
लमजुङ– लमजुङमा लोपोन्मुख बाघचाल प्रतियोगिता यो वर्ष पनि हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सो प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको हो ।
यही माघ १९, २० र २१ गतेका दिनमा उक्त प्रतियोगिता तीन दिनसम्म लमजुङको सिउँडीबारमा सञ्चालन हुने भएको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालले जनाएको छ । आफ्नो स्थापना दिवसका अवसरमा विगतका तीन वर्षदेखि सञ्चालन गर्दै आएको बाघचाल तथा ठाडोभाकाको खुल्ला प्रतियोगिता यो वर्ष पनि निरन्तरता दिन लागेको प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानले पाँचौ स्थापना दिवस(दोर्दी गाउँपालिका– ६ कीर्तिपुरबेसी)देखि बाघचाल प्रतियोगिता सञ्चालन गर्न थालेको हो । उहाँले भन्नुभयो, ‘यो वर्ष सुन्दरबजार नगरपालिका– ८ को समुताँ तमु समाजको भवन हातामा सो प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
बाघचाल खुल्ला प्रतियोगिताको यो वर्ष तेस्रो श्रृंखला हुन लागेको हो । सो प्रतियोगितामा यो वर्ष पुरस्कार बृद्धि गरिएको छ । यस वर्ष पहिलो पुस्कार १० हजार रुपैया रहेको छ । गत वर्ष सो पुरस्कार राशि सात हजार मात्र थियो । त्यस्तै, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ७ हजार र ५ हजार रुपैयाँ रहेको छ । यसैगरी, २५ सय रुपैयाँका दरले दुई जनालाई सान्त्वना पुरस्कार र प्रमाणपत्र दिइने भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य एवम् सो खेलका संयोजक रमाराज खनियाले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कार राशिमा गत वर्षको तुलनामा पहिलोलाई तीन हजार रुपैयाँ र दोस्रो तथा सान्त्वनाका लागि २/२ हजार रुपैयाँ थप गरिएको हो ।
यसैगरी, सो अवसरमा सञ्चालन हुने ठाडोभाका खुल्ला प्रतियोगितातर्फ पहिलो पुरस्कार प्रति टिम ४० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसअघिका प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेलाई प्रतियोगितामा भाग लिन नदिने नीति रहेको आयोजकको भनाई छ ।
सो प्रतियोगितामा भाग लिन आउने ठाडोभाकाका सहभागी टिमलाई गीत पाएपछि तीन हजार रुपैयाँ बाटो खर्च विगत वर्षझै दिइने भएको प्रतियष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।
‘लोक संस्कृतिको उत्थान– हाम्रो अभियान’ मूलनारा तथा ‘ठाडोभाका लमजुङको पहिचान र गौरव’ सहायक नाराका साथ प्रतिष्ठानले अभियान सञ्चालन गर्दै आएको छ ।
यस वर्षको प्रतियोगितामा सुन्दरबजार नगरपालिका प्रवद्र्धक रहेको छ भने प्रायोजक खोज्ने काम शुरु गरिएको छ । त्यसैगरी, कार्यक्रम स्थलमा प्रायोजित व्यानरहरू समेत राख्ने तयारी गरिएको आयोजकको भनाई छ ।
प्रकाशित मिति २०७९ माघ २, सोमबार ०६:५५ गते