काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यतिबेला पाँचवटा मन्त्रालयको जिम्मेवारी छ तर सररकाले कहिले पूर्णता पाउने हो भन्ने अझै टुंगो छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्र रिक्त रहेका थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोक्नु भएसँगै प्रधानमन्त्रीको साथमा पाँच वटा मन्त्रालय रहेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले माघ २२ गते उहाँलाई राजीनामा पत्र बुझाएका थिए ।
रास्वपाबाट शिक्षा मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तथा स्वास्थ्य राज्यमन्त्री तोसिमका कार्कीले समेत राजीनामा दिएसँग ती दुई मन्त्रालय रिक्त भएका हुन् । ती रिक्त मन्त्रालयको कार्यभार राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।
त्यसअघि रास्वपाका सभापति रवि लामिछानेको जिम्मामा रहेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रधानमन्त्रीकै जिम्मामा छ । त्यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा पूर्ति हुन नसकेका वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नु भएको छ ।
सरकार गठनको आज ४४ औं दिन हो तर अझै सरकारले पूर्णता पाउन सकेको छैन । र, त्यो दिन कहिले आउने हो एकिन पनि छैन ।
राष्ट्रपतिको निर्वाचन अघि ती पदपूर्ति भएनन् भने पनि आश्चर्य हुने छैन । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गतेको लागिल तोकिएको छ ।
प्रकाशित मिति २०७९ माघ २४, मंगलवार ०७:२१ गते