मर्स्याङदीमा पालिकास्तरीय शैक्षिक महोत्सवको तयारी तिब्र

मर्स्याङदीमा पालिकास्तरीय शैक्षिक महोत्सवको तयारी तिब्र

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २२ गते शुक्रबार ११:०९

राजनीतिक दल, अभिभावक, प्रधानाध्यपक, विद्यार्थीका छुट्टाछुट्टै कार्यपत्र हुनेछन् । सो महोत्सव मर्स्याङदी नगरपालिका– ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको हातामा हुने भएको हो ।

राजनीतिक, अभिभावक, प्रधानाध्यपक, विद्यार्थीका छुट्टाछुट्टै कार्यपत्र पेश हुने

भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरीय शैक्षिक महोत्सव– २०७९ को तयारी तिब्र पारिएको छ । साताव्यापी रुपमा हुने सो महोत्सव यहि पुस २६ गतेदेखि शुरु हुने कार्यक्रम छ ।
मर्स्याङदी गाउँपालिकाले तय गरेको नारा ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिका को आधार, कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’का आधारमा गरिन लागेको शैक्षिक महोत्सव २०७९ को आफैले आयोजना गरेको हो । सो महोत्सव मर्स्याङदी नगरपालिका– ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको हातामा हुने भएको हो । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन आयोजना गर्न लागिएको शैक्षिक महोत्सवमा विभिन्न राजनीतिक दलहरू, विद्यार्थी, शिक्षक, अभिभावकहरूबाट गाउँपालिकाको शैक्षिक विकासको निम्ति कार्यपत्र प्रस्तुत सँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूको छुट्टाछुट्टै उत्प्रेरणा दिने खालका कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।

यो मेला यसअघिको मर्स्याङ्दी कपकै विकसित रुप भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार राजनीतिक दल, अभिभावक, शिक्षक, विद्यार्थी(बालक्लब) सबैलाई शिक्षाको विकासका लागि उहाँहरूको शैक्षिक विकासमा अवधारणा के हो ? ल्याउनु भनेका छौं । उहाँले भन्नुभयो, ‘अब भाषण गर्ने होइन काम गर्ने हो त्यसैले के के गर्न आवश्यक छ गाउँपालिकाले सुझाव माग गरेका छौं ।’
मेलाको विशेषता सम्बन्धि जिज्ञासामा अध्यक्ष गुरुङले भन्नुभयो, ‘तीन दिन त पहिले मर्स्याङ्दी कप गरेकै हो, त्यही हुन्छ । थप चार दिनमा पहिलो दिन उदघाटन, बाँकी तीन दिन एक दिन राजनीतिक दलको, एक दिन अभिभावक र एक दिन शिक्षकको मोटिभेसका कार्यक्रम गर्ने भनेर कार्यक्रम तय भएको छ । यो कार्यक्रमलाई आउँदा वर्षमा पनि निरन्तरता दिने सोच छ उहाँले भन्नुभयो ।
सो अवसरमा विभिन्न कार्यपत्र प्रस्तुत गरिने भएको छ । जसमा राजनीतिक दल, अभिभावक, प्रधानाध्यपक, विद्यार्थीका छुट्टाछुट्टै कार्यपत्र हुने उक्त गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजिव सुवर्णकारले बताउनु भयो । उहाँका अनुसार विद्यालयका प्रधानाध्यापकहरूको भेला गरी अवको शैक्षिक अवस्था कस्तो हुनुपर्ने, विद्यालयहरूलाई के कसरी राम्रो नमुना योग्य बनाउन सकिन्छ, गाउँपालिकाले शिक्षाको क्षेत्रमा के– के गर्नुपर्ने बारेमा अमर मा.वि.का प्रधानाध्यपक तिर्थबहादुर बस्नेतको संयोजकत्वमा छलफल भयो । त्यस्तो कार्यपत्रलाई २५ गतेसम्ममा अन्तिम रुप दिने भनी निर्यय भएको छ । त्यस्तै, गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेला गरी अबको शैक्षिक अवस्था कस्तो हुनुपर्ने, विद्यालयहरूलाई नमुना बनाउन कसरी सकिन्छ, गाउँपालिकाले शिक्षाको क्षेत्रमा के–के गर्नुपछै बारेमा प्रभात शान्तिपूर्ण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण घलेको संयोजकत्वमा छलफल भयो र त्यसलाई पनि २५ गतेसम्ममा अन्तिम रुप दिने निर्यय भएको उहाँको भनाई छ ।
साताव्यापी महोत्सवको पहिलो दिन पुस २६ गते उदघाटन समारोह, कार्यपत्र प्रस्तुत, विद्यार्थीद्वारा निर्मित शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुती आदि हुने कार्यक्रम रहेको सो पालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार दोस्रो पुस २७ गते शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई प्रोत्सहन कार्यक्रम हुने छ, २८ गते कक्षा ८, ९, १० र १२ का अभिभावकहरू लक्षित कार्यक्रम गरिने छ भने २९ गते विद्यार्थी लक्षित उत्प्रेरणका कार्यक्रम हुने छन् ।
यसैगरी, पुस ३० गते मर्स्याङदी कप, मावि स्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङ जम्प, प्राविस्तरिय छात्रछात्रा गणित दौड सहितका प्रतियोगिता हुने छन् ।
त्यस्तै, माघ १ गते माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेलमैदानमा आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने शिक्षा शाखाले जनाएको छ । शैक्षिक महोत्सवको अन्तिम दिन माघ २ गते भलिवल, फुटवल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
सो अवसरमा खेलिने खेलहरूका लागि मर्स्याङ्दी गाउँपालिका भरीका खेलकुद शिक्षक र खेलकुद समितिलाई जिम्मा दिने निर्णय भएको सुवर्णकारको भनाई छ ।

प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार ११:०९ गते
हजुरको प्रतिक्रिया