
पोखरा– पोखरामा भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ३८ जनाको शव पहिचान भएको माघ २ गते दिउँसो २ बजे जनाएको हो ।
उक्त जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए । सो जहाज हिजो १ गते दुर्घनाग्रस्त भएको हो ।
दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
सो दुर्घटनामा परी मृत्यु हुनेमा हालसम्म पहिचन भएका ३८ जनाको सूचि :
१) निशान्त आचार्य, २) संगीता शाही, ३) डाक्टर सुशील श्रेष्ठ, ४) डाक्टर सोना दिवाकर ५) रियान पौडेल, ६) सदागत अलि मिया, ७) लक्ष्मी पौडेल, ८) प्रशिद्धि पौडेल, ९) अरूण पौडेल, १०) पूर्णकुमार गुरूङ, ११) युकोन्जो (कोरियन नागरिक) १२) विजयकुमार गुरूङ, १३) रचना काफ्ले पौडेल, १४) रकि गुरूङ, १५) डा.गणेश थापा, १६) लक्ष्मी परियार, १७) रिता परियार, १८) हरि परियार, १९) एस्मिल गुरूङ, २०) पूजन थापा, २१) सिर्जना होङचेन (एयरहोस्टेस), २२) त्रिभुवन पौडेल (पत्रकार महासंघका केन्द्रीय सदस्य) छन् ।
यसैगरी, पहिचान भएका अन्य शवमा २३) मोहनप्रकाश श्रेष्ठ, २४) जुरिस लेजिन (रसियन नागरिक), २५) एलिना (रसियन नागरिक), २६) जीवनकला गुरूङ, २७) जमुना शर्मा, २८) शालिकराम आचार्य, २९) डा सुशील र डा सोनाको छोरा ३०) बन्दना सुनार, ३१) सीता गुरूङ, ३२) निरा छन्त्याल(लोक गायिका), ३३) अनुषा गुरूङ, ३४) शिवकुमार गुरूङ, ३५) राजुसिंह ठकुरी, ३६) अनिल शाही (त्रपकार), ३७) पास्कल एलेक्स मण्डल (फ्रान्स) र ३८) कमल केसी (जहाजका क्याप्टेन) रहेको छन् ।
एकै परिवारका चारको मृत्यु
यसैबीच, पोखरामा यति एयरको विमान दुर्घटनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएको जानकारीमा आएको छ । एकै घरमा ज्यान गुमाउनेहरूमा पर्वतका ६३ वर्षीया जमुना शर्मा, उहाँका छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भएको छ । पर्वतको विहादी गाउँपालिका– ५ की जमुना शर्मा यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी– ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नाति नातीनीलाई लिएर उनी घर फर्किंदै हुनुहुन्थ्यो । उहाँ तीन महिना अघि छोरा बुहारी, नाति नातीनालाई भेट्न काठमाडौं जानु भएको थियो ।
युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको हुनुहुन्थ्योे । युवराजकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताउनु भयो । उहाँका अनुसार एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाउनु परेको खबरपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ । एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकाकुल बन्न पुगेको छ । उपाध्यक्ष तिवारीले भन्नुभयो, ‘अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको छ ।’
पाइलट केसीको शव पहिचान आफन्तबाट
दुर्घटनामा परेको जहाजका पाइलट कमल केसीको सनाखत आफन्तजनबाट भएको छ । आफन्तले केसीको शव पहिचान गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ शव पहिचान गर्न आए पोखरा
सो विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा आएका छन् । फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएको जिल्ला प्रशासन कार्यालय कास्कीले पुष्टि गरेको छ ।
तीन जनाको शव पहिचानमा कठिनाई :
दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताउनु भयो । उहाँका अनुसार तीन शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्था छ । धेरै जलेका कारणले गर्दा उनीहरूको शव पहिचान गर्न समस्या भएको एसपी केसीको भनाई छ । उहाँले भन्नुभयो, ‘हालसम्म ४२ जना मृतकको सनाखत गरिएको छ ।’
संकलन गरिएका ३९ शव पुरुषको र २५ शव महिलाको भएको पहिचान हुन आएको छ ।
पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गरियो
विहानदेखि थालिएको पोष्टमार्टमको पहिलो चरणमा १४ वटा शवको पोस्टमार्टम गरिएको हो । उक्त विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ पठाइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखरा र आसपासका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ । काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिने तय भएको छ ।
दुर्घटना ग्रस्त विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरको टोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ । हालसम्म दुर्घटनास्थलबाट ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा पुर्याइएको छ ।
खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताउनु भयो ।
प्रकाशित मिति २०७९ माघ २, सोमबार १५:३३ गते