काठमाडौं– नेपालका बचत तथा ऋण सहकारी संस्था एक पछि अर्को गर्दै डुब्दै गएका छन् । त्यस्तो लाइनमा यहाँको अर्को एक सहकारी संस्था पनि माघ १५ गते थपिएको छ ।
काठमाडौंमा सञ्चालनमा रहेको सन्ध्या बचत तथा ऋण सहकारी(साकोस) ले आफ्ना बचतकर्ताहरूलाई तीन हजार रूपैयाँ पनि फिर्ता गर्न नसक्ने स्थिति उत्पन्न भएपछि त्यसका सञ्चालकहरू ‘फरार’ भएका छन् ।
त्यस साकोसको मुख्य कार्यालय नयाँबानेश्वर रहेको छ । सन्ध्या बचत तथा ऋण सहकारीले पुस २१ गतेबाट बचतकर्तालाई एकपटकमा तीन हजार रूपैयाँसम्म मात्र दिन सकिने भनेको थियो । त्यस्तो सूचना जारी भएपछि दैनिक १५ जनाभन्दा बढी बचतकर्ता आउन थालेपछि व्यवस्थापन गर्न समस्या भएको संस्थाले बताउँदै आएको थियो । त्यो संस्थाको मुख्य कार्यालय आज एकाएक बन्द गरिएको छ ।
उक्त साकोसमा बचत फिर्ता माग्न गएका पीडितहरू सञ्चालक फरार भएको भन्दै सहकारी विभागमा उजुरी गर्न पुगेका छन् ।
त्यस संस्थाको मु्ख्य सञ्चालक मनबहादुर राई रहेका छन् । राईले केही दिनअघिसम्म संस्थाको कुल बचत ५ करोड र कर्जा लगानी ४ करोड ५० लाख रूपैयाँ रहेकाले बचत फिर्ता गर्न सकिने बताएका थिए । तर उनको दाबीविपरीत संस्था अहिले आफैंले तोकेको रकमसमेत दिन असमर्थ भएको छ ।
यतिबेला उनको फोन उठ्दैन । फेकबुक पेजसमेत निष्क्रिय राखेको संस्थाकी एक बचत संकलककर्ताले बताइन् । उनका अनुसार ‘राईले आफ्नो घरसमेत बिक्री गरेको बुझिएको छ ।’
हामीले केही दिनअघि संस्थाका सञ्चालक राईसँग कुरा गर्दा उनले आफू चन्द्रागिरिमा ११ लाख रूपैयाँ ऋण उठाउन आएको र तत्कालै बचतकर्ताहरूको रकम फिर्ता गर्ने बताएका थिए । उनी त्यसयता बचतकर्ताहरूको सम्पर्कमा भने थिएनन् ।
राई संस्थाको मुख्य लगानीकर्ता हुन् । सो संस्थाको हाल अध्यक्ष प्रदीप बराल हुन् भने पूर्वअध्यक्षमा पद्मा लिम्बू हुन् ।
सो संस्थाका बौद्ध नयाँबस्ती निवासी बचतकर्ता रणकिशोर डाँगीले बचत फिर्ता लिन जाँदा रित्तै फर्किनुपरेको बताउनु भयो । उनले भने, ‘मेरो जम्मा ३२ सय रूपैयाँ बचत थियो, त्यही लिन जाँदा पनि पाइनँ ।’
टेकुका राजेश कुमारको त १४ लाख रूपैयाँ बचत छ । उहाँले असोजदेखि रकम माग्न आउँदा पनि एक रूपैयाँ फिर्ता पाउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो छोरा अस्पतालमा रहेकाले म दुई महिनादेखि पैसा लिन मुख्य कार्यालय धाइरहेको छ्ु, जति सक्छ उति रकम देऊभन्दा पनि दिएका थिएनन् अहिले त मान्छे नै गायव भए ।’
त्यस्तै, अर्का बचतकर्ता गृष्मा गिरीले आफ्नो ९६ हजार बचत रहेको र पुस ८ गते बचतको अवधि परिपक्व भएको फिर्ता लिन जाँदा नपाएको बताउनु भयो । गिरीले भन्नुभयो, ‘उहाँहरू सम्पर्कमा नआउने तर ब्याक डेटको चेक काटेर पठाउने गरिरहनुभएको थियो, उहाँहरू बजारबाट बचत संकलनसमेत गरिरहनुभएको थियो, तर हामीले कुर्दा पनि उहाँहरू सम्पर्कमै आउनु भएको छैन ।’
प्रकाशित मिति २०७९ माघ १५, आईतवार १९:०८ गते