
बेसीशहर– समस्या ग्रस्त सहकारीको श्रेणीमा दर्ज हुने संघारमा पुगेको भनिएको यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को २३ औं वार्षिक तथा विशेष साधारण सभा संयुक्त रुपमा चलिरहेको छ । पुस २३ गते सभालाई सञ्चालकहरूले आफ्नो रक्षाकवचको रुपमा उपयोग गरेको केही सहभागीहरूले बताएका छन् ।
उक्त सभाका प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सहकारी रजिष्टार कार्यालयका तथ्यांक सहायक सूर्यप्रसाद आचार्यले गर्नु भएको थियो । उहाँले आफू सहकारी रजिष्टारको कार्यालयमा २०७८ बैशाखदेखि कार्यरत रहेको सहकारीहरू नियमनकारी निकायमा ४÷४ र वार्षिक रुपमा प्रतिवेदन पठाउनु पर्नेमा यो संस्थाको आजका मितिसम्म मर्जर भएको भन्दा बाहेकको सूचना आफूहरूलाई प्राप्त नभएको बताउनु भयो । उहाँले लमजुङका ३, ५ वटा सहकारीभन्दा बाहेकका यहाँ सहकारी संस्थाका विभिन्न छाता संगठन भनिए पनि तिनको र जिल्ला सहकारीको समेत प्रतिवेदन आफ्नोमा नआएकोले त्यसतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछु भन्नुभयो ।
उहाँले विशेष साधारणसभाको काम कर्तव्यका बारेमा जानकारी दिदै त्यो यस संस्थाको बारेमा उजुरी परेपछि आफ्नै कार्यालयले आयोजना गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले यो संस्थाको समस्या भनेको सञ्चालकहरूको निस्कृयता, आपसी मनोमानिन्य र जुँगाको लडाइँमात्र हो, अन्यथा त्यस्तो ठूलो समस्या आफूले नदेखेको उल्लेख गर्नु भयो । उहाँले सहकारी स्वनियमनकारी संस्था हो भन्ने मान्यताले पनि हेरिएको छ । तर ऐन अनुसार हस्तक्षेप गर्नु पर्ने स्थिति आएमा पछि नपर्ने उल्लेख गर्दै तर तपाईहरू सबै मिलेर समस्या समाधान गर्न चाहेमा सहज हुने स्थिति रहेको छ । उहाँले पछिल्लो डेढ दुई महिनामा त झण्डै अढाई लाखको ऋण असुली र बचत फिर्ता त भएको रहेछ नि ! यसरी नै काम भएमा चाडो यो संस्थामा लयमा फर्कन सक्छ उहाँले भन्नुभयो ।
पीडित आन्दोलनकारीतर्फ संकेत गर्दै नेपालको कानुनी प्रक्रिया देख्नु भएकै छ, कुनै कुनै सहकारीका सञ्चालकहरू १० वर्षसम्म सञ्चालकहरू जेलमा बस्दा पनि समाधान हुन सकेको छैन, त्यसैले मिलेरै समस्या समाधान गर्न अनुरोध गर्दछु भन्नुभयो । उहाँले विशेष साधारण सभाले नयाँ समिति चयन गर्न सक्छ र वर्तमान वा पुरानो कुनै पनि समिति उम्कन पाउँदैन, आफ्नो पालामा भएका लगानी उठाउने जिम्मेवारी सम्बन्धित समितिकै हुन्छ त्यसैले जेल गएर आजसम्म आर्जित इज्जत गुमाउने काम सञ्चालकहरूले नगर्न सुझाव दिनुभयो ।
सो कार्यक्रमका विशेष अतिथि एवम् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलुवालले पछिल्ला वर्षमा देखिएको कोभिडको प्रकोप लगायतले देशमा सिर्जिएको आर्थिक मन्दीले यो सहकारीमा पनि केही समस्या आएको भएता पनि समाधान नै गर्न नसकिने नभएको भन्दै यो संस्थाको गतिविधिलाई आफूले निजकबाट हेरेको छु भन्नु भयो । उहाँले पीडित संघर्ष समितितर्फ संकेत गर्दै उहाँहरू किन आउनु भएन ? आएर आफ्ना कुरा राख्ने र सुझाव दिने गर्नु पर्दथ्यो, हामी एउटै धाराको पानी खाने मान्छे हौं भागेर कहाँ जाने ? भन्नु भयो । यसमा देखिएको समस्याको समाधान छ, निकास निस्कन्छ भन्नुभयो ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्न दिइएका व्यक्तिहरू सबै– सबैको लय, लवज सो सहकारीका सञ्चालकहरूका आफ्ना मान्छे एवम् सहयोगीहरू रहेको र सञ्चालकहरूले सिकाएका कुरामात्र बोलेको भान हुन्थ्यो । समयको पावन्दी देखाउँदै सञ्चालकहरूको क्रियाकलाप प्रति विमति वा फरक दृष्टि राख्नेहरूले बोल्ने मौका दिइएन ।
उदाहरणका लागि यो पंक्तिकारले सो संस्थाका विरुद्धमा धाराप्रवाह रुपमा नेगेटिभ समाचार लेख्ने गर्यो भन्ने टिप्पणी सञ्चालकहरू र उनीहरूका मान्छेबाट हुँदै आएको छ । तर यो पंक्तिकार त्यस संस्थाको पीडित सेयर सदस्यहरू मध्ये एक हो । यो पंक्तिकारले सेयर रकम फिर्ता लिएको छैन भने बचत रकम फिर्ता लिनका लागि लिएको रकमको चेक गत कार्तिक ३ गते साटिनु पर्ने हो तर आजका मितिसम्म पनि साटिन सकेको छैन । भलै जिल्लामा रहेर, बसेर पत्रकारिता गर्नु पर्छ भन्ने सोचका साथ जुघाको रेखी बस्दादेखि आज जुघा कपाल फुल्न थाल्दा समेत पत्रकारिता गरी पत्रकारकै रुपमा यो पंक्तिकार स्थापित भएता पनि आजको त्यो सधारण सभामा पत्रकारका रुपमा निम्त्याइएको थिएन, निम्ता सेयर सदस्यका हैसियतले आएको थियो र त्यही हैसियतको उपस्थिति भएको पनि हुँ । ५, ७ मिनेटको समय दिएर ‘नकारात्मक समाचार किन आयो र धारणा के हो ?’ भन्ने मौका दिएको भए नोक्सान सायद कसैलाई हुन्नथ्यो तर त्यसो गर्ने उदारतापूर्ण व्यवहार सञ्चालकहरूबाट देखाइएन । सम्भवतः सञ्चालकहरूका यस्तै सकीर्ण सोच र व्यवहार उक्त सहकारीको समस्याको जड हो । आजको सभामा पनि घाउँ भएर शल्यक्रिया गर्नु पर्ने यौटा हात वा ख्ुट्टामा तर शल्यक्रिया अर्को हात वा खुट्टामा गरिएको जस्तो व्यवहार उदघाटन सत्रका दुश्यले देखिएको थियो ।
उक्त संस्थाको बन्द सत्र यो समाचार तयार गर्दा पनि चलिरहेको छ । तर त्यहाँ बस्न औचित्य देखिएन । निर्वाचन समिति पनि गठन गरिएको रहेछ । सायद एक दुई जना पदाधिकारी फेरिए भने पनि आश्चर्य हुने छैन । त्यो सहकारी फुलोस्, फलोस् र सेयर सदस्यहरूको डुब्न लागेको रकमको माया मार्नु पर्ने स्थिति बढेर नजाओस् । भोलिका दिनमा फेरि पनि नकारात्मक समाचार लेख्न बाध्यता आइनलागोस् । किनकि, समाचार नलेख्दा ‘कति पैसा दिएका छन् सञ्चालकहरूले र समाचार नलेखेको ?’ भन्ने पीडितहरूको आरोप पनि यो पंक्तिकारले खेपेकै हो ।
प्रकाशित मिति २०७९ पुष २३, शनिबार १७:०५ गते