काठमाडौँ– सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वीजयन्तीको दिन बिदा दिने निर्णय पुस २५ गते गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने पूर्वसन्ध्यामा पृथ्वीजयन्तीमा बिदा दिने सरकारले निर्णय गरेर सरकारले एउटा ठूलो खड्गो टारेको छ । सरकारलाई समर्थन गर्न प्रमुख माग तथा सर्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राखेको थियो । उसको सर्त अनुसार सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिने निर्णय गर्न बाध्य भएको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले २७ पुसमा पर्ने ३०१ औं पृथ्वी जयन्ती मनाउने निर्णय गरिसकेको छ । राप्रपाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेर पृथ्वी जयन्ती समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कार्यसम्पादन समितिको बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, ‘राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ ।’
स्मरणीय छ, राप्रपा नेपालमा राजसंस्थाको पुनःस्थापना र हिन्दूधर्मको घोषणाको पक्षमा छ । आउँदो पाँच वर्ष भित्र यही सरकारको नेतृत्वमा सो दलका ती माग पनि पुरा भएमा आश्चर्य हुनेछैन ।
प्रकाशित मिति २०७९ पुष २५, सोमबार २०:४७ गते