लमजुङ– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानले दुर्व्यसन र कुकृत्यमा लागेका आफ्ना कुल वंशका बन्धुहरूलाई खबरदारी गर्ने भएको छ । प्रतिष्ठानको लमजुङ जिल्ला समितिको पुस १६ गते सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका अध्यक्ष तु्लसीविकास अधिकारीको अध्यक्षतामा बसको बैठकले वंश उत्थानका क्षेत्रमा क्रियाशील हुने विविध निर्णय गरी त्यसको कार्यान्वयनमा कडाई गर्ने भएको छ ।
विपन्न परिवार पहिचान गरी प्लस टुसम्मका लागि छात्रवृत्तीको थालनी गर्ने, त्यसका लागि वन्धुु भित्रकै राम्रो आम्दानी भएका र समाजसेवाका लागि इ्च्छुक व्यक्तिहरूबाट स्रोतको खोजी कार्य शुरु
बैठकले आफ्नो कुल वंशका विपन्न परिवार पहिचान गरी छात्रवृत्तीको थालनी प्लस टुसम्मका लागि गर्ने, छात्रवृत्ती प्रदान गर्नका लागि आफ्नै कुल वंशका राम्रो आयआर्जन भएका र समाजसेवाका क्षेत्रमा केही गर्न इच्छुक बन्धुहरूबाट सहयोग लिने र त्यस्ता दाताको खोजी गरिने भएको उक्त बैठकमा सहभागी प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार यसै वर्षदेखि प्रदान गरिने छात्रवृत्तीको घोषणा कार्य आउँदो फागुन १३ गते जिल्लाको ऐतिहासिक थलो दुराडाँडामा हुने प्रतिष्ठानको छैटौं जिल्ला भेला तथा वनभोज कार्यक्रममा गरिने छ ।
वंशावलीको दोस्रो संस्करणका लागि छुट भएका वन्धुहरूको नामावली संकलन कार्य यही पुस २५ गते भित्र सम्पन्न गरी जिल्ला समितिलाई बुझाउने 
बैठकले प्रकाशनको अन्तिम तयारीमा रहेको वंशावलीको दोस्रो संस्करणका लागि छुट भएका वन्धुहरूको नामावली संकलन कार्य यही पुस २५ गते भित्र सम्पन्न गरी जिल्ला समितिलाई बुझाउने र जिल्ला समितिले एक मुष्ट रुपमा केन्द्रीय समितिमा पठाउने भएको जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार आजीवन सदस्यको फोटा भने ३, ४ दिन भित्र संकलन गरिसक्ने निर्णय गरिएको छ । उहाँले भन्नुभयो, ‘क्षेत्र क्षेत्रमा छुट भएका बन्धुहरूको वंशावली संकलन गर्न विभिन्न व्यक्तित्वलाई जिम्मा दिइएको छ ।’
उक्त बैठकले अधिकारीका केही वन्धुहरूले आफ्नो कुल वंशको परम्परागत धर्म संस्कृतिका विपरित आचरण गरी अधिकारी वंशको बदनाम गर्ने कार्य गरेको पाइएको हुँदा आउँदा दिनमा त्यस्तो दुर्व्यसन र कुकृत्यमा लागेका बन्धुहरूलाई कडाईका साथ खबरदारी गर्ने भएको छ । पहिलो पटक त्यस्ता व्यक्तिहरूलाई समितिका प्रतिनिधिहरूले भेटेर एकान्तमा सम्झाउने छन् । दोस्रो पटकमा चेतावनी दिइनेछ त्यसपछि पनि त्यस्ता खराब आनीबानीमा सुधार नआएमा तस्रो पटक जिल्ला समितिको सिङ्गो परिवार सम्बन्धित व्यक्तिको घरमा गएर सुध्रनका लागि चेतावनी सहित अन्तिम मौका दिइने छ । त्यसपछि पनि नसुध्रेको खण्डमा कानुनी उपचारको विधि अपनाउन समिति बाध्य हुने सहमति बैठकमा गरिएको छ । कुनै पनि बन्धुले कुल वंशमा कलंक लाग्ने काम गर्न नहुने र सदैव कुलका लागि गर्व गर्न लायकका कार्य सन्तानहरूबाट हुनुपर्ने, त्यस्ता सन्तान बनाउने वातावरण सिर्जना गर्नेतर्फ समिति आउँदा दिनमा क्रियाशील हुने भएको छ ।
वरिष्ठ पत्रकार समेत रहनु भएका प्रतिष्ठानका केन्द्रीय सदस्य पहाडीले समाजमा रहेका हर कुनै पनि मानिसले ‘असल कर्म’ गर्नु पर्छ त्यो उसको जिम्मेवारी र कर्तव्य हो, जिम्मेवारी र कर्तव्यबाट थोरै पनि च्युत हुने व्यक्ति समाचारको पात्र बन्दछन् । समाचार सुपात्र र कुपात्र दुवैको बन्दछ, लेखिन्छ र दुवै थरीको फोटो समेत छापिन्छ । कस्तो नाम कमाउने भन्ने स्वयम् व्यक्तिमा निर्भर हुने विषय हो तर कुल वंशको बदनाम गर्ने अधिकार कसैलाई पनि छैन त्यस्ता व्यक्तिको समाचार लेख्न आफू सधैं लालायित रहँदै आएको र आफूले लेख्न पछि नपर्ने पहाडीको भनाई छ ।
यस वर्षको जिल्ला भेला अर्थात वार्षिक साधारण सभा एवम् वनभोजको कार्यक्रम दुराडाँडाको पाणिनी संस्कृति माविको हातामा गर्ने
यसैगरी, उक्त बैठकले यस वर्षको जिल्ला भेला अर्थात वार्षिक साधारण सभा एवम् वनभोजको कार्यक्रम दुराडाँडाको पाणिनी संस्कृति माविको हातामा गर्ने निर्णय भएको प्रतिष्ठानका सहसचिव पार्वतादेवी अधिकारीले बताउनु भयो । उहाँका अनुसार यस वर्ष पनि विगत वर्षमा जस्तै पिएचडी गर्ने बन्धुवान्धवा(बुहारीसमेत)लाई सम्मान गर्ने, ८४ पूजा गर्नु भएका बा–आमालाई सम्मान गर्ने, एसईईमा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना वंशको बाबु र एकजना नानीलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । उहाँले भन्नुभयो, ‘त्यसका लागि समय मै (फागुन ५ गते भित्र) नाम जिल्ला समितिलाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।’
अक्षयकोष विस्तार गर्ने
यसैगरी, प्रतिष्ठानको सञ्चालनका लागि गत वर्षदेखि थालिएको अक्षयकोष स्थापना कार्यलाई विस्तार गर्ने कार्यलाई यो वर्ष थप तिब्रता दिने भएको कोषाध्यक्ष गोपालकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार अक्षयकोषका लागि १० हजार रुपैयाँ भन्दा बढी रकम प्रदान गर्नु हुने बन्धुवान्धवालाई समेत जिल्ला भेलाका अवसरमा सम्मान गर्ने कार्यक्रम छ ।
यो वर्ष जिल्ला भेलामा प्रमुख अतिथिमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका संस्थापक केन्द्रीय अध्यक्ष खगेन्द्र अधिकारी तथा विशेष अतिथिमा केन्द्रीय सदस्य द्वय सीताराम अधिकारी र मीना अधिकारीलाई आमन्त्रण गरिएको केन्द्रीय सदस्य पहाडीले जानकारी दिनु भएको छ ।
यसैगरी, अधिकारी वंशबाट उच्च ओहदामा पुग्नु भएका यस जिल्लाका व्यक्तित्वहरू, कार्यालय प्रमुख तथा जननिर्वाचित प्रतिनिधिहरू अध्यक्ष युवराज अधिकारी दोर्दी गाउँपालिका तथा वडाध्यक्षहरूलाई सम्मान गरिने भएको प्रतिष्ठानका उपाध्यक्ष सिर्जना अधिकारीले बताउनु भयो । उहाँका अनुसार यो वर्ष सम्मान गरिनेहरूमा डा. भिष्म अधिकारी(पूर्वसांसद), राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारी समेत हुनुहुन्छ ।
उक्त वैठकमा जिल्ला समितिका पदाधिकारीहरू तथा सदस्यहरूका अतिरिक्त मध्यनेपाल नगर समितिका अध्यक्ष पोशकराज अधिकारी, सोही समितिका सचिव शिवराम अधिकारी, पूर्वसल्लाहकार संयोजक विष्णुभक्त अधिकारी, केन्द्रीय प्रतिनिधि प्रकाशचन्द्र अधिकारी, पूर्वजिल्ला सदस्य श्रीप्रसाद अधिकारी, राइनास नगरसमितिका प्रतिनिधिद्वय कपिल अधिकारी र दर्शन अधिकारी लगायतको व्यापक सहभागी रहेको जिल्ला सदस्य कमल अधिकारीले बताउनु भयो ।
प्रकाशित मिति २०७९ पुष १७, आईतवार १०:१३ गते