धनगढी– हिजोआज उत्पत्तीका नाउँमा सिन्को भाँचेर दुईवटा नबनाउने तर तिनै बज्रस्वाँठहरूले मिठोमिठो खान र मनलाग्दी गर्नका लागि बुढेसकालमा पनि बाबुआमाले रगत पसिना चुहाउनु पर्ने स्थिति विकसित हुँदैछ । यस्तै स्वभाव भएका कैलालीका एक व्यक्तिले आमालाई सरकारले दिएको बृद्धभत्ता नदिएकोमा बञ्चरो प्रहार गरी आफ्नी ७१ वर्षकी बृद्ध आमाको माघ १७ गते हत्या गरेका छन् ।
कैलालीको लम्की चुहा नगरपालिका– ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको उहाँकै ४० वर्षीय छोरा श्रीराम थारुले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बञ्चरोको प्रहारबाट गम्भीर घाइइते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । घाइते थरुनीको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमाको हत्या अभियोगमा उहाँका छोरा ४० वर्षीया श्रीराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनु भएको छ । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट आमालाई बञ्चरो प्रहार गरेर श्रीरामले हत्या गरेको खुलेको छ । उहाँले भन्नुभयो, ‘उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेर घाइते बनाएका थिए । श्रीराम यसअघि पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।’
प्रहरीले श्रीरामलाई पक्राउ गरेर अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरी मुद्दाका लागि थप अनुसन्धान अघि बढाएको छ ।
धेरै अशक्त बाबुआमाले सरकारले दिएको रकम आफू खुशी खर्च गर्न पाएका छैनन् ।
प्रकाशित मिति २०७९ माघ १७, मंगलवार १४:५४ गते