सुन्दरबजार नगरपालिकामा स्वास्थ्यको अनुसन्धान केन्द्र बन्ने

सुन्दरबजार नगरपालिकामा स्वास्थ्यको अनुसन्धान केन्द्र बन्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २३ गते सोमबार ०१:२६

सो अनुसन्धान कार्यका लागि पहिचान भएका परियोजनाका लागि संघीय र प्रदेश सरकारसँग बजेटको माग गरी सम्झौता गर्ने र नगरपालिकाले चालु आवमा १० लाख रुपैया छुट्याउने उल्लेख गरिएको छ ।
उक्त अनुसन्धान कार्यालय दुई पक्षको सहमतिमा बर्षौंसम्म पनि चल्न सक्ने बताइएको छ । उक्त कार्यालय नगरपालिकास्तरको भनिए पनि त्यहाँबाट छिमेकी पालिका तथा जिल्लाका लागि पनि कार्यालयको क्षमता अनुसारका अनुसन्धानका कार्य गर्न सक्ने छ ।

सो अनुसन्धानको कार्य सम्झौता भएकै दिन माघ २० गतेबाट शुरु

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका स्वास्थ्यको अनुसन्धान केन्द्र बन्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद रामशाहपथ र लमजुङको सुन्दरबजार नगरपालिकाका बीचमा माघ २० गते सम्झौता भएसँगै त्यस्तो खुलासा भएको हो ।
सो कार्य अघि बढाउनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र सुन्दरबजार नगरपालिकाका बीचमा १७ बुँदे सम्झौता गरिएको छ । स्वास्थ्य इकाई अध्ययन अनुसन्धान कार्यालय सुन्दरबजार स्थापना गर्नको लागि गरिएको सम्झौता पत्रमा स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख तथा सदस्य सचिव प्रदिप ज्ञवाली, आर्थिक प्रशासन शाखा प्रमुख सुबोधकुमार कर्ण, अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमाल र प्रशासन शाखा प्रमुख युवराज खरेलले तथा सुन्दरबजार नगरपालिकाको तर्फबाट मेयर कोइरालाका साथमा उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका साथै स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता पत्रको एक÷एक प्रति दुवै पक्षले लिने दिने कार्य गरी सम्झौता अनुसार काम अघि बढाइने भएको छ ।
सम्झौता पत्रको १७ बुँदा मध्ये मु्ख्य बुँदामा स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई बैज्ञानिक रुपमा अध्ययन तथा अनुसन्धान गरी स्वास्थ्य सुविधा प्रबर्धन गर्नका लागि दुवै पक्ष मिलेर काम गर्ने भनिएको छ । यसैगरी, सम्झौता पत्रमा नेपाल सरकारको राष्ट्यि स्वास्थ्य नीति, २०७६ को अधिनमा रही नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तर्जुमा गरेको स्वास्थ्य अनुसन्धान रणनीति अनुरुप नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा देखा परेका तथा भविष्यमा देखा पर्न सक्ने विभिन्न समस्याको अध्ययन तथा अनुसन्धान गर्ने उल्लेख छ ।
यसैगरी स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धान सम्बन्धी तालिम, प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन र क्षमता विकास जस्ता कार्यक्रमलाई उपयोगी बनाउन पहल गरिने सम्झौता पत्रमा गरिएको छ । नगरपालिका अन्तर्गत स्वास्थ्य प्रणाली, जैविक चिकित्सा, औषधि÷खोपको परीक्षण, जडिबुटी प्रशोधन र परीक्षण, स्वास्थ्य सेवा तथा आहार, व्यवहार र सदाचार सम्बन्धमा अनुसन्धान गर्ने उल्लेख गरिएको छ ।
परिषद्ले बृद्धबृद्धाको अवस्था, स्वास्थ्य अवस्था, सर्प दंश, मधुमेह, उच्च रक्तचाप, महिलाको पाठेघर सम्बन्धी समस्या, सिक्कलसेल, थालेसेमिया, सिओपिडी जस्ता रोगको अध्ययन अनुसन्धान गरी अभिलेखिकरण गर्ने पनि सम्झौतामा उल्लेख छ । त्यस्तै, रोगव्याधिका प्रतिकार, निदान तथा उपचार लगायत अन्य चिकित्सा विधामा अध्ययन अनुसन्धान गर्ने गराउने समेत उल्लेख गरिएको छ ।
अनुसन्धानको संस्कृति विकार र प्रवद्र्धन गर्न अनुसन्धानका गतिविधिहरू सञ्चालन गर्ने समेत उल्लेख भएको सम्झौता पत्रमा सो कार्य सम्झौता भएको मिति माघ २० गतेदेखि नै लागू हुने भनिएको छ ।
सम्झौता पश्चात तत्काल गर्नुपर्ने कार्यहरूको प्राथमिकीकरण निर्धारण गरी कम्तिमा एक परियोजना एक महिना भित्र शुरु गर्ने बताइएको छ । त्यसैगरी, आवश्यकता अनुसार अनुसन्धानका योजनाहरू सञ्चालन हुँदै जाने सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनु भएको छ । उहाँका अनुसार परिषद्को लागि नगरपालिकाले तत्काल इकाई कार्यालय स्थापना गनका लागि नगरपालिकाले दुई कोठा उपलब्ध गराउने र आगामी दिनमा भवन निर्माणको प्रक्रिया अघि बढाउने समेत सम्झौतामा उल्लेख छ ।
सो अनुसन्धान कार्यका लागि पहिचान भएका परियोजनाका लागि संघीय र प्रदेश सरकारसँग बजेटको माग गरी सम्झौता गर्ने र नगरपालिकाले चालु आवमा १० लाख रुपैया छुट्याउने उल्लेख गरिएको छ ।
उक्त अनुसन्धान कार्यालय दुई पक्षको सहमतिमा बर्षौंसम्म पनि चल्न सक्ने बताइएको छ । उक्त कार्यालय नगरपालिकास्तरको भनिए पनि त्यहाँबाट छिमेकी पालिका तथा जिल्लाका लागि पनि कार्यालयको क्षमता अनुसारका अनुसन्धानका कार्य गर्न सक्ने छ ।
सो अनुसन्धान कार्य गर्नका लागि सुन्दरबजारमा इकाई कार्यालय स्थापना गर्न नगरपालिकाका मेयर कोइराला तथा नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारीको विशेष पहलबाट सम्भव भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०७९ माघ २३, सोमबार १३:२६ गते
हजुरको प्रतिक्रिया