ललितपुर– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकता, राहदानी वितरणजस्ता काममा नागरिकले सास्ती पाउनुले सुशासनमाथि प्रश्न उठेको बताउनु भएको छ ।
ढुवानी व्यवसायी महासंघ, नेपालद्वारा यहाँ आयोजित एक कार्यक्रममा उहाँले अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले मन्त्री र नेताहरूले बोलेका कुरा गरिदिए पनि धेरै राम्रो हुने बताउनु भयो । सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले सुुशासन बारेमा प्रश्न उठाउँदै भन्नुभयो, ‘सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने काममा पनि झमेला ? अब त्यस्ता कार्यमा केही भए त्यसलाई तत्काल हटाउनु पर्यो। चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नु पर्यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्न पर्यो भने त्यो सुशासन हुुन्छ ? उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनु पर्यो भने त्यो कसरी सुुशासन हुन्छ ?’
उहाँले थप भन्नुभयो, ‘एक दलको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लागि मात्रै होइन, जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ ।’
प्रकाशित मिति २०७९ पुष २४, आईतवार ०८:५८ गते