
काठमाडौँ– देशभरका विभिन्न स्थानबाट २ सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमविपरीत राखिएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न ४८ घण्टे निर्देशन दिएसँगै पुस १४ गतेसम्म फिर्ता भएको संख्या हो यो । हालसम्म सशस्त्र र नेपाल प्रहरीका गरी २२१ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् र फिर्ता हुने क्रम जारी रहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ११८ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिनु भएको हो । उहाँका अनुसार जिल्लाबाट फिर्ता हुने क्रम जारी रहेको छ ।
गृह मन्त्रालयले पुस १२ गते ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
हिजो साँझसम्म १०३ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । त्यस्तै, बलम्बुस्थित ९ नम्बर बाहिनी र हेडक्वार्टरबाट खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)हरु पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा सह–सचिव र उप–सचिवहरूको कार्यालयमा सहयोगीको रूपमा प्रहरी परिचरहरू पनि खटिएका छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि– २०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले मापदण्डभन्दा विपरीत खटिएका सुरक्षाकर्मीहरू फिर्ता आउने क्रम जारी रहेको जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७९ पुष १५, शुक्रबार ०६:२७ गते