कैलाली– कैलालीमा पदीय दुरुपयोग गरी तस्करीसँग मिलेमतो गर्ने दुई प्रहरीको जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक हवल्दारको जिम्मेवारी पुस २१ गते खोसिएको हो ।
सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टले तस्करीसँग मिलेमतो गरेको पुष्टि भएसँगै उनीहरूलाई सो जिम्मेवारबाट खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले बताउनु भयो । उहाँका अनु्सार उनीहरूलाई सादा पोशाकको जिम्मेवारीबाट हटाएर कार्यालयभित्रै अन्य काममा खटाउन थालिएको छ ।
एसपी पालले भन्नुभयो, ‘उनीहरूले तस्करहरूसँग मिलेमतो गरेको भन्दै बेनामे उजुरी परेपछि उनीहरूलाई सो जिम्मेवारीबाट हटाएर आन्तरिक रूपमा छानविन थालिएको छ । छानविनबाट दोषी देखिए उनीहरू दुबै जनालाई थप कारबाही गरिने छ ।’
उहाँले थप भन्नुभयो, ‘उजुरी परेपछि हामीले छानविन गर्नुपर्ने हुन्छ, हामीले आन्तरिक छानविनको प्रक्रियामा छौं, यतिबेला सादा पोशाकमा खटिने उनीहरूको जिम्मेवारीबाट हटाएर कार्यालयकै अन्य काममा लगाइएकोछ ।’
प्रकाशित मिति २०७९ पुष २१, बिहीबार १९:३२ गते