सहकारी विवाद राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. ढाकाकुमार श्रेष्ठ समेत

सहकारी विवाद राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. ढाकाकुमार श्रेष्ठ समेत

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस ३० गते शनिवार ०८:१९

सहकारीहरूका सञ्चालकहरूले शेयर धनीहरूको रकम हिनामिना गर्ने, त्यसका आडमा मोजमस्ती गर्ने र संस्था नै चल्न नसक्ने अवस्थामा पुर्याउँदै कतिपय संस्था बन्दै गर्नु सामान्य जस्तै बन्दै आएको स्थिति छ

संस्थाको लेखा परीक्षण प्रतिवेदन नै नक्कली भएको आशंका

पोखरा– सहकारीहरूका सञ्चालकहरूले शेयर धनीहरूको रकम हिनामिना गर्ने, त्यसका आडमा मोजमस्ती गर्ने र संस्था नै चल्न नसक्ने अवस्थामा पुर्याउँदै कतिपय संस्था बन्दै गर्नु सामान्य जस्तै बन्दै आएको स्थिति छ । यसै सन्दर्भमा यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. ढाकाकुमार श्रेष्ठ संस्थापक अध्यक्ष रहेको साथी किसान कृषि सहकारी संस्था लि. पनि त्यस्तै विवादको घेरामा आएको पुस २९ गते खुलासा भएको हो ।
२०५९ सालमा सो सहकारी संस्था सञ्चालनमा आएको थियो । केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहनु भएका सो दलका सांसद श्रेष्ठ समेत एकाएक सो विवादमा मुछिनु भएको छ । त्यसपछि उहाँले पत्रकार सम्मेलन गरी आफू दोषि नभएको जिकिर गर्दै आफूलाई फसाउन खोजिएको दाबी गर्नु भएको छ । तथापि उहाँले पत्रकार सम्मेलनमा पनि सहकारीमा समस्या रहेको स्वीकार गर्नु भएको छ ।
सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो । सहकारीले बजारमा प्रवाह कर्जा पनि उठाउन सकेको छैन । आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी संस्था नै बिचमा बन्द पनि भएको थियो । उजुरकर्ताहरूको सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर छ ।
सहकारीले विशेषत किसानहरूसँग पोल्ट्रीको काम गर्ने गर्थ्यो । यो सहकारीका सेयरधनी पनि किसानहरू नै छन् । संस्थाले १० हजार, २५ हजारदेखि लाखौँ रुपैयाँसम्म १०५ जना सेयरधनीबाट उठाएको उहाँको स्वीकारोक्ति छ ।
चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाड्नु भएका सहकारीका संस्थापन अध्यक्ष श्रेष्ठमाथि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको छ । डा. श्रेष्ठको नाम सांसद हुनुअघिसम्म खासै सुनिदैनथ्यो । केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्नु भएका उहाँ निजी क्लिनिक पनि थियो । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने त्यसको गण्डकी प्रदेश सभापति बन्नुभयो । जिल्लामा संगठन बन्यो । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुग्नु भएको हो ।
उहाँले सांसद बन्नुअघि गत कार्तिकमा सहकारी छाड्नु भएको हो । डा. श्रेष्ठ आफैँले नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुपर्नेमा आफूलाई थाहा नभएर त्यो नगरेको बताउनु भएको छ ।
२०५९ सालमा स्थापित यो सहकारीले बचतकर्ताहरूको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर, रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको कोषाध्यक्ष तारापति सुवेदीले बताउनु हुन्छ ।
डा. श्रेष्ठले बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गर्नु भएको छ । आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताउनु हुन्छ । तर पत्रकार सम्मेलनमा नै सहकारीको वस्तुस्थितिका फरकफरक विषयमा उहाँकै अगाडि सार्वजनिक भए ।
सञ्चालक समितिमा रहेकाले नै तिरेनन् ऋण
उता सोही सहकारीको निवर्तमान प्रवन्धक विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको दावी छ । उहाँले २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपत्कालीन बैठक डाक्दासमेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा सिर्जिएको हो ।’
संस्थाको लेखा परीक्षण प्रतिवेदनमा समेत समस्या
संस्थाको अडिट रिपोर्ट समेत समस्या(नक्कली) छ । ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लागेको निवर्तमान प्रवन्धक बस्ताकोटीको भनाई छ । उहाँका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न मेरो कार्यकालमा बाँकी रहेको, संस्थाकै सेयर सदस्य र सञ्चालकहरूले लिएको ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन । उहाँले भन्नुभयो, ‘तर संस्थाको अडिटमा समेत समस्या छ । सहकारीबाट बिना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेस भएको छ ।’
संस्थाका वर्तमान अध्यक्ष डा. शनि पाठकले आफूहरू संस्थामा आउँदा माइन्युटमा प्रतिमहिना ५÷६ लाख रुपैयाँ नाफामा गएको देखाइएको बताउनु हुन्छ । डा. पाठकले भन्नुभयो, ‘अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?’
उता सांसद श्रेष्ठले भने नियोजित रूपमा आफूलाई बदनाम गर्न खोजिएको दावी गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नु हुन्छ, ‘मैले पार्टी र चुनावमा लाग्नु पूर्व नै राजीनामा दिएको संस्थाको विषयलाई नाटकीय ढंगबाट उठाएर नियोजित रूपमा मेरो नाम बदनाम गर्न खोजियो । खाएको विष पो लाग्छ । जबरजस्ती मेरो चरित्र हत्या गर्न केही मान्छेहरू लागेको प्रष्ट छ । होइन भने मैले राजीनामा दिए पछि सो संस्थामा के भयो कसो भयो सो को जिम्मेवारी र जवाफदेही म कसरी हुने ? जुन संस्था फाइदा घाटा के मा छ छैन त्यसको जिम्मेवार कसरी हुने ?’
सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर बुझाएको उहाँको दावी छ । उहाँले आफूलाई फसाउन खोज्नेहरूको अडिट रिपोर्ट पनि रहेको दाबी गरे पनि सार्वजनिक भने गर्नु भएन ।
पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले जारी विज्ञप्तिमा डा. श्रेष्ठले सबै कुरा नबिगारेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७९ पुष ३०, शनिबार ०८:१९ गते
हजुरको प्रतिक्रिया