राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री प्रचण्डले नपठाएको शुभकामना म्यानमारको सैनिक सरकारी पत्रिकामा

राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री प्रचण्डले नपठाएको शुभकामना म्यानमारको सैनिक सरकारी पत्रिकामा

एजेन्सी

@antaranganews

२०७९ पुस २२ गते शुक्रबार ०८:३४

म्यानमारकी नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ ७७ वर्षीया आङसाङ सुकीलाई त्यहाँको सैनिक सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । त्यसको विश्वभरबाट विरोध भइरहेको छ । राजधानी नेपिडोस्थित घरमा सुकीले आफ्नो जीवनको लामो समय नजरबन्दमा बिताएकी छन् ।

‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत नाममा शुभकामना सन्देश प्रकाशित

काठमाडौं– म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । सैनिक शासन चलिरहेको म्यानमारको सरकारी पत्रिकामा राष्ट्रपति भण्डारीको नाममा शुभकामना सन्देश पुस २१ गते प्रकाशित भएको हो ।
म्यानमारमा यतिबेला सैनिक शासन चलिरहेको छ । प्रजातन्त्रवादी नेतृ सुकीलाई नजरबन्दमा राखेर शासन चलाइरहेको सैनिक सरकारको कदमलाई अहिलेसम्म समर्थन गर्ने मुलुकहरू नगन्य मात्र छन् ।
‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत नाममा शुभकामना सन्देश प्रकाशित गरिएको छ । ‘म्यान्मा अलिनो’ दैनिक पत्रिका म्यानमारको सेनाको मुखपत्र हो । सो पत्रिका म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने गर्दछ । शुभकामना सन्देशमा त्यहाँका सैन्य नेता जनरल मिन आङ हृलाइङको स्वास्थ्य लाभको कामनासमेत गरिएको उल्लेख छ ।
प्रकाशित शुभकामना सन्देशमा भनिएको छ– ‘म्यान्मारको ७५औं हीरक स्वतन्त्रता दिवशको उपलक्ष्यमा प्रिय मित्र (जनरल मिन आङ हृलाइङ), शहीद र म्यान्मारको सम्पूर्ण जनतालाई स्वतन्त्रता दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रिय मित्रलाई सुस्वास्थ्यको कामनासहित म्यान्मारका सम्पूर्ण जनताको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।’ उक्त पत्रिकामा नेपालसँगै रसिया र कम्बोडियाको सरकारको पनि शुभकामना सन्देश प्रकाशित गरिएको छ ।
त्यहाँका अन्य सबै निजी प्रेस(पत्रिका)माथि सैनिक सरकारले प्रतिबन्ध लगाएको छ । यसरी प्रकाशित भएको शुभकामना सन्देशमा जनरल मिन आङ हृलाइङलाई समेत सम्बोधन गरेपछि नेपाल सरकारले त्यहाँको सैनिक सरकारलाई समर्थन गरेको सन्देश प्रवाह हुन आएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासले नेपालबाट यस्तो कुनै प्रकारको सन्देश म्यानमार नपठाएको बताएको छ । राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीमार्फत त्यस्तो कुनै पनि सन्देश नपठाएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘राष्ट्रपति कार्यालयले त्यस्तो प्रकारको कुनै पनि सन्देश म्यानमारको सरकारलाई पठाएको छैन ।’ तर यो समाचार तयार गर्दासम्म राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयले आधिकारिक प्रतिक्रिया दिएको छैन ।
म्यानमारकी नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ ७७ वर्षीया आङसाङ सुकीलाई त्यहाँको सैनिक सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । त्यसको विश्वभरबाट विरोध भइरहेको छ । राजधानी नेपिडोस्थित घरमा सुकीले आफ्नो जीवनको लामो समय नजरबन्दमा बिताएकी छन् ।
गत साता मात्रै म्यानमारको सैन्य अदालतले उनलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । सैन्य अदालतले उनको सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको जनाइएको छ । सुकीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ । उनीमाथि सैनिक सरकारले लगाएका १९ वटा आरोपमाथि १८ महिना लामो अनुसन्धान र सुनुवाइ चलाएको दावी गरिएको छ ।
संयुक्त राष्ट्रसंघले गत साता मात्र सुकीलाई रिहा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार ०८:३४ गते
हजुरको प्रतिक्रिया