डढुवामा मध्यनेपालका मेयरद्वारा गुम्बा उदघाटन

डढुवामा मध्यनेपालका मेयरद्वारा गुम्बा उदघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २३ गते शनिवार ०३:३२

डढुवा(लमजुङ)– मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले सोही नगरपालिका– ८ को डढुवा गाउँमा निर्माण गरिएको गुम्बाको उदघाटन गर्नु भएको छ । एक औपचारिक कार्यक्रमका बीच पुस २२ गते गुम्बाको उदघाटन गरिएको हो । मेयर पाण्डेले नगर भित्रका...

यो क्षेत्रमा धार्मिक पर्यटन बढ्ने विश्वास जागृत भएको मेयर पाण्डेको धारणा

डढुवा(लमजुङ)– मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले सोही नगरपालिका– ८ को डढुवा गाउँमा निर्माण गरिएको गुम्बाको उदघाटन गर्नु भएको छ । एक औपचारिक कार्यक्रमका बीच पुस २२ गते गुम्बाको उदघाटन गरिएको हो ।
मेयर पाण्डेले नगर भित्रका सवै समुदायको संस्कार संस्कृतिको खोज, संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले विशेष सहयोग गर्ने योजनाका साथ सहयोग गर्दै आएको बताउनु भयो । उहाँले गुम्बा धार्मिक रुपमा कुनै एक समुदायको आस्थाको केन्द्र भएपनि धार्मिक सहिष्णुता र आपसी सदाचारका हिसावले सवै समुदायले आफ्नो सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्नु भयो । गुम्बा निर्माण भएसँगै सो स्थानमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको डढुवामा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण थपिएको बताउँदै मेयर पाण्डेले यसको प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा मध्यनेपाल नगरपालिका– १० का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारी, मध्यनेपाल– ८ का वडा अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पोखरा डढुवा सेवा समाजका अध्यक्ष धनबहादुर गुरुङ, पोखरा उपमहानगरपालिका– १४ का वडासदस्य डिलमाया गुरुङ, मध्यनेपाल– ८ का पूर्ववडा सदस्य खम्बासिँह गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको हो ।
सो गुम्बा निर्माणमा ५० लाख रुपैयाँको लागतमा निर्माण भएको समितिका कोषाध्यक्ष आशा गुरुङले बताउनु भयो । उहाँका अनुसार गुम्बा निर्माणका लागि मध्यनेपाल नगरपालिकाको सहयोग सँगै स्थानीयले नगद तथा जिन्सी सहयोग संकलन गरी सहयोग गरेका थिए ।
मध्यनेपाल नगरपालिकाबाट अनुदान आ.व. ०७४/७५ देखि आ.व. ०७७/७८ सम्म कुल २९ लाख ३२ हजार ३४७ रुपैयाँ तथा गण्डकी प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ अनुदान प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष भुवनसिं गुरूङले बताउनु भयो । उहाँका अनुसार विभिन्न सामाजिक संघ संस्थाबाट १८ लाख ९६ हजार १७१ रुपैयाँ र व्यक्तिगत चन्दा सहयोगबाट ५४ लाख ३२ हजार ५२१ रुपैयाँ गरी कुल ८८ लाख ६४ हजार ८६८ रुपैयाँ संकलन भएको थियो । उहाँले भन्नुभयो, ‘उक्त गुम्बा निर्माणका लागि धनकौंरी गुरूङले क्षेत्रफल एक रोपनी एक आना दुई दाम र दुई पैसा बारबरको जग्गा दान गर्नु भएपछि सो गुम्बा भवन निर्माण गरिएको हो ।’
गुम्बाको निर्माण कार्य आ.व. ०७४/७५ मा थालिएको हो र निर्माण कार्य २०७९ पुस १६ गते सम्पन्न भएको अध्यक्ष भुवनसिं गुरूङले जानकारी दिनु भयो ।
गुम्बा निर्माण भएसँगै स्थानीयले विधिवत पुजा एवं विविध साँस्कृतिक कार्यक्रम समेत गरेको उहाँको भनाई छ ।
गुम्बा भवन निर्माण समितिका अध्यक्ष भुवन सिँह गुरुङको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष आशा गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समिति सचिव विशाल गुरुङले गर्नुभएको नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७९ पुष २३, शनिबार १५:३२ गते
हजुरको प्रतिक्रिया