मध्यनेपाल नगरपालिकामा आज पुस २५ गतेदेखि एकिकृत घुम्ती शिविर

मध्यनेपाल नगरपालिकामा आज पुस २५ गतेदेखि एकिकृत घुम्ती शिविर

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २५ गते सोमबार ०६:१६

पहिलो दिन वडानं १ बाट शुरु हुने उक्त शिविर क्रमशः वडानं १० मा अन्तिम दिन सञ्चालन गरिने नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ ।

रहेक वडामा एक एक दिन शिविर सञ्चालन गर्ने तयारी

भोर्लेटार(लमजुङ) । लमजुङको मध्यनेपाल नगरपालिकामा आयोजित एकिकृत घुम्ती शिविर आज पुस २५ गतेदेखि शुरु हुने भएको छ । नगरपालिका भित्रका नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्य सहित सञ्चालन गर्न भएको शिविर आउँदो माघ ६ गते समापन हुनेछ ।
उक्त एकिकृत घुम्ती शिविर नगरपालिकाका सबै वडा कार्यालयहरूमा सञ्चालन गर्ने तयारी भएको सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डले बताउनु भयो । उहाँका अनुसार एक वडा एक दिन शिविर गरी सञ्चालन गरिने भएको छ । त्यसका लागि नगरपालिकाले एक सूचना जारी गरेको उहाँले बताउनु भयो ।
नगरपालिका भित्रका नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्य सहित जनताको घरदैलोमै एकिकृत घुम्ती शिविर आयोजना गर्न लागिएको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । नागरिकहरुको सहजताका लागि सम्वन्धीत शाखा प्रमुख सहित जनप्रतिनिधीहरुको पनि सहभागिता हुने मेयर पाण्डेको भनाई छ । मेयर पाण्डेले भन्नुभयो, ‘स्थानीय सरकारले ठूला बजेटका विकास निर्माण गर्न भन्दा सानो तर नागरिकसँग प्रत्यक्ष जोडिएका समस्याहरुलाई सम्बोधन गर्न सके संघीयताको मर्म अनुसार नगरिकले घरघरमै सिँह दरवारको अनुभुति गर्न सक्ने विश्वास गरिएको छ ।’
ती शिविरमा चालु आर्थिक बर्षमा सम्झौता हुन बाँकी रहेका योजना सम्झौत गरिने छ, उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखीकरण, व्यक्तिगत घटना दर्ता कार्य गरिने नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार त्यस बाहेक कृषि र पशुसेवा सम्बन्धी परामर्श र जेष्ठ नागरिक परिचय पत्र वितरण पनि गरिने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘घुम्ती शिविरका लागि नगरपालिकाले सम्वन्धीत शाखाका कर्मचारीहरुलाई खटाउने तयारी छ ।’
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले एक सूचना समेत जारी गर्नु भएको छ । सो सूचनाको तालिका अनुसार पुस २५ गते सोमबार वडा नम्वर १ जितामा शिविरको उदघाटन हुने कार्यक्रम रहेको छ । त्यसैगरी वडा नम्वर २ मा २६ गते, वडा नम्वर ३ मा २७ गते, वडा नम्वर ४ मा २८ गते, वडा नम्वर ५ मा २९ गते शिविर हुने उल्लेख छ ।
यसैगरी, वडा नम्वर ६ मा माघ २ गते शिविर हुने कार्यक्रम तय भएको छ । वडा नम्वर ७ मा ३ गते, वडा नम्वर ८ मा ४ गते, वडा नम्वर ९ मा ५ गते र वडा नम्वर १० मा माघ ६ गते एकिकृत घुम्ती शिविर सञ्चालन गरी समापन गर्ने कार्यक्रम तय भएको छ ।
भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या भोग्दै आएका सर्वसाधरणका लागि घुम्ती शिविर लाभदायक हुने नागरिकहरुको विश्वास छ । नगरपालिकाले यसअघि एकिकृत घुम्ती शिविर बाहेक जेष्ठ नागरिक र अपा·ता भएका नागरिकहरुका लागि घरदैलोमै नियमित स्वास्थ्य शिविर पनि गर्दै आएको छ । सो बाहेक दीर्घरोगीहरुको उपचार तथा गम्भीर प्रकारका रोग लागेका विरामीहरुका लागि उपचार तथा जीवन यापनमा सहयोग समेत गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ पुष २५, सोमबार ०६:१६ गते
हजुरको प्रतिक्रिया