तीनपिप्ले (लमजुङ)– लमजुङको राइनास नगरपालिकाले शैक्षिक उन्नयनका लागि घोषणा पत्र जारी गर्ने तयारी गरेको छ । सो सम्बन्धमा विभिन्न विज्ञसँग राय संकलनको कार्य माघ १५ गते गरिएको छ ।
राइनास नगरपालिका– ५ को तीनपिप्ले स्थित शिशुविद्याश्रम माविको सभाहलमा नगरपालिकाको समाजिक विकास समितिको आयोजना तथा शिक्षा शाखाको संयोजनमा सो विशेष भेला गरी सुझाव संकलनको कार्य गरेको हो । नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पुष्पराज खनालको क्रमशः प्रमुख र विशेष आतिथ्यता रहेको भेलामा नगरपालिकाको समाजिक विकास समितिका संयोजक एवम् वडानं ४ का अध्यक्ष बलराम पराजुलीको अध्यक्षता थियो ।
त्यस्तै, नगरपालिकाका १० वटै वडाबाट निम्त्याइनु भएका एक एक जना विज्ञ सदस्य, कार्यकालिकाका सदस्यहरू, विद्यालयहरूको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरू तथा बालबालिकाहरू समेत सहभागी रहनु भएको थियो ।
उक्त भेलामा मेयर खड्गबहादुर गुरुङले हामीले स्वार्थरहित ढंगले काम गरेमा गर्न नसक्ने केही छैन, त्यसैले शिक्षा बिना केही नहुने भएको हुँदा यो क्षेत्रमा नमूनायुक्त काम गरौं भन्ने सोच आनुसार योजनाबद्ध कार्य गर्नका लागि यो प्रयास गरिएको हो भन्नुभयो ।
नगरपालिकाका उपमेयर खनालले नगरपालिकाले गरेको अपेक्षाका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले नगरपालिकामा नयाँ टिम आएपछि गिर्दो शैक्षिकस्तरको चासो र चिन्ताले घच्घच्याएको र राइनास नरपालिकालाई जिल्लाको मात्र नभई प्रदेशकै शैक्षिक हबको रुपमा विकास गर्नका लागि यो प्रयास गर्न लागिएको जानकारी दिनुभयो । त्यस्तै, भेलाका अध्यक्ष पराजुलीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी, शिक्षा शाखाका प्रमुख पूर्ण नेपालीले सहभागीहरूलाई स्वागत गर्दै भेलाको विषय वस्तु सहित त्यसका लागि यसअघि गरिएका प्रयासका बारेमा जानकारी दिनु भएको थियो । उहाँले यसको उठान पुस ५ गतेको प्रअ वैठकबाट राइनास घोषणापत्र जारी गर्ने गरी थालिएको बताउनु भयो । उहाँले कार्यपत्रका विषयहरूमा विद्यालयहरूमा उत्पन्न हुने द्वन्द्व र निवारणमा शिक्षकको भूमिका, विद्यालयहरूको शैक्षिक वातावरण सिर्जनामा शिक्षकको भूमिका र विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर बीच अन्तर सम्बन्धमा शिक्षकको भूमिका रहेको जानकारी दिनुभयो ।
नगरपालिकाका स्रोत व्यक्ति कुमारनाथ न्यौपानेले कार्यक्रमको सञ्चालन गर्दै नगरपालिमाका रहेको शिक्षकहरूका तीन क्रियाशील संघसंगठनलाई एक एक वटा कार्यपत्र तयार गर्नका लागि तीन वटा विषय छनौट गरी कार्यपत्र लेख्नका लागि जिम्मा दिइएको छ । कार्यपत्र लेखनको जिम्मेवारी पाएकाहरूलाई माघ भित्रै कार्यपत्र नगरपालिकामा पेश गर्न भनिएको हो, उहाँहरूबाट फागुन लाग्न सक्ने संकेत आएको छ भन्ने न्यौपानेले जानकारी दिनुभयो ।
उक्त भेलामा प्राप्त सुझाव तथा कार्यपत्रमा उल्लेख भएर आउने विषय सहित नगरपालिकाले देखेका विषयवस्तु आदि समेटेर घोषणापत्र जारी गर्ने र सो अनुसार नगरपालिकाले हालका जनप्रतिनिधिहरूको कार्यकालमा गर्न सक्ने कार्यको योजना निर्माण गरिने छ । त्यस घोषणापत्रले त्यसपछिका वर्षका लागि मार्गनिर्देशन गरिरहने छ नगरपालिका उपमेयर खनालले बताउनु भयो ।
भेलामा मातृका खनाल, विजय गुरुङ, रामजीविलाश पन्त, प्रेमराज चिलुवाल, प्रेम पोखरेल, नवराज पहाडी, राजकुमार पाण्डे सहित विभिन्न विद्यालयको व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरू तथा विद्यार्थीहरू लगायतले आ–आफ्ना तर्क सहितका सुझाव दिनु भएको थियो ।
प्रकाशित मिति २०७९ माघ १६, सोमबार १६:२७ गते