पोखरा– पत्रकार त्रिभुवन पौडेललाई श्रद्धाञ्जली अर्पण गर्न मानव सागर उर्लिएको छ । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ कास्की तथा प्रदेशको प्रांगणमा माघ ३ गते राखिएको छ ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरू महासंघमा भेला भएका हुन् । श्रद्धाञ्जली सभामा मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र शुभचिन्तक भेला भएका छन् ।
पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल प्रेस सेन्टरको बैठकको तयारीमा जुट्नु भएको थियो । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना पर्नु भएको हो ।
महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका उहाँको श्रद्धाञ्जली पश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिने भएको छ ।
उहाँले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर अनुभव हासिल गर्नु भएको थियो । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।
पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ भने पोखरा शोकमा डुबेको छ ।
त्रिभुवनको साथमा सोही घट्नामा परेका अर्का पत्रकार अनिल शाहीको शव पनि राखिएको छ ।
१३ दिनसम्म शोक :
यसैबीच, नेपाल पत्रकार महासंघले पौडेलको निधनमा १३ दिनसम्म शोक मनाउने भएको छ । महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा माघ १ गते बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको हो ।
काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा पौडेल दुर्घटनामा पर्नु भएको हो । पत्रकार महासंघकेन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति २०७९ माघ ३, मंगलवार १२:३१ गते