मन्त्री परिषद २१ दिनपछि विस्तार, अझै पाएन पूर्णता, २ मन्त्रालयहरू खाली, को को भए मन्त्री ?

मन्त्री परिषद २१ दिनपछि विस्तार, अझै पाएन पूर्णता, २ मन्त्रालयहरू खाली, को को भए मन्त्री ?

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ३ गते मङ्गलबार ०५:५९

जसपा र जनमत पार्टी पार्टीको असन्तुष्टी सतहमा देखिएको छ । जसपाले मन्त्री पद स्वीकार नै गरेको छैन भने जनमत पार्टीले पद स्वीकार गरेर पनि बहाली गरेको छैन । आज पनि २ मन्त्रालयहरू खाली नै छन् । युवा तथा खेलकुद र वन मन्त्रालयले नेतृत्व पाउन नसकेको हो । ती मन्त्रालय फेरि पनि प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ ।

मन्त्रीको वरीयता र कार्यविभाजन

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्री परिषद विस्तार भएको छ । चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनाउँदा पनि माघ ३ गते पनि सरकारले पूर्णता पाउन सकेन ।
आज पुनगर्ठित मन्त्रीपरिषदमा फेरि एकजना उपप्रधानमन्त्री थप भएका छन् । बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नु भएको हो । चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिनु भएको थियो । आज लिङ्देनले सपथ लिनु भएको हो ।
नारायणकाजी श्रेष्ठको गुनासो सुनिएन
वरियता नमिलेको गुनासो गर्नु भएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गुनासो यस पटक पनि सम्बोधन भएन । उहाँ जहाँको तही हुनुहुन्छ ।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका बिष्णु पौडेल दोस्रो स्थानमा तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमै रहनु भएको छ ।
गृहमन्त्री रवि लामिछानेको पनि चौथो वरीयता कायमै छ भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी लिनु भएका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा रहनु भएको छ । उहाँले रबिभन्दा पनि पछि बस्न मञ्जुर गरेपछि भने पदका लागि लालायित रहेको आंकलन पनि गरिएको छ । त्यसो त उहाँ पनि पहिलो पटक सिधै उपप्रधानमन्त्री हुनुभएको हो । मंत्रीहरूको वरियता पार्टीको साइज अनुसारको हो भन्ने आंकलन छ ।
प्रतिनिधि सभामा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन् भने लिङ्देन नेतृत्वको राप्रपाका १४ सांसद छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यी दुबै दलले १/१ उपप्रधानमन्त्री, ३/३ मन्त्री र १/१ राज्यमन्त्री पाएका छन् ।
यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा रहनु भएको छ । राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा रहेको देखिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।
अझै दुुई मन्त्रालय खाली
गत पुस १० मा प्रधानमन्त्री नियुक्त हु्नु भएका प्रचण्डले पुस ११ मा ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री बनाउनु भएको थियो । त्यस समयमा सबैलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिएनन्, १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आउनु भएको अवस्था थियो ।
आज मन्त्रिपरिषद विस्तार गर्दा पनि २ मन्त्रालयहरू खाली नै छन् । युवा तथा खेलकुद र वन मन्त्रालयले नेतृत्व पाउन नसकेको हो । ती मन्त्रालय फेरि पनि प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ ।

जनता समाजवादी पार्टी र जनमत पार्टी असन्तुष्ट 
जनमत पार्टीले सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्रीसँगै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले मन्त्रीमा शपथ लिनु भएको हो । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भनेर सार्वजनिक गरिसकेको जनमत पार्टीका अब्दुल खानको जिम्मेवारी खानेपानी मन्त्रालय तोकियो । मन्त्री खान पदभार सम्हाल्न मन्त्रालय जानु भएन ।
पार्टीको निर्णय नहुँदासम्म मन्त्रालयको जिम्मेवारी अस्वीकार गरिएको प्रवक्ता हरेन्द चौधरीले बताउनु भयो । उहाँले सहमतिको पालना नभएका आधारमा जनमत सरकारमा नजान पनि सक्ने संकेत गर्नु भएको छ ।
सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन यी दुई मन्त्रालय राखिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
तर बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको हिजो बसेको बैठकमा मन्त्रालय भागबन्डाबारे जसपालाई आफ्नो धारणासम्म राख्न नदिएको भन्दै अध्यक्ष यादवले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
आफ्नो पार्टी सरकारमा जाने वा नजाने टुंगो नलागेको उहाँको प्रतिक्रिया छ । जसपाबाट प्रतिनिधि सभामा १२ जना सांसद छन् । जसपाले उपराष्ट्रपति समेत दाबी गरेको छ । तर उपराष्ट्रपतिमा माओवादीको पनि दाबी रहदै आएको छ ।

प्रकाशित मिति २०७९ माघ ३, मंगलवार १७:५९ गते
हजुरको प्रतिक्रिया