
खुदी(लमजुङ)– शिक्षामा नमूना गाउँपालिका बनाउने अभियानमा मर्स्याङदी गाउँपालिका जुटेको छ । लमजुङको उत्तरी क्षेत्रमा रहेको सो पालिकाले सप्ताहव्यापी शैक्षिक मेला पुस २६ गते शुरु गरी सो अभियानमा जुटेको हो । कार्यक्रमका विशिष्ठ अतिथि एवम् संविधानसभाका सदस्य जमिन्द्रमान घलेले उक्त महोत्सवको उदघाटन गर्दै जिल्लाको शैक्षिक उन्नयनमा यो पालिकालाई नमूनायुक्त बनाउन यो महोत्सवले कोशेढुंगा हुने बताउनु भयो ।
उहाँले यो पालिकाबाट उत्पादित विद्यार्थीहरू व्यवहारिक, नैतिक आचारणयुक्त, विश्वबजारमा बिक्न सक्ने, प्रविधि र अनुशासन लय भएका हुने छन् भन्ने विश्वास व्यक्त गर्नु भयो । त्यसका लागि गुणस्तरीय र व्यवहारिक र आचरणयुक्त शिक्षाको खाँचो रहेको उहाँले औंल्याउनु भयो । यो कार्यक्रम अवधिमा राखिएका शिक्षक, अभिभावक र विद्यार्थीका उत्प्रेरणात्मक कार्यक्रमले महोत्सवलाई उपलब्धीपूर्ण बनाउने उहाँले उल्लेख गर्नु भयो । उहाँले शैक्षिक उपलब्धी हासिल गर्नका लागि केही कठोर र अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्ने औंल्याउँदै यो हाम्रो ठाउँ हो, बनाउने हामीले नै हो त्यसैले बिना पूर्वाग्रह अर्काको मुख ताक्ने होइन, आफै उदाहरणी बन्ने हो त्यस्तो निर्णय गरौं कार्यक्षेत्रमा जुटौं भन्ने आह्वान गर्नु भयो ।
मेरा केही सुझाव छन् भन्दै उहाँले शैक्षिक उन्नयनमा शिक्षकको बढी भूमिका हुने हुँदा निरन्तर तालिमको प्रवन्ध, तलबबाहेक अन्य सुविधा नभएको हुँदा त्यस्तो कोषको प्रवन्ध गरेर अतिरिक्त भत्ताको प्रवन्ध, पुरस्कार र दण्ड सजायको मापदण्ड निर्धारण गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै, शिक्षकहरू १५– २० वर्षसम्म एउटै विद्यायलमा बसेर पढाउनु कति उपयुक्त हो ? भन्नेतर्फ पनि सोचौं भन्ने सुझाव राख्दै उहाँले दरबन्दी हरेक वर्ष जेठ महिनामा मिलान गर्ने र आजसम्मको पहुँच हुने व्यक्तिका विद्यालयमा विद्यार्थी नभए पनि दरबन्दी हुने र विद्यार्थी प्रशस्त भएर पनि पहुँच नहुने विद्यालयमा शिक्षक कम हुने स्थितिको पनि अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । त्यस्तै, शिक्षकहरूले राजनीति गर्न वा दलका समितिमा बस्न कति उपयुक्त हो ? विचार गरौं भन्नुभयो ।
नेकपा एमालको केन्द्रीय सदस्य समेत रहनु भएका घलेले एमालेले एक पटक शिक्षक कर्मचारीले आफ्ना पेशागत संघसंगठन बाहेक पार्टीको कुनै पनि तहको कमिटिमा नरहने भन्ने निर्णय गर्यो तर अन्य दलमा त्यस्तो नियम नभएका कारणले त्यो लागू गर्न कठिनाई भयो भन्दै कमसेकम यो पालिकाभित्र हामी त्यो निमय लागू गरौं भन्ने यहाँले सबै राजनीतिक दललाई अनुरोध गर्दै शिक्षकहरूलाई आफ्ना पेशागत संघसंगठनमा यस विषयको छलफल गर्न आग्रह गर्नु भयो ।
विद्यालय व्यवस्थापन समिति गठन गर्दा छोरा नाति, नातिना पढ्ने मात्र अभिभावक हुने नभई विद्यालयका जग्गा तथा ठूला चन्दादाता आदिलाई पनि राख्ने प्रवन्ध गर्न आवश्यक देखेको उहाँले औंल्याउनु भयो । त्यस्तै, शुक्रबारका दिन १ बजे छुट्टी दिनुको अर्थ शिक्षकहरूलाई छिटो घरमा जानको लागि होइन अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थीमा रहेको प्रतिभाको उजागर गर्ने वातावरण मिलाउने हो त्यसतर्फ सबै शिक्षकहरूको ध्यानाकर्षण गर्न चाहन्छु घलेले जोड दिदै भन्नुभयो ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले शैक्षिक महोत्सवको उद्देश्यमा प्रकाश पार्नु भएका थियो । उहाँले यहाँ प्राप्त हुने सुझाव तथा कार्यक्रमलाई योजनावद्ध रुपमा कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा अमर माविको व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर घलेले कार्यन्वयन गरिएन भने यो तामझामको अर्थ नाउने उल्लेख गर्नुभयो । गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडानं ७ का अध्यक्ष तिलबहादुर गुरुङले वडाध्यक्षहरूको तर्फबाट सुझाव मन्तव्य राख्नु भएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिकोतर्फबाट प्रभात शान्ति माविका अध्यक्ष पूर्ण घलेले अभिभावकका कार्यपत्र, शिक्षकहरूको तर्फबाट अमर माविका प्रधानाध्यक तीर्थ बस्नेतले कार्यपत्र र छात्रछात्राको तर्फबाट महेन्द्रदेव माविका छात्रा सजिना थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, राजनीतिकहरूको पनि पार्टीका प्रमुखहरूले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्ने कार्य भएको छ ।
सो अवसरमा विभिन्न जातजातिको भेषभुषा प्रदर्शन गर्नुका साथै विद्यार्थीहरूले कविता, गजल, दोहोरी गीत, भजन तथा विभिन्न नृत्य प्रदर्शन गरेका थिए । साथमा विद्यार्थीले तयार गरेका विज्ञान तथा कलाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष जुना थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ नाराका साथ सञ्चालन गरिएको उक्त महोत्सवको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन सो पालिकाको शिक्षा शाखाका प्रमुख राजीव सुवर्णकारले सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार महात्सवकोमा भोलिदेखि तीन दिन शिक्षक, अभिभावक र विद्यार्थीका लागि एक एक दिन उत्प्रेरणाका कार्यक्रम गरिने छ । उहाँले भन्नुभयो, ‘पछिल्ला तीन दिन विद्यार्थीहरूका प्रतीभा उजागर गर्ने मस्र्याङ्दी कपका कार्यक्रमहरू सञ्चालन गरी आउँदो माघ २ गते समापन गरिने छ ।’
प्रकाशित मिति २०७९ पुष २७, बुधबार ०७:३७ गते