प्रधानमन्त्रीले आज विश्वासको मत लिने तयारी, काँग्रेस र समाजवादीले निर्णय गर्न बाँकी

प्रधानमन्त्रीले आज विश्वासको मत लिने तयारी, काँग्रेस र समाजवादीले निर्णय गर्न बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २६ गते मङ्गलबार ०८:५१

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए । प्रधानमन्त्री नियुक्त हुँदा ती पार्टीसहित केही स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन थियो । विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेको बताएका छन् ।

काँग्रेस र समाजवादीले विश्वासको मत नदिए पनि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने प्रायः निश्चित

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुस २६ गते विश्वासको मत लिनु हुने तयारी छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने हुनु भएको हो ।
सो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरूले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्यान्डेट प्राप्त हुनेछ ।
प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए । प्रधानमन्त्री नियुक्त हुँदा ती पार्टीसहित केही स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन थियो । विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एस अनिर्णित :
नेपाली कांग्रेस र नेकपा एस प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने आज बिहान निर्णय गर्न क्रमशः संसदीय दल र सचिवालयको बैठक बस्दै छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक अब केही बेरमा बिहान ९ बजे बस्ने भएको छ । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव मागेको छ । पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत कांग्रेसले २५ गते साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेताकार्यकर्ताहरूसँग सुझाव मागिएको सो दलका महामन्त्री विश्वप्रकाशले बताउनु भयो । उहाँका अनुसार प्रचण्डलाई विश्वासको मत दिनु उचित हुन्छ या हुन्न ?, दिनुपर्छ तर्क के÷दिनुहुन्न तर्क के ?, दिँदा र नदिँदामध्ये देश, लोकतन्त्र र कांग्रेसका लागि के उचित ? जस्ता प्रश्न कार्यकर्ता तथा सुभेच्छुकसँग गरिएको छ ।
उता, नेकपा (एकीकृत समाजवादी)ले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय आजै गर्ने भएको छ । यसबारेमा निर्णय गर्न पार्टी सचिवालय बैठक बोलाएको छ । बैठकले विश्वासको मत दिने अथवा नदिने निर्णय गर्नेछ ।
पार्टीको ह्वीप लाग्छ कि लाग्दैन ?
राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ । तर संविधानमा भने त्यस्तो उल्लेख भएको देखिदैन । यसपटकको निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बन्न असफल भयो । जसकारण सो पार्टीका सांसदलाई ह्वीप लाग्छ कि लाग्दैन ? भन्ने जिज्ञासा छ । संसद सचिवालय (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताएको छ । तर, एकीकृत समाजवादी राष्ट्रिय दल नबनेका कारण पार्टीको ह्वीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट उल्लेख भएको पाइँदैन ।
काँग्रेस र समाजवादीले विश्वासको मत नदिए पनि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने निश्चित भएको छ ।
विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद भए पुग्छ ।
कथम्कदाचित, प्रचण्डले विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया शुरु हुनेछ ।

प्रकाशित मिति २०७९ पुष २६, मंगलवार ०८:५१ गते
हजुरको प्रतिक्रिया