साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी जारी

साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २२ गते शुक्रबार ०६:०७

प्रदर्शन स्थलमा राखिएका पुस्तकको मूल्य ३ रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्म रहेको छ । प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रदर्शनीको आज पुस २२ गते छैटौं दिन

काठमाडौँ– साझा प्रकाशनले केन्द्रीय कार्यालय पुल्चोक एवं मुलुकका सबै शाखा कार्यालयमा गरेको पुस्तक प्रदर्शनी जारी छ । १४ दिवसीय उक्त प्रदर्शनीको आज पुस २२ गते छैटौं दिन हो ।
प्रदर्शन कक्षमा नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा छन् । प्रदर्शनीमा राखिएका पुस्तकहरू २५ देखि ८० प्रतिशत छुटमा बिक्री भइरहेका छन् । ती पुस्तकको मूल्य ३ रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्म रहेको छ । योगेन्द्र तिमल्सिनाको कथासङ्ग्रह ‘बैँसको निर्वासित शहर’को मूल्य ३ रुपैयाँ छ । यसै वर्ष मदन पुरस्कारको उत्कृष्ट आठमा परेको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य २ हजार ८ सय रुपैयाँ छ ।
साझाको प्रदर्शनी स्थलमा यस वर्ष प्रकाशित राष्ट्रकवि माधव घिमिरेको चूडान्त कृति ‘ऋतंभरा’ समेत प्रदर्शनीमा छ । उक्त कृतिको भूमिकामा घिमिरेले आफूलाई मन्त्रद्रष्टा ऋषिका रूपमा कल्पना गरेका छन् । त्यसमा भनिएको छ, ‘म बाहिर कवि हुँ, तर भित्र योगी हुँ। तरापुनिवासी मेरा बुढा ससुरा, गौरीका हजरबाबाट शक्ति प्राप्त भएर १६ वर्षको उमेरदेखि मैले अनाहत नाद श्रवण, ज्योति दर्शन र अमृत पान गर्दै आएको छु । मैले महाकाव्य वेदका ऋचा, उपनिषद्का श्रुति वाक्य र पातञ्जल योगसूत्र आदिको अध्ययन र धेरैजसो एकान्त अनुभवबाट सिर्जना गरेको हुँ ।’
यस महाकाव्यको सिर्जनाबाट घिमिरे महाकवि भएका छन् । प्रदर्शनीमा साझा प्रकाशनबाट भर्खरै प्रकाशित दामोदर पुडासैनी ‘किशोर’ को ‘डोेल्पो ओ डोल्पो’ देखि श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दीलगायत नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न कृतिहरू राखिएका छन् ।
विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा विद्यार्थीलाई प्रदर्शनीस्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको साझा प्रकाशनका सूचना अधिकृत भेषराज घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार पुस १७ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार ०६:०७ गते
हजुरको प्रतिक्रिया