
पोखरा– यहाँ आज विहान भएको यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । मृतकका परिवार तथा आफन्तको सहयोगमा माघ १ गते साँझ सनाखत गरिएको हो ।
सनाखत हुनेहरूमा पोखरा– १७ का निशान्त आचार्य, सोही वडाकी २३ वर्षीया संगीता शाही, पोखरा– ४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, सोही वडाका ३६ वर्षीय डा. सोना दिवाकर छन् । पोखरा– १३ का सदाकत अलिमिया, पोखरा– १९ की लक्ष्मी पौडेल, पोखरा– २६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ ।
त्यस्तै, सनाखत भएका अन्यमा पर्वतको कुश्मा– १ का १० महिनाका रियान पौडेल, कुश्मा– ९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा– ९ का अरूण पौडेलको पनि सनाखत भएको छ ।
यसैगरी एकजना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा पत्रकार त्रिभुवन पौडेल र लोकगायिका नीरा छन्त्यालको समेत निधन भएको बताइएको छ ।
तीनजनाको शव अझै भेटिएन, खोजी गर्न गोताखोर परिचालन
पोखरा विमान दुर्घटनामा भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जना भेटिएका छन् । चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा अझै तीनजना भेटिन सकेका छैनन् ।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिनु भयो ।
पहिचान भएका शव भोलि परिवारलाई बुझाइने, बाँकी काठमाडौं लगिने
पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज पोखरामै राखिने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शवहरू पोखरा विज्ञान प्रतिष्ठान राखिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताउनु भयो । उहाँका अनुसार पहिचान नभएका शवहरू डीएनए परीक्षणका लागि भोलि काठमाडौं पठाइने छ । उहाँले भन्नुभयो, ‘पहिचान भएकाहरूको शव भोलि नै परिवारलाई बुझाउने निर्णय गरेको छ ।’
जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन
पोखरामा आज भएको जहाज दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएको छ । पत्रकार पौडेल २०७७ फागुन ५ गते सम्पन्न पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुनुुहुन्थ्यो ।
२०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहनु भएका पौडेलसँग त्यसअघि महासंघ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेको अनुभव थियो ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक/सम्पादक समेत हुनुहुन्थ्यो ।
काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको हो ।
बाबुछोरीकै विमान दुर्घटनामा मृत्यु
पोखरामा भएका विमान दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै परेका छन् । दुर्घटनामा कुश्मा नगरपालिका– ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको हो ।
काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रशिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । ‘छोरीको स्कूल बिदा पनि भएकाले दाजुभाइ भेटौं भनेर जन्मघर आउन लाग्नु भएको रहेछ’, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भन्नुभयो, ‘उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’
केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रशिद्धिको शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
मृतक पौडेल ९ वर्ष कोरियामा बसेर देशमै केही गर्ने सोचका साथ फर्कनु भएको हो । कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आउनु भएको थियो । कोरियाबाट फर्किपछि समाज सेवामा लाग्नु भएका उहाँ गत मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार समेत हुनुहुन्थ्यो ।
लोकगायिका नीरा छन्त्यालको पनि निधन
पोखराको यती एयरको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको समेत निधन भएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गर्नु भएको हो । उहाँका अनुसार विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेका छन् ।
नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् । पोखरा उड्नु अघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना समेत पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।
‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर उसको फोन अब कहिल्यै आउने छैन,’ बागलुङ घरमा रहनु भएकी हीराले सुनाउनु भयो ।
नेपाल छन्त्याल युवा संघले पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम रोकिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७९ माघ १, आईतवार १९:११ गते