भक्ति आदर्श क्याम्पसको अध्यक्षमा कार्की सर्वसम्मत चयन

भक्ति आदर्श क्याम्पसको अध्यक्षमा कार्की सर्वसम्मत चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १७ गते मङ्गलबार ०८:३५

शिक्षा र व्यवस्थापन संकायको पढाई हुने उक्त क्याम्पसले २०५७ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको हो । क्याम्पसले सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार बगैंचामा आफ्नै भवनमा पठनपाठन गर्र्दै आएको छ ।

आठौँ अधिवेशनबाट सर्वसम्मतिमा समिति चयन

भोटेओडार(लमजुङ)– भक्ति आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिमा नयाँ नेतृत्व आएको छ । सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित क्याम्पसको आठौँ अधिवेशनबाट सर्वसम्मतिबाट डम्बरबहादुर कार्कीको नेतृत्वमा माघ १६ गते नयाँ समिति चयन भएको हो । कार्की उक्त समितिको पूर्वउपाध्यक्ष हुनुहुन्छ ।
अधिवेशनबाट सर्वसम्मत रुपमा समितिको अध्यक्षमा डम्बरबहादुर कार्की चयन हुनुभएको हो । त्यसैगरी, उपाध्यक्ष भीमबहादुर कार्की, कोषाध्यक्ष रामहरि न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा शान्ता सापकोटा, खुशबहादुर गुरुङ, श्रीकृष्णकान्त अधिकारी, ऋषिराम अधिकारी, शंभुलाल श्रेष्ठ, मधु भट्टराई र श्रीराम अधिकारी गरी १० जना चयन हुनुभएको छ ।
सो क्याम्पसको सञ्चालक समिति १९ सदस्यीय रहने गरेको शिक्षाविद एवम् वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले बताउनु भएको छ । उहाँका अनुसार नवनिर्वाचित समितिले तीन जना मनोनित गर्ने र बाँकी पदेन हुने प्रावधान क्याम्पसको विधानमा व्यवस्था छ । कुँवर क्याम्पसको सञ्चालक समितिको संस्थापक सदस्य हुनुका साथै पछिल्ला वर्षमा सल्लाहकार समितिको संयोजक रहँदै आउनुभएको छ ।
२०५६ सालमा स्थापना भएको उक्त क्याम्पस सञ्चालक समितिको कार्यकाल तीन वर्षका रहने गरेको छ । उक्त क्याम्पसका संस्थापक अध्यक्ष दामोदर अधिकारी हुनुहुन्थ्यो । अधिकारी दोस्रो कार्यकाल पुरा नहुँदै स्वर्गे हुनुभएको हुँदा तत्कालीन उपाध्यक्ष रघुनाथ अधिकारी कावा अध्यक्ष हुनुभएको थियो । नवनिर्वाचित कार्की भन्दा अघि क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुनु्हुनेहरूमा क्रमशः लिलाधर सापकोटा, केदार थापा, कीर्तिनाथ सापकोटा हुनुहुन्थ्यो भने निवर्तमान अध्यक्षमा ध्रुवबहादुर कुँवर रहनु भएको थियो । कुँवरले पनि दुई कार्यकाल विताउनु भयो ।
शिक्षा र व्यवस्थापन संकायको पढाई हुने उक्त क्याम्पसले २०५७ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको सो क्याम्पसका प्रमुख हुमबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार क्याम्पसले सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार बगैंचामा आफ्नै भवनमा पठनपाठन गर्र्दै आएको छ ।
उक्त क्याम्पसको संस्थापक प्रमुखमा कृष्णबाबु श्रेष्ठ हुनुहुन्थ्यो भने त्यसपछि शेषकान्त खनाल हुनुभएको थियो ।

प्रकाशित मिति २०७९ माघ १७, मंगलवार ०८:३५ गते
हजुरको प्रतिक्रिया