बेसीशहर । बेसीशहर नगरपालिकाले चालु बर्षको ६ महिनामा कूल बजेटको २० प्रतिशत भन्दा बढी खर्च गरेको छ । सोही नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उदघाटन गर्नु भएको सो नगरपालिकाको १२ औं नगरसभामा माघ १३ गते त्यस्तो जानकारी दिइएको हो ।
चालु आर्थिक बर्ष २०७९÷८० का लागि कूल ७७ करोड ५३ लाख ३ हजार बजेट विनियोजन गरेकोमा १६ करोड ११ लाख ३० हजार ७७ रुपैया खर्च भएको नगरपालिकाका उपमेयर पद्मा गुरुङले चालु बर्षको आर्थिक प्रगतिसहित त्यस्तो जानकारी दिन्ु भएको हो । उहाँले कूल ७७ करोड ५३ लाख ३ हजार बजेट स्विकृत गरेकोमा ६१ करोड ३५ लाख १६ हजार ५ सय ८१ रुपैया मौज्दात रहेको जानकारी दिदै गत साउनदेखि पुस मसान्तसम्म २०.८ प्रतिशत बजेट खर्च गरेको उल्लेख गर्नु भयो । उहाँका अनुसार प्रतिवेदनमा उल्लेख भएअुनसार चालु तर्फ १३ करोड १९ लाख ९ हजार र पुँजीगत तर्फ २ करोड ९२ लाख २१ हजारगरी १६ करोड ११ लाख ३० हजार ७७ रुपैया खर्च भएको छ । उहाँले संशोधित भई ८४ करोड २३ हजार आय अनुमान पेश गर्नुभयो ।
सोही नगरपालिकाका मेयर गुमानसिंह अर्यालले नगरसभाको उद्घाटन गर्दै नगरपालिकाले पारदर्शी, इमान्दारीता र प्रथामिकताको आधारमा काम गरेको दावी गर्नुभयो । अहिलेसम्मको सबै निर्णय सर्वसम्मत भएको र आफ्नो टिममा रहेका सबैले इमन्दार पूर्वक काम गरेको जानकारी दिदै उहाँले नगरबासीको काममा कत्ति पनि ढिलासुस्ती नगरी सबैले इमान्दारीका साथ आ–आफ्नो जिम्मेवारी निभाउनु पर्नेमा जोड दिनुभयो ।
उपमेयर गुरुङले प्रस्तुत गर्नुृ भएको प्रतिवेदनमा चालु बर्षको ६ महिनाको अवधिमा आन्तरिक आय तर्फ १ करोड ३६ लाख २१ हजार र स्थानीय राजश्व तर्फ ६७ लाख ४० हजारगरी कुल २ करोड ३ लाख २५ हजार संकलन भएको जानकारी दिनुभयो । उहाँले सभामा सार्वजनिक गर्नु भएको प्रतिवेदनमा यसअघिको नगरसभापछि १४ वटा बैठक सम्पन्न भई अधिकांस बैठकका निर्णय कार्यान्वयन भएको बताउनु भयो । चालु बर्षको योजना तर्फ वडास्तरीय १ सय १५ वटा र नगरस्तरीय ५२ वटा योजना सम्झौंता भई नगरस्तरीय १० वटा र वडास्तरीय २९ वटा योजना सम्पन्न भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा नगरप्रमुखको तोक आदेशबाट पछि निर्णय भएका ४५ वटा योजना मध्ये ४३ वटा योजना सम्पन्न भएका छन् ।’
नगरपालिकाले चालु बर्षमा ४, ५, र ८ नम्बर वडामा लद्यु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएकोमा सीप मूलक तालिको तयारी गरिएको र वडा नम्बर २, ३, ६ र १० मा स्तरोन्नतिको कार्यक्रम अघि बढाईने उपमेयर गुरुङको जानकारी दिनु भयो ।
यसैगरी, प्रतिवेदनमा चालु बर्षमा वडा नम्बर २ र १० लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाईएको उल्लेख गरिएको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा, कृषि र पशुपंक्षीको क्षेत्रमा बिशेष प्रथामिकताका साथ काम गरेको बताएको छ ।
नगरसभाले नगरपालिकालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि, आर्थिक बर्ष २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदन, नगर कार्यपालिकाको बैठकबाट गरिएका निर्णय, संशोधित आय अनुमान र आगामी बर्षका लागि संघीय तथा प्रदेश सरकारबाट माग गर्ने योजना समेत पास गरेको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले बताउनुभयो ।
नगरसभाले चालु बर्षको अवधीमा सम्पन्न गर्न बाँकी रहेका कार्यहरू तत्काल प्रारम्भ गर्ने, सम्झौता हुन बाँकी रहेका योजना तथा कार्यक्रमहरू सम्झौता गर्ने, सम्झौता भएका योजनाहरू समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने, उपभोक्ता समिति तथा ठेक्का पट्टामार्फत भएका योजनाहरूको कार्यान्वयन चरणमै अनुगमन गरी देखिएका कमी कमजोरीहरु समयमै सुधारगरी उपभोक्ता समिति र निर्माण व्यवसायीहरूले इमान्दारिताका साथ आफ्नो कार्य सम्पन्न गर्न अनुरोध निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । केसीका अनुसार नगरसभाका सदस्यहरूले नगरसभामा विभिन्न सुझाब तथा टिप्पणी गरेका थिए ।
नगरपालिकाका मेयर गुमानसिंह अर्यालको अध्यक्षतामा भएको बैठकमा उपमेयर पद्मा गुरुङले प्रगती प्रतिवेदन, प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले स्वागत गर्नुभएको नगरसभाको सञ्चालन कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७९ माघ १४, शनिबार ०५:२५ गते