
लमजुङ– तत्कालीन शहरी विकास मन्त्री मेटमणि चौधरी लमजुङको ऐतिहासिक थलो दुराडाँडामा आएर गर्नुृ भएको प्रतिवद्धता पुरा गर्नु भएको छ । उहाँले संविधान दिवस– २०७९ को पावन अवसरमा अर्को एक ऐतिहासिक कार्यको थालनी गर्दै असोज ३ गते दुराडाँडा क्षेत्रको सडक कालोपत्रे गर्न शिलान्यास गर्दा घोषणा गर्नु भएको वचन पुरा गरेको जानकारी माघ ४ गते प्राप्त भएको छ ।
चौधरीले सत्रसय– अर्चल्यानी– दुराडाँडा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको १८ किमि दुरीको सडक कालोपत्रे गर्न शिलान्यास गर्दै उक्त कार्य बहुवर्षीय योजनाका साथ सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो, सो अनुसार काम हुने भएको छ । शहरी विकास मन्त्रालयबाट यही माघ ४ गते त्यस्तो प्रतिवद्धता पुरा गरेको एक पत्रको प्रतिलिपी अन्तरङ्ग न्यूज डटकमलाई प्राप्त भएको छ । सो पत्रमा नेपाल सरकार(सचिवस्तर)को निर्णय अनुसार उक्त सडक क्रमागत रुपमा निर्माण सम्पन्न गरिने भएको हो ।
उक्त निर्णय अनुसार सो सडकको १८ किमी दुरीमा कालोपत्रेको काम आउँदो आव २०८०/८१ मा पुरा गरिने भएको छ । उक्त कार्यका लागि कुल वजेट करिव ५५ कराेड रुपैया लाग्ने अनुमान गरिएको छ । सो प्रयोजनका लागि उक्त पत्र अनुसार चालु आवमा ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँकी दुई करोड ९१ लाख रुपैयाँ आउँदो आवमा छुट्याईने उल्लेख छ । त्यसपछि क्रमशः रकम थप गरी २०८३ सालमा पुरा गरिने छ ।
ध्वाँखोला– बानिया धारा– बसौला गाउँ सडकका लागि पनि बजेट विनियोजन
यसैगरी, बेसीशहर नगरपालिका– ३ को ध्वाँखोला– बानिया धारा– बसौला गाउँ सडकका लागि पनि दुराडाँडा सरहकै बजेट विनियोजन गरिएको उक्त पत्रमा उल्लेख छ ।
दुराडाँडाको कालोपत्रे शिलान्यास समारोहमा सरिक हुन आउनु भएका निवर्तमान मन्त्री चौधरीले दुराडाँडा ऐतिहसिक थलोमा पहिलो पटक पाइला टेक्न पाउँदा निकै खुशी लागेको, दुराडाँडा आफूले सुनेको भन्दा पनि धेरै उच्चकोटीको रहेको आफूले पाएको बताउनु भएको थियो । सो क्रममा उहाँले आज थालिएको काम पुरा गर्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । प्रायः नेताहरूका बचत पुग्दैनन् तर चौधरीले आफ्नो प्रतिवद्धता पुरा गर्नु भएकोमा दुराडाँडाबासीले विशेष वधाई दिएका छन् ।
उक्त कार्य नेकपा(एकीकृत समाजवादी)का लमजुङ जिल्ला अध्यक्ष रामबाबु अधिकारीको पहलमा सम्भव भएको हो ।
प्रकाशित मिति २०७९ माघ ५, बिहीबार ०५:०६ गते