राष्ट्रिय स्वतन्त्र पार्टी : देशभर संगठन विस्तारमा

राष्ट्रिय स्वतन्त्र पार्टी : देशभर संगठन विस्तारमा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०२:१७

आउँदो चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन गरिने जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने रणनीति तय गरिएको छ ।

यही माघ मित्र प्रदेशस्तरका भेला

काठमाडौँ– पूर्वपत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । सो पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय माघ ८ गते गरेको हो ।
बैठकले यही माघ मसान्तभित्र प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार आउँदो चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन गरिने जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने रणनीति तय गरिएको छ ।
घोषित कार्यक्रम अनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने कार्यक्रम छ । त्यस्तै, माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । बागमतीस्तरको भेला मकवानपुरमा माघ १८ गते, माघ २१ गते गण्डकीको भेला पोखरामा हुने भएको छ । त्यस्तै, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
बलियो संगठनात्मक आधार बिनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो । प्रदेशतर्फको निर्वाचनमा सो पार्टीले भाग लिएको थिएन ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार १४:१७ गते
हजुरको प्रतिक्रिया