केन्द्रीय सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँको जन्म ओखलढुंगाको चिसंकु गढी गाविस– १ गैरी गाउँमा भएको हो । लालबहादुर अधिकारी र पवित्रादेवी अधिकारीका कान्छा सुपुत्र उहाँका चार दाजु हुनुहुन्छ । नेपाली सेनाको जमदार पदबाट सेवा निवृत्त हुनुभएका उहाँ २०६८ सालमा अधिकारी कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको नगर अध्यक्ष समेतको अनुभव सँगल्नु भएको छ ।
अधिकारी कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको कोटीहोम संरक्षण समितिको उपाध्यक्ष समेत रहनु भएका उहाँ भूपू सैनिक संघको जिल्ला सदस्य पनि हुनुहुन्छ । सामाजिक व्यक्तित्वका रुपमा सुपरिचित उहाँ राजनीतिक आस्थाका हिसावले राप्रपा निकट हुनुहुन्छ । तर वंशको उत्थानका लागि राजनीतिको गन्ध आउने दिन हुँदैन भन्ने उहाँको दृढ धारणा छ ।
यो प्रतिनिधिसँगको भेटमा उहाँले हाम्रा कुनै पनि बन्धुबान्धवले दुःख पाउने तथा अकालमा मृत्यु बरण गरेको देख्न, सुन्न नपरोस् भन्नु हुन्छ । उहाँले फुजेल गाउँ गोर्खाका नन्दप्रसाद अधिकारीको आजका दिनसम्म सदगत् पनि हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो । नन्दप्रसाद अधिकारीले घरगाउँ छाड्दा उहाँले पालेका गाईहरू दाम्लोमै र बाख्रा खोरमै मरेको सुन्दाको पीडा असैह्य भएको र त्यो परिवारलाई न्याय दिलाउन के गर्न सकिन्छ ? सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको उहाँले औंल्याउनु भयो । त्यसो त उहाँ पनि द्वन्द्वकालको पीडित हुनुहुँदो रहेछ । त्यो बेलामा उहाँको घरमा (२०६३ को माघे संक्रान्तिको दिन) सुनियोजित तौरतरिकाबाट आगलागी समेत गरिएको रहेछ । त्यस घट्नामा ६३ लाख रुपैयाँ बराबरको नोक्सान भएको तर प्रहरीले सर्जिविनमा साढे ३२ लाख रुपैयाँको नोक्सान भएको मुचुल्का उठाएको थियो । तथापि राहत भने २ पैसा पनि आफूले अहिलेसम्म नपाएको उहाँले सुनाउनु भयो । त्यो नोक्सानको विवरणको उजुरी सत्य निरुपण आयोगमा दिएको छ । त्यही घट्ना पछि १४ महिना भारतमा विस्थापित समेत भएँ उहाँले सुनाउनु भयो ।
१४ महिने विस्थापित जीवनबाट फर्केपछि त्यो आगलागीका बखतमा म मारिन पनि सक्थे तर बाँचेँ, मैले वंशको उत्थानका लागि केही गर्नु पर्छ भन्ने भयो र त्यो जग्गा वंश प्रतिष्ठानलाई दान गरेको हुँ उहाँले स्मरण गर्नु भयो ।
यो प्रतिनिधिसँगको छोटो भेटको अन्त्यमा उहाँले भन्नुभयो, ‘अधिकारीको वंश जे जसरी चौतर्फी(विश्वभर) फैलिएको छ, सबैले समाजमा आत्म गौरव हुने गरी काम गरौं, वंशको उत्थानका लागि सक्दो सहयोग गरौं र समाजका अन्य जातिका मानिसलाई पनि उदाहरण दिने व्यक्तित्व हाम्रा सबै बन्धुबान्धब बनुन् भन्ने कामना गर्दछु ।’
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..