
बेसीशहर– बेसीशहर नगरपालिका– ७ को शान्तिटोलमा रहेको किड जोन मन्टेश्वरी विद्यालयको दशौँ वार्षिकोत्सवको अवसरमा अभिभावकहरूका बीच सञ्चालित मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । माघ ७ गते सञ्चालन गरिएको प्रतियोगितामा ल्याण्डस्टार बोर्डिङ स्कूलको अभिभावक समूह विजयी भएको छ ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा किडजोन अभिभावक समूहलाई ०– २ गोलले हराउदै ल्याण्ड स्टार अभिभावक समूह विजयी भएको हो ।
विजेता समूहलाई मेडल, प्रमाणपत्र र खसी पुरस्कार प्रदान गरिएको किट जोन मन्टेश्वरीका प्रिन्सिपल सरोज रेग्मीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा बेसीशहरको सहजी खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा किडजोन र मातृविद्यालय ल्याण्डस्टारका अभिभावक, शिक्षक गरी ४ टिमले भाग लिएका थिए । उहाँले भन्नुभयो, ‘प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरूलाई किड जोनका प्रिन्सिपल, व्यवस्थापन समिति अध्यक्ष रामबावु पौडेल, ल्याण्डस्टार स्कुलका प्रिन्सिपल ईश्वर पौडेल र व्यवस्थापन समिति अध्यक्ष राम थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।’
वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थीहरू वीच विविध खेलकुद प्रतियोगितासँगै अभिभावकहरूको मैत्रीपूर्ण खेल आयोजना गरेको रेग्मीले जानकारी दिनुभएको छ ।
विद्यालयको वार्षिकोत्सव समारोह यही माघ १२ गते श्रीपञ्चमीका दिन शुभकामना आदानप्रदानका साथ अभिभावकको एकल नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रमका साथ पुरस्कार वितरण लगायतका कार्यक्रम हुने विद्यायल प्रशासनले जनाएको छ ।
यसैबीच, विद्यालयद्वारा वार्षिकोत्सव तथा सरस्वती पूजाको पावन अवसरमा उक्त दिन १२ गतेदेखि माघ मसान्तसम्म प्ले ग्रुपदेखि कक्षा– १ सम्म अक्षराम्भ सहित निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति २०७९ माघ ८, आईतवार ०६:१५ गते