काठमाडौं– पूर्वपत्रकार एवम् रास्वपाका संस्थापक सभापति रबि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उहाँले माघ १५ गते नागरिकताको प्रमाणपत्र लिनु भएको हो ।
अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि उहाँले पुनः नेपाली नागरिकता प्राप्त गर्नु भएको हो । सर्वोच्चको आदेश अनुसार रबिले पुनः नागरिकता कायम भएको उहाँका सचिवालय प्रमुख दीपक बोहराले बताउनु भयो । उहाँका अनुसार रबिले २०५० सालमा लिनु भएको नागरिकता कायम भएको छ ।
रास्वपाका संस्थापक सभापति रबि लामिछानेको २०५० सालमा लिनु भएको नागरिकता नम्बर नै उल्लेख गरी नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’

रबिलाई नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गर्नु भएपछि नागरिकता प्रदान गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले बताउनु भयो ।
रबिलाई आजै रास्वपाको पार्टी सभापति बनाउने तयारी
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापन सभापति रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी सो दलले गरेको छ ।
रबिले नागरकिता लिनु भएसँगै उहाँलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताउनु भयो । ढकालले भन्नुभयो, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिने छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक आजै दिउँसो ३ बजेका लागि डाकेको थियो । यो समाचार तयार गर्दासम्म बैठक चलिरहेको छ ।
प्रकाशित मिति २०७९ माघ १५, आईतवार १६:४० गते