काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सभापति रवि लामिछानेले पुनः सो पद पाएपछि ‘अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको तर गर्नुपर्ने धेरै छ’ भन्नु भएको छ । केन्द्रीय समितिको बैठकले सभापति पदमा पुनः बहाल गराएपछि सञ्चारकर्मीहरूले बोल्न आग्रह गर्दा रबिले ‘आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको’ माघ १५ गते बताउनु भएको हो ।
रास्वपाका सभापति पदमा पुनर्वहालीसँगै उहाँले भन्नुभयो, ‘अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन् ।’ गत सर्वोच्च अदालतले उहाँको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिनु भएको थियो । तर, त्यसको तीन दिन वित्न नपाउँदै आज उहाँले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर फेरि नेपाली नागरिकता लिनु भएको छ ।
रवि लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गर्दै पछि सभापतिमा चयन गरेको जानकारी सो दलका महासचिव एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भएको हो । उहाँका अनुसार पार्टीले गृह मन्त्रालयमा जसलाई पनि पठाउन सक्ने छ ।
‘गृह मन्त्रालय स्वतः हाम्रो भागमा पर्छ’ : रास्वपा
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा छाड्न नसकिने निस्कर्ष निकालेको छ । पार्टी बैठकले गृह मन्त्रालय स्वतः आफ्नो भागमा पर्ने भएको हुँदा अन्य दलले दाबी गर्न नमिल्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं सो दलका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरू राख्ने बताउनु भयो ।
‘हामीमा आएको समस्या थियो । हामीले समाधान पनि गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘यो समस्या रास्वपालाई परेको हो अन्य सत्ता घटकमा परेको होइन । बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ ।’
सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो ।
ढकालले थप जानकारी दिनुभयो, ‘सत्तारुढ दलका नेतासँग छलफल गर्ने जिम्मा सभापति रविलाई दिइएको छ ।’ पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै संयम हुन कार्यकर्तालाई उहाँले आग्रह गर्नु भएको छ ।
रास्वपाको बैठकले संगठन विस्तारको कार्यविधिलाई पारित गर्दै संगठन विस्तार कार्यतालिका माघ २१ देखि सुचारू गर्ने निर्णय गरेको छ ।
चितवन– २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि उहाँले उल्लेख गर्नु भयो ।
उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिनु भएको छ ।
यसअघि गृहमन्त्री भएका रास्वपाका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिनु भएको हो । यतिबेला गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले आफैंसँग राख्नु भएको छ ।
‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री देखिनु भएको छ । यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि आफ्नो पार्टीले पाएका मन्त्रालयका असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।
‘मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना भएको छैन । माओवादीले संख्या र शक्तिका हिसाबले पनि कम मन्त्रालय पाएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले बताए ।
यतिबेला संसदमा रास्वपाको १९ सिट छ ।
प्रकाशित मिति २०७९ माघ १५, आईतवार २०:०० गते