
भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिकाले आउँदो चार वर्ष भित्रमा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सामाजिक विकास कार्यालय लमजुङले गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले पालिकालाई बालमैत्री पालिका घोषणा गर्न प्रतिवद्धता पुस १३ गते जनाएको हो ।
उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले २०८३ पुुस सम्म मर्स्याङदी गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा स्थापित गर्ने हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यस कार्यका लागि गाउँपालिकाले आवश्यक वजेट विनियोजन सँगै स्रोत साधन परिचालन समेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सवैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिवद्ध छौं । उहाँले भन्नुभयो, ‘त्यसका केही सूचकहरू छन् ती पुरा गर्न पालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सरोबारबाला निकायसँगै पालिकावासीहरूको साथ र सहयोगसँगै सञ्चारकर्मीहरूको पनि सहयोगको खाँचो छ ।’ उहाँले थप भन्नुभयो, ‘हामीले विगतका दिनमा जस्तै सबै क्षेत्रबाट साथ सहयोग पाउँछौं र यो प्रतिवद्धता पुरा गर्छौं भन्नेमा ढुक्क छौं ।’
सो कार्यक्रमको अन्त्यमा जारी प्रतिवद्धता पत्रमा ‘स्थानीय सरकार संचालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा आआफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई मिति २०८३ पुष मसान्त भित्र मर्स्याङदी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने’ उल्लेख छ ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष गुरुङको प्रमुख आतिथ्यतामा एवं समाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा समाजिक विकास मन्त्रालयका प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले सहजीकरण गर्नुभएको थियो । उहाँले बालमैत्री स्थानीय शासन लागु गर्न अपनाउने पर्ने सूचकका वारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको हो । वाग्लेले बालबालिका तथा बालअधिकार सम्वन्धि विभिन्न ऐन, नियमका वारेमा जानकारीसँगै बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय शासनको बाल बचाउ सम्वन्धी सूचकहरूका वारेमा सहभागीहरूलाई जानकारी दिनुभएको थियो । वाग्लेले भेदभाव रहित तथा बालवालिकाको विचार र भावनाको सवैले सदा कदर गर्नुपर्ने बताउनु भयो । हरेक क्षेत्रमा बालसंरक्षण नीति बनाउनुपर्ने, नीति र कार्यक्रममा बालवालिकालाई प्रथामिकता दिनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष जुना थापा, सबै वडाका अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, बालक्लब, सामाजिक संघसस्था र स्वास्थ्य सस्थाका प्रतिनिधि, विषयगत शाखाका कर्मचारी, विभिन्न विद्यालयहरूका प्रअलगायतको सहभागिता थियो ।
स्मरणीय छ, लमजुङमा आठ स्थानीय पालिका छन् । तीमध्ये केही वडालाई बालमैत्री घोषणा गरिएको भए ता पनि सिङ्गै पालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता पहिलो पटक मर्स्याङदी गाउँपालिकाबाट गरिएको हो ।
प्रकाशित मिति २०७९ पुष १५, शुक्रबार ०७:१८ गते