
पोखरा– काठमाडौंबाट पोखराका लागि उडेको (एनएएनसी) एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । माघ १ गते विहान यहाँ भएको दुर्घटनामा कास्की प्रशासनले त्यस्तो जानकारी दिएको हो । तर स्वास्थ्य अवस्था अज्ञात रहेको छ ।
‘उद्धारलगत्तै अस्पताल पठाएका छौँ । पहिचान खुल्न बाँकी छ । स्वास्थ्य स्थितिबारे यसै भन्न सकिने अवस्था छैन ।’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भन्नुभयो । उहाँका अनुसार तीनजनाको जीवितै उद्धार गरिएको हो ।
जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उहाँले जानकारी दिनुभयो । हालसम्म घटनास्थलबाट ३६ जनाको शव संकलन गरिएको छ ।
यसैबीच, यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यति एयर प्रािलको एनवाईटी– ६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार ‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ ।’
विमान ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । यसैगरी, विमानमा रहेका ४ जना चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । चालक दलको अवस्था अज्ञात छ ।
यती एयरको दुर्घटनाको दुर्घटनाग्रस्त जहाज नै नदेखि अन्दाजका भरमा केही टिकाटिप्पणी नगर्न कास्की प्रशासनले अनुरोध गरेको छ ।
उता प्रत्यक्षदर्शीले जहाज घरमाथि नै खस्छ कि झैँ गरेर आएको बताएका छन् । जहाज खस्ला कि झैँ गरेर आएको देखेको पोखरा महानगरपालिका १५ का विष्णुप्रसाद तिवारीले बताउनु भयो । उहाँका अनुसार रंगशालाको गेटमाथिबाट जहाज दुर्घटनामा पर्दैछ कि भन्ने तरिकाको देखिएको थियो,’ तर हामी भाग्दै आयौँ । घरमाथि खस्छ कि जस्तै गरेर जहाज आएको देखेका थियौँ ।
यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका– १७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट निकालिएका शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले जानकारी दिनुभयो । जोशीले भन्नुभयो– ‘घाइतेहरूको उपचारका लागि काठमाडौंमा एयर एम्बुलेन्स र अस्पतालसँग समन्वय गरेका छौं ।’ उद्धारमा नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी खटिएका छन् ।
जहाज दुर्घटना भएको खबर प्राप्त भएपछि विमानस्थललाई हाल बन्द गरिएको छ ।
प्रकाशित मिति २०७९ माघ १, आईतवार १४:१३ गते