काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलका नेताहरूलाई जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गर्नु भएको छ । गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी गर्दै उहाँले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई थिलोथिलो बनाएको संसदमा सम्बोधनका क्रममा उहाँले माघ १० गते बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ । तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस् । राज्यका सबै मान्छे हाम्रा मान्छे हुन् । तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ ।’
गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी गर्दै गृहमन्त्री रविले संसदको बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव समेत दिनु भएको छ ।
‘संसदमा सांसदको उपस्थिति उत्साहजनक देखिएको छैन, नयाँ आशा र उमंग बोकेर संसदमा आएका हामीलाई निरास नबनाओस् । बहसलाई विषय केन्द्रित नबनाए सांसदहरूलाई सुन्न जनतामा उत्साह जाग्ने छैन,’ उहाँले चुनौतीपूर्ण शैलीमा भन्नुभयो ।
गृहमन्त्री रबिले पछिल्लो समय हत्या आरोपी एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ ।
रास्वपाले तोक्यो सांसदको २५ हजार र मन्त्रीको ३० हजार लेबी
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूको लेवी तोक्ने काम गरेको छ । मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको हो ।
पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरूसँग लेबी उठाउने निर्णय माघ ८ गते गरेको हो ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरू डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा हुनुहुन्छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । त्यस्तै, एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । ती दुवै दलले यसपल्ट लेबी शुल्क तोक्न बाँकी नै छ ।
माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यो वर्ष पनि सोही दर कायम हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसदलाई मासिक १५ हजार रुपैयाँ लेबी उठाउने गरिआएको छ ।
जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँदै आएको हो । नयाँ सांसदकाबारे छिट्टै निर्णय गर्ने सो पार्टीका प्रवक्ता मनिष सुमन बताउनु हुन्छ ।
त्यस्तै, एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाने गरेकोछ ।
संसदमा नयाँ प्रवेश पाएको सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरी नसकेको जानकारीमा आएको छ ।
कति हुन्छ सांसदको मासिक सुविधा ?
प्रतिनिधिसभा सदस्यको वर्तमान सुविधा रकम मासिक तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा एक लाख रुपैयाँ भन्दा बढी पाउने गरिआएका छन् ।
जनप्रतिनिधिका लागि तोकिएको लेवी रकममा रास्वपाको सबैभन्दा बढी भएको बताइएको छ ।
प्रकाशित मिति २०७९ माघ १०, मंगलवार २०:३६ गते