
सुन्दरबजार(लमजुङ)– मातृभूमि बहुमुखी क्याम्पसको २४ औं बार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी खेलकुद शुरु गरिएको छ । माघ २ गतेबाट शुरु भएको खेल प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
सुन्दरबजार नगरपालिका– ७ को बरेटारमा रहेको उक्त क्याम्पसको २४ औं बार्षिकोत्सवका उपलक्ष्यमा विशेष आकर्षणका रुपमा खेलकुद खेलाइन लागेको हो । क्याम्पसको आन्तरिक खेलकुदतर्फ भलिबल, व्याडमिन्टन र सटपट सञ्चालन गरिने भएको हो । अन्तरिक खेल २ गतेदेखि ६ गतेसम्म र उक्त नगरपालिकास्तरीय अन्तर मावि भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको सो क्याम्पसका प्रमुख रामलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बार्षिकोत्सवको मुख्य दिन माघ १२ गते हो ।
अन्तरिक खेलकुदमा भलिवल प्रतियोगिता, व्याडमिन्टन र सटपट प्रतियोगिता छात्र र छात्राको छुट्टा छुट्टै गरिने भएको उक्त क्याम्पसका खेल संयोजक उपप्राध्यापक रामशरण ढुंगानाले बताउनु भयो । उहाँका अनुसार अन्तरिक खेलका विजेताहरूलाई मेडल र प्रमाणपत्र दिइने छ ।
उक्त अवसरमा सञ्चालन गरिने नगरपालिकास्तरीय कक्षा– ९– १२ को अन्तर मावि भलिबल प्रतियोगिता(छात्र)का लागि पहिलो हुने टिमलाई १२ हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै दोस्रो हुने टिमलाई सात हजार नगद, मेडल र प्रमाण पत्रको प्रवन्ध रहेको सो क्याम्पसको सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ठ खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
क्याम्पसको आन्तरिक खेलतर्फ भलिबलमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका १/१ टिम छात्र र छात्राको तर्फबाट भाग लिइरहेको सो क्याम्पसका उपप्राध्यापक नवराज केसीले बताउनु भयो । उहाँका अनुसार व्याडमिन्टनतर्फ छात्र र छात्राको १५/१५ टिमले भाग लिइरहेका छन् । सटपट भने खुल्ला भएको हुँदा इच्छुक सबैले भाग लिनसक्ने गरिएको उहाँको भनाई छ ।
प्रकाशित मिति २०७९ माघ ४, बुधबार १४:२३ गते