काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पुस २८ गते आदेश दिएको हो ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले त्यस्तो आदेश दिएको हो । उनलाई विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
उनीउपर नाबालिगलाई बलात्कार गरेको आरोप थियो । सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।
इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार सन्दिप भोलि २० लाख बुझाएर छुट्नु हुन्छ, विदेश जानलाई सर्तहरू छन् ।
गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
प्रकाशित मिति २०७९ पुष २८, बिहीबार २०:२३ गते