सांसद अरूण चौधरी फरारको रहस्य अर्का अभियुक्तले खोले

सांसद अरूण चौधरी फरारको रहस्य अर्का अभियुक्तले खोले

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १८ गते बुधबार १०:४३

सो मुद्दामा अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको हो । सोही काण्डमा अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो ।

९ वर्षसम्म फरार रहेको र पटक–पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन

काठमाडौं– आगजनी मुद्दामा अदालतबाट दोषि ठहर भएका अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद प्रहरीको फरार सूचिमा छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उनले सांसद पद जितेका हुन् । यतिबेला सांसद अरूण चौधरी प्रहरकिो फरार सूचिमा छन् । त्यसको रहस्य माघ १२ गते खुलासा भएको हो ।
सो रहस्य उक्त काण्ठमा मुछिएका अर्का अभियुक्त पक्राउ परेपछि खुलेको छ । सांसद चौधरी २०६५ साल भदौ ३ गतेका दिन ट्याक्टर आगजनीको घट्नामा सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहरिएका हुन् ।
सो मुद्दामा अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको हो । सोही काण्डमा अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो । त्यसपछि अरूण चौधरी फरार छन् । त्यसपछि ९ वर्षसम्म फरार रहेको र पटक–पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन । यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए । ती दुबै चुनाव उनले हारेका थिए । स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधि सभा निर्वाचन लडे र निर्वाचित भए । अहिले उनी प्रहरीको फरार सूचीमा रहेको तथ्य बाहिर आएको हो । चौधरीलाई लामो समयसम्म पक्राउ नगरेपछि प्रहरीको आलोचना समेत हुँदै आएको छ ।
लामो समयसम्म फरार रहेका चौधरीसँगैका एक जना प्रतिवादी वीरबहादुर चौधरी गत १२ गते उनी एक निवेदन लिएर जिल्ला अदालत कैलालीमा पुगे । उनी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार माग सहितको निवेदन लिएर अदालत गएका बताइएको छ । उक्त दफामा कैदबापत रकम तिर्न सकिने उल्लेख छ ।
‘कुनै कसूरमा पहिलो पटक कसूरदार ठहरी एक वर्ष वा एकवर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसुरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्ने समेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठह¥याएमा कैद बापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ,’ उक्त दफामा भनिएको छ ।
उनले कैद सजायबापत र बिगो रकम तिर्नेगरी माग गरेका थिए । अदालतले उनको माग बमोजिम आदेश नदिई उनलाई कारागारमा पठाएको जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेयले बताए । उहाँले भन्नुभयो, ’उनले माग गरेजस्तो सुविधा नपाउने भएकाले आदेश भएन । त्यसपछि उनलाई कारागारमा पठाएको छ, उनले दैनिक ३०० रुपैयाँ तिर्ने गरी माग गरेका थिए ।’
अदालतले वीरबहादुरलाई कारागारमा पठाएपछि एउटै मुद्दामा प्रतिवादी रहेका अरू दुई जना अझै पनि फरार रहेको खुल्यो ।
उनीहरू को हुन् भन्ने बुझ्दा फरार रहेका सांसद अरूण चौधरी पनि फरार रहेको खुलेको अधिकृत पाण्डेयले बताए ।
‘यसमा तीन जना प्रतिवादी थिए । अदालतले उनीहरूलाई दोषी ठहर ग¥यो । तर उनीहरू सुरूदेखि नै फरार नै रहे, अदालतले जारी गरेको मितिमा पनि उनीहरू हाजिर भएनन् । हाजिर नभएपछि यस मुद्दामा फैसला सुनाएको थियो । अहिले वीरबहादुर अदालतमा उपस्थित भएपछि घटना बाहिरिएको हो ।’
शाखा अधिकृत पाण्डेयका अनुसार आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो ।
लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए । त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएको पुष्टि भएको हो ।
आगलागी भएको उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो । जो २०७४ मेयर भएका थिए । उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो ।
उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए । अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका थिए । त्यतिबेला एमालेका महादेव बजगाईंले मेयरमा जितेका थिए । त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि चौधरीले उम्मेदवारी दिए । त्यसमा पनि उनी पराजित भए ।

प्रकाशित मिति २०७९ माघ १८, बुधबार १०:४३ गते
हजुरको प्रतिक्रिया