सिउँडीबार(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको सातौं स्थापना दिवसको तीन दिवसीय कार्यक्रम भव्य रुपमा उदघाटन भएको छ । संविधान सभाका सदस्य एवम् उक्त प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेले उक्त दिवसको उदघाटन माघ १९ गते गर्नु भएको हो ।
यहाँ स्थित समुताँ तमु समाजको भवनमा आयोजना गरिएको उक्त कार्यक्रमको उदघाटन मन्तव्यमा घलेले राजु परियार जस्तो यही माटोमा जन्मे हुर्केको स्रष्टालाई ‘लोकदोहोरी बादशाह’को उपाधिबाट सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले यो सम्मानले राजुको व्यक्तिगत जीवन र लमजुङको गौरव झनै बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अन्य सम्मानित व्यक्तित्वलाई पनि बधाई ज्ञापन गर्नु भएको गर्नु भयो ।
उहाँले ठाडोभाका अहिले विभिन्न जिल्ला जिल्लाको नामले चिनिन थालिएको छ तर यसको जननी लमजुङ हो भन्नुभयो । यसलाई मर्न दिनु हुँदैन नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ भन्ने ठम्याइँका साथ हामी लोकसंस्कृतिका चिन्तकहरूले यो संस्थाको स्थापना गरिएको हो भन्नु भयो । उहाँले ठाडोभाकालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नकै लागि प्रतियोगिता र प्रशिक्षणका कार्यक्रम आयोजना गरिएको हो भन्नु भयो । यी कार्यक्रमको उपलब्धी भनेको अब ठाडोभाका मर्दैन भन्ने स्थिति बनेको छ यस्तो हुनु हामी सबै लमजुङेका लागि गर्वको विषय हो उहाँले भन्नुभयो ।
आर्थिक कठिनाईका बाबजुत पनि यो प्रतिष्ठानले आजको उचाई प्राप्त गर्नुमा अध्यक्ष पहाडीको निरन्तरको खटाइले सम्भव
उहाँले स्थापनाकालदेखि नै यसको नेतृत्व नवराज पहाडीले गर्नु भयो, यो संस्थाले आर्थिक समस्याका बावजुत आजको उचाई पाउनुमा अध्यक्ष पहाडीको विशेष योगदान छ । उहाँले अनेक अपमान सहेर वा नरेन्द्र ढुंगाना जस्ता समाजसेवीको मन पगालेर पुरस्कारको स्थापना गर्नु भएको छ भन्नुभयो । त्यसो त यो संस्थालाई अघि बढाउने कार्यमा हामी सबैको केही न केही योगदान भने पक्कै छ, हामीहरूको यो सहयोगी भावना अझै जागृत होस् र उद्देश्य प्राप्तिमा सहज होस् भन्ने उल्लेख गर्नु भयो । यो संस्थाले स्थापना गरेको अक्षयकोषमा थप बृद्धि गर्दै संस्थालाई आत्म निर्भर बनाउन सकियोस् भन्ने कामना गर्दछु भन्नुभयो ।
वरिष्ठ लोकगायक राजु परियारलाई ठाडोभाका– टीकाकुमारी स्मृति पुरस्कारबाट ‘लोकदोहोरीका बादशाह’ उपाधि सहित सम्मान
लोकसंस्कृति र साहित्यको उत्थान गर्ने यस्ता कार्यमा तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको उहाँले औंल्याउनु भएको थियो ।
सो अवसरमा वरिष्ठ लोकगायक राजु परियारलाई ठाडोभाका– टीकाकुमारी स्मृति पुरस्कारबाट ‘लोकदोहोरीका बादशाह’ उपाधि सहित सम्मान गरियो । उक्त पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ । उक्त पुरस्कार पाउने परियार चौथो र लमजुङको दोस्रो व्यक्ति हुनुहुन्छ । परियारलाई कार्यक्रमका प्रमुख अतिथि घले, संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, सम्मान पत्र र दोसल्ला तथा सल्लाहकार एवम् उक्त पुरस्कारका संस्थापक नरेन्द्रराज ढुंगानाले नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
बाच्नुञ्जेल लोक भाका गाएर र बुढेसकालमा आफ्नै जन्म थलो लमजुङ मै रमेर मर्ने विचार छ : राजु परियार
सम्मान ग्रहण पछि राजु परियारले आफ्नो मन्तव्य राख्दै आज भाग्यमानी महसुस गरेको छु, २०५३ सालमा आजका अध्यक्ष पहाडीकै नेतृत्वमा रहेको द रेयुकाई नेपालको आयोजनामा भएको दोहोरी प्रतियोगितामा आफू जिल्लास्तरमा चिनिन पाएको र आज उहाँले नै नेतृत्व गरेको संस्थाबाट सम्मानित हुँदा थप गर्वको अनुभव भएको छ भन्नुभयो । केही भावुक पनि भएको छु भन्दै उहाँले सम्मानले थप जिम्मेवारीको बोध भएको उल्लेख गर्नु भयो । उहाँले ठाडोभाकाका बारेको अनुभव सुनाउँदै यो भाकामा शीला आलेसँग आफूले गाएको एउटा एल्बल छिटै बजारमा आउने भएको जानकारी दिनु भयो ।
ठाडोभाका गाएपछि अन्य गीत गाउन मनै नलाग्दो रहेछ भन्दै उहाँले पश्चिममा समेत पुगेर देउडा देखि सालैजो लगायतका गीत आउँदा त्यस्तो अनुभव नभएको उहाँको धारणा थियो । बाच्नुञ्जेल लोक भाका गाएर र बुढेसकालमा आफ्नै जन्म थलो लमजुङ मै रमेर मर्ने विचार छ उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा उहाँले ‘दुराडाँडे दाई …. ’ लगायतका गीतको प्रस्तुति, देउकुमारी गुरुङसँग दोहारी र ठाडोभाका तथा विष्णु परियारसँग दोहोरी गाएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
पुरस्कारको स्थायित्वका लागि प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाबाट एक लाख एक हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना
उक्त पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले आफ्नी आमा टीकाकुमारीको स्मृतिमा स्थापना गर्नु भएको हो । सो पुरस्कारको स्थापनाकालमा ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको उहाँले उक्त पुरस्कारको स्थायित्वका लागि यो वर्ष ५१ हजार रुपैयाँ थप गर्नु भई कुल एक लाख एक हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।
सोही व्याजको रकमबाट आउँदो वर्षदेखि रहेक वर्ष उक्त पुरस्कारबाट एक जना लोकसंस्कृति तथा संगीतको क्षेत्रमा योगदान गर्ने राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्ने गरिन्छ । यो वर्षसम्म अध्यक्षकोषको व्याजमा अपुग रकम ढुंगानाले नै थप गर्दै आउनु भएको हो ।
७० वर्ष उमेर पुग्नु भएको ठाडोभाकाका अग्रज गायक/गायिकालाई सम्मान गर्ने प्रतिष्ठानको नीतिगत कार्यक्रम
उक्त अवसरमा ७० वर्ष उमेर पुग्नु भएको ठाडोभाकाका अग्रज गायक/गायिकालाई सम्मान गर्ने प्रतिष्ठानको नीतिगत कार्यक्रम अनुसार ८२ वर्षका अमरध्वज गुरुङ, ८१ वर्षकी हाईकुमारी गुरुङ, ७२ वर्षका क्याप्टेन धनबहादुर गुरुङ र बुद्धिमाया गुरुङ सम्मानित हुनु भएको हो । यसरी सम्मानित हुनेहरूको संख्या यो वर्षसम्म २७ पुगेको छ ।
यसैगरी, सम्मानित हुनुहुने अन्यमा ठाडोभाका लोककला प्रतिष्ठानको संस्थागन विकासमा आर्थिक सहयोग गनुर्् हुने महानुभाव तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनुहुनेमा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, सल्लाहकार नरेन्द्रराज ढुंगाना, उपाध्यक्ष सीतादेवी दुरा, सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, प्रतिष्ठानकै राइनास शाखाका उयाध्यक्ष देवराज गुरुङ हुनुहुन्छ ।
त्यस्तै सम्मानित हुने संस्थाहरूमा समुताँ तमु समाज र संकल्प तुम समाज सहकाले रहेका छन् । ती संस्थाका बाबा र आमा समूहका अध्यक्षहरूलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानले सात वर्ष पुरा गरी आजका दिनबाट आठवर्षमा पाइला टेकेको बताउनु भयो । उहाँले प्रतिष्ठानलाई आजको उचाईमा ल्याउन संरक्षक, सल्लाहकारहरू, कार्यसमितिको सिंगो टिम, प्रतिष्ठानका वरिष्ठ र आजीवन सदस्यका साथै शुभचिन्तकहरूको योगदान रहेको उल्लेख गर्नु भयो । उहाँले ठाडोभाकाको संरक्षणका लागि प्रतियोगिता र त्यसपछि प्रशिक्षणको आवश्यकता अनुभव गरिएको बताउनुभयो । प्रशिक्षणमा भाग नलिएको व्यक्ति सिधै प्रतियोगितामा भाग लिँदा माइक समातेको हात काम्ने, दकसाउने र मनको भावना सहज ढंगबाट व्यक्त गर्न नसकेको अनुभव भयो, त्यसमा निखारता ल्याउन र गायकमा आत्मबल र आत्म विश्वास जागृत गर्न प्रशिक्षणको महत्वपूर्ण भूमिका रहेको अनुभव भएको जानकारी दिनु भयो ।
निकट भविश्यमा कतार, अमेरिका र हङकङका लागि ठाडोभाका प्रस्तुतिको कार्यक्रम प्रस्तुति प्रस्ताव
अध्यक्ष पहाडीले मौलिक लोक संस्कृतिको धरोहरका रुपमा रहेको ठाडोभाकालाई नेपालीहरू रहेका विश्वका सबै देशमा पुर्याउने अभियानमा हामी जुटेका छौं भन्दै यसअघि भारतको असमका विभिन्न जिल्लामा ठाडोभाका प्रदर्शन गरिसकिएको छ । अब निकट भविश्यमा कतार, अमेरिका र हङकङमासमेत प्रस्तुति गर्ने कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिनु भयो ।
तीनै तहका सरकारले कुल बजेटको कम्तिमा एक प्रतिशत रकम छुट्याउन माग
प्रतिष्ठानका अध्यक्ष पहाडीले नेताहरूको दिमागमा आजका दिनमा पनि विकास भनेको केबल भौतिक निर्माण मात्र हो भन्ने भ्रम मेटिन नसकेका कारण आफ्नो र यस्ता संस्था र लोकसंस्कृति, साहित्यका अभियानकर्मीले राज्य अभिभावक भएको अनुभव गर्न नपाएको विगतमा झैं दोहोर्याउनु भयो । उहाँले तीनै तहका सरकारले कुल बजेटको कम्तिमा एक प्रतिशत रकम यो क्षेत्रमा छुट्याउन माग समेत जोडदार रुपमा उठाउनु भएको छ । यस्ता काममा संघसंस्थालाई दिने गरिएको खर्चको पारदर्शी रुपमा मूल्यांकन गरियोस् र कुनै पनि संघसंस्थाले गरेको कामभन्दा यो प्रतियाठानको नतिजा कमजोर देखियो भने त्यसरी पाएको रकममा शतप्रतिशत रकम आफुनो कमाईबाट थप गरेर फिर्ता गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु पहाडीले भन्नुभयो ।
उक्त अवसरमा प्रतिष्ठानले विगत तीन वर्षदेखि छात्रवृत्ती दिदै आएका शिशुविद्याश्रम माविका छात्र रोशन कुमाल (कक्षा– ९) र संस्कृत सदन माविका छात्रा सुजिना भुजेल (कक्षा– ८)लाई छात्रवृत्ती रकम प्रदान गरिएको थियो ।
सो अवसरमा प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी, लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारी, प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा, दुरा सेवा समाज सुन्दरबजार इकाईका अध्यक्ष बसन्ती दुरा, समुताँ तमु समाजका अध्यक्ष पदमप्रसाद गुरुङ, संकल्प तमु समाज सहकालेका आमा अध्यक्ष सन्तकमारी गुरुङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले स्वागत मन्तव्य सहित स्वागत कविता, कार्यकारी सदस्य अमरध्वज गुरुङ र अनिता गुरुङले ठाडोभाकामा स्वागत गर्नु भएको कार्यकमको सञ्चालन महासचिव अकल वरिही गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ माघ १९, बिहीबार २३:०१ गते