
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारमा वरीयताको किचलो शुरु भएको छ । उहाँसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो । त्यसपछि भने उनी फर्किएर मन्त्रालय नजानु भएको पुस १४ गते खुलासा भएको छ ।
श्रेष्ठ मन्त्रालय नजानुको मुख्य कारण वरीयताक्रममा असन्तुष्टि भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शुरुको दुई दिन सञ्चो नभएको बहानामा मन्त्रालय जानु भएको थिएन तर हिजो पनि उहाँ मन्त्रालय जानु भएन । तर उहाँले आफ्नो निवासमा आउने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुहरूसँग भने भेटवार्ता गरिरहनु भएको छ ।
श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै शपथ लिन समेत आनाकानी गर्नु भएको थियो । उहाँको असन्तुष्टि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगी सकेको छ ।
उपप्रधानमन्त्रीहरूमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी रहेको माओवादीका एक नेताले बताए । विद्यमान मन्त्रीपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ ।
‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको दावी जायज हो छ । अध्यक्षहरूबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ ।’ माओवादी केन्द्रका एक नेता बताउँछन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनु भएको हो । तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि उहाँको असन्तुष्टी रहेको उहाँ निकट स्रोतको भनाई छ ।
श्रेष्ठ पहिलोपटक २०६८ साउन १६ झलनाथ खनालको नेतृत्वमा गृहमन्त्री हुनु भएको हो । गोरखाको जौबारीमा २०१६ सालमा जन्मेका श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर हुनुहुन्छ । हालसम्म अविवाहित श्रेष्ठ २०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन (चौम) को केन्द्रीय सदस्य बन्दै कम्युनिस्ट राजनीतिमा सक्रिय हुनु भएको हो ।२०४८ सालमा प्रचण्डहरूसँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र) मा श्रेष्ठ पोलिटब्यूरो सदस्य बन्नु भएको थियो ।
प्रकाशित मिति २०७९ पुष १५, शुक्रबार ०६:१० गते