
काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका छन् । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर कांग्रेससँग विश्वासको मत मागेको खुलासा भएको हो ।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा देउवालाई भेट्न उहाँको निवास धुम्बाराहीमा पुस २० गते पुग्नु भएको थियो । आफूले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गर्नु भएको नेता शर्माले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार, रामचन्द्र पौडेलजीले राष्ट्रिय सहमतिको सरकार भनिरहनुभएको छ । सोही अनुसार अघि बढौँ र प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर विश्वासको मत मागेको हुँ । उहाँले भन्नुभयो, ‘मेरो प्रधानमन्त्री उहाँ हो, मन्त्रीबाट हटिसकेपछि म भेट्न भएको हो ।’
माओवादीका नेताहरूबाट आएको प्रस्ताव कांग्रेसका दोस्रो तहका नेताहरूसम्म पनि पुगेको छ र उनीहरू छलफलमा जुट्न थालेका छन् । कांग्रेसका दोस्रो तहका नेताहरू ललितपुरको जावलाखेलस्थत एक घरमा बैठक बसेको थियो । काँग्रेस सभापति देउवाले पनि आफू निकटस्थ शीर्ष नेताहरूसँग पनि यसबारे परामर्श गरेको बताइएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई धम्बाराहीमा पुगेर भेट भएको छ । भेटमा यादवले आफ्नो पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने र सबै मिलेर अघि बढ्दा नै राम्रो हुने धारणा राखेको बताइएको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले थाल्यो गृहकार्य
यसैबीच, प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले थाल्यो गृहकार्य थालेको खुलासा भएको छ । त्यसका लागि कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको बताइएको छ ।
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको स्रोतको दावी छ । पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पु¥याउने मिसनसाथ कांग्रेस अघि बढेको स्रोतको दावी छ ।
काँग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’ गरेको हो । ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो । यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ ।’ देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको अध्यक्ष लिङ्देनका विश्वासपात्र राप्रपाका एक नेताले पुष्टि गरेका छन् ।
प्रतिनिधिसभा २७५ सदस्यीय रहेको छ । त्यसमा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ । एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेको बु्झिएको छ ।
तर राप्रपाका ती नेताले भने, ‘हामीले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छौँ भनिसकेका छौँ, त्यसैले उहाँहरूसँगको हाम्रो सहयात्रा कहाँसम्म अघि बढ्ने हो भन्ने उहाँहरूकै हातमा छ ।’
सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिएर सार्वजनिक गर्ने भएको छ । त्यसमा राप्रपाका केही थप माग हुने बताइएको छ ।
यसैबीच, दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नै लिन नदिने योजना कांग्रेसले बनाइरहेको भन्दै ‘उहाँहरू (कांग्रेस) कम्मर कसेर लाग्नुभएको छ । प्रधानमन्त्री नै अफर गर्नुभएको समेत सुन्नमा आएको एमालेका एक शीर्ष तहका नेताले पुष्टि गरेका छन् ।
कांग्रेसले राप्रपालाई एमाले–माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आँकलन गरेको बताइन्छ ।
समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको घनिभूत कुराकानीमा हुनुहन्छ । पुस २६ गते संसदमा प्रचण्डको विपक्षमा १४१ जना सांसद पुर्याउने मिसनसाथ कांग्रेस अघि बढेको एक नेताले बताउँछन् ।
पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिनु भएका प्रचण्डले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थन रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम तय भइसकेको छ ।
स्मरणीय छ, कांग्रेस नेतृत्वको अघिल्लो गठबन्धनमा प्रधानमन्त्री नपाउने अवस्था बनेपछि प्रचण्डले एकाएक एमालेसँग सहकार्यको हात फैलाउनु भएको हो ।
प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार ०७:१३ गते