बेसीशहर– लमजुङबाट रहेक वर्ष वितरण गरिने ठाडोभाका– टीकाकुमारी सम्मान यो वर्ष लोकदोहोरीका वादशाह राजु परियारलाई प्रदान गरिने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आफ्नो स्थापना दिवसका अवसरमा उक्त सम्मान वितरण गर्दै आएको छ ।
उक्त सम्मानको पुरस्कार राशि नगद १० हजार ५ रुपैयाँ, सम्मान पत्र र दोसल्ला रहेको छ । सो पुरस्कारका संस्थापक नरेन्द्रराज ढुंगानाको संयोजकत्वको पुरस्कार छनौट समितिले माघ १० गते सो निर्णय गरेको हो । तीन सदस्यीय पुरस्कार छनौट समितिमा उक्त प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी सदस्य रहनु भएको छ ।
उक्त पुरस्कार प्रतिष्ठानको सातौं स्थापना दिवसका अवसरमा यही माघ १९ गते सिउँडीबारमा आयोजना हुने दिन दिवसीय कार्यक्रमको उदघाटन कार्यक्रममा वितरण गरिने तयारी रहेको प्रतिष्ठानले जनाएको छ ।
उक्त पुरस्कार प्राप्त गर्नु हुनेमा लोकदोहोरीका वादशाह राजु परियार चौथो व्यक्तित्व हुनुहुन्छ । २०७६ सालमा प्रतिष्ठानको दोस्रो अधिवेशनदेखि उक्त पुरस्कार वितरण गर्न थालिएको हो । सो पुरस्कारबाट पहिलो वर्ष ठाडोभाका सम्राज्ञी नन्दमाया दुरा, दोस्रो वर्ष लोकसंस्कृतिकर्मी एवम् इन्द्रणी कार्याक्रमका सञ्चालक कृष्ण कँडेल, तेस्रो वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई प्रदान गरिएको उक्त प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो ।
उहाँका अनुसार सो पुरस्कार ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले प्रतिष्ठानले सञ्चालन गर्ने गरी स्थापना गर्नु भएको हो । पहाडीले भन्नुभयो, ‘ढुंगानाले पुरस्कारको स्थायित्वका लागि यसअघि ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएकोमा यो वर्ष ५१ हजार थप गर्नु भई एक लाख एक हजार ५५५ रुपैयाँ कोषमा गरी दिनुभएको छ ।’
यसैबीच, आफूहरूले लोकसंस्कृति साहित्यका क्षेत्रमा गरेका विविध कार्यले भौतिक निर्माणलाई मात्र विकास ठान्ने यो देशका जनप्रतिनिधिहरूको कार्यशैलीलाई कुरीकुरी गरिरहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भएको छ ।
प्रकाशित मिति २०७९ माघ ११, बुधबार ०६:२८ गते