जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर कुटिए

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर कुटिए

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ४ गते बुधबार ०७:५१

मुखियाले भन्नुभयो, ‘विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’

शिशु १८ दिनकी, हाल गोल्डेन अस्पतालमाको एनआईसीयूमा उपचार हुँदै

विराटनगर– कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर कुटिएका छन् । गत पुस १७ गते जन्मिएकी उमा र दिलिप मुखिया दम्पतीकी १८ दिनकी शिशु(छोरी)लाई माघ ४ गते मृत घोषणा गरिएको हो । त्यस्तो घोषणा गर्ने डा. आकाश यादव हुन् ।
नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ । मुखिया दम्पती मोरङको जहदा गाउँपालिका– ३ भात्तिगन्जका स्थायी बासिन्दा हुन् । उनीहरूकी नवजात शिशुलाई हाइपोथर्मिया भएको बताइएको छ ।
चिकित्सकमाथि आक्रमण गरेको भन्दै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताउनु भयो । उहाँका अनुसार कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।
मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताउनु भयो । उहाँका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।
घट्ना विवरणः
शिशुको स्वासप्रश्वासमा आज अचानक समस्या देखियो । त्यसपछि दिलिप मुखिया दम्पतीले माघ ४ गते बिहान ८ः०० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर पुगे । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारीले बच्चाको उपचार शुरु गरे ।
उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म थियो । अकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । चेकजाँच पछि डा. आकाश यादवले भने, ‘छोरीको सास छैन । घर लैजानु ।’
डाक्टरले यति भनेको खबर सुनेपछि शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गर्न थाले । ‘मैले श्रीमतीलाई समात्न थाले । त्यही बीचचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरले मृत भनिएको रहेछ । दिलिपले भन्नुभयो, ‘विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’
त्यसपछि दिलिपकी छोरीलाई कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको’ दिलिपले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनु भएको छ ।’
उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिनु भएको हो । नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो । विराटनगर– ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्न थाल्नु भयो । उहाँका श्रीमान दिलिप मुखिया एम्बुलेन्स चालक कोशी हस्पिटल बाहिर बस्नु हुन्छ ।
यसबारेमा कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझ्ने काम भइरहेको बताउनु भयो । उहाँका अनुसार नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । उहाँले भन्नुभयो, ‘त्यस विषयमा बुझ्ने काम भइरहेको छ, यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’
पत्रकारमाथि दुर्व्यवहार
यसैबीच, सो घटनाबारेमा अस्पतालको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कोसी अस्पतालका मेसु लक्ष्मीनारायण यादवले हातपात गरेका छन् । लाइभ रफ्तार अनलाएनका पत्रकार सोनुकुमार दासलाई यादवले धकेल्दै आफ्नो कार्यकक्ष बाहिर निकालेको दासको भनाई छ ।
दासले भन्नुभयो, ‘मैले घटनाबारे प्रश्न सोध्दै क्यामेरा निकालेटछि धकेल्दै बाहिर निकाल्नुभयो ।’ उक्त घटनाबारे नेपाल पत्रकार महासंघले बुझ्न शुरु गरेको महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले जानकारी दिनुभएको छ ।

– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति २०७९ माघ ४, बुधबार १९:५१ गते
हजुरको प्रतिक्रिया